काठमाडौँ । नेपाली काँग्रेसभित्र अब हुने १४औँ महाधिवेशनलक्षित शक्ति सङ्घर्ष तीव्र रूपमा बढेको छ । आगामी फागुनमा चारवर्षे कार्यकाल सकिन लाग्दा संस्थापन पक्ष र अर्को पक्षबीच शक्ति आर्जन गर्ने होडबाजीमा शक्ति सङ्घर्षले उचाइ लिएको हो । संस्थापन पक्ष अरू एक वर्ष अवधि थप्न चाहन्छ भने अर्को पक्ष कार्यतालिकासहित महाधिवेशन गराउने सर्तमा मात्रै अवधि थप्नुपर्ने अडानमा छ । महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने पक्षमा चर्को दबाब दिँदै आएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकलाई बहिष्कार गरेको छ ।
अघिल्लो बैठकमा पौडेल पक्षका दुई नेता आएर महाधिवेशनको कार्यतालिका आउनुपर्ने अडान राख्दै बाहिरिए पनि आइतबारको बैठकमा कोही पनि उपस्थित भएनन् । त्यति मात्र होइन, केन्द्रीय कार्यसमितिको बैठक चलिरहँदा वरिष्ठ नेता पौडेल भने उपत्यकाबाहिर छन् । कुल ८४ सदस्यीय कार्यसमितिको बैठकमा बहुमत सदस्य उपस्थित हुनुभएको जानकारी पार्टी सचिवालयले दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले विभिन्न विषयमा छलफल गरी निर्णय पनि सार्वजनिक गरेको छ तर सङ्गठनलाई दूरगामी असर पर्ने खालका निर्णय भने गरिएको छैन ।

बैठकमा उपसभापति विमलेन्द्र निधिले शनिबार राति दुवै पक्षबीच भएको छलफल सहमतिनजिक पुगिएको जानकारी गराएका थिए । सभापति देउवाले उपसभापति निधिलाई सहमतिको वातावरण बनाउने जिम्मेवारी सुम्पेका छन्। यसैगरी उपसभापति विजयकुमार गच्छदार एवं केन्द्रीय सदस्यद्वय बालकृष्ण खाँण र रमेश लेखकले सरकारका गतिविधि, सङ्घीय संसद्को अधिवेशन, उपनिर्वाचनको नतिजा, पार्टीका गतिविधिका बारेमा बैठकलाई जानकारी गराएका थिए । बैठकपछि केन्द्रीय सदस्य खाँणले काँग्रेसमा सहमति जुट्छ र एकढिक्का भएर अगाडि बढ्छ, त्यसका लागि छलफल चलिरहेको जानकारी दिए ।
नेता खाँणले भने, “काँग्रेस जनताको हकहित र संविधानको रक्षा गर्न एकजुट भएर लाग्छ, सरकारले ल्याउन लागेको संवैधानिक परिषद् र अन्य कानुनका विषयमा बैठकमा गम्भीर छलफल भएको छ, बम विस्फोट लगायतका विषयमा बैठकले निर्णय पनि गरेको छ ।” अर्का केन्द्रीय सदस्य बहादुरसिंह लामाले वरिष्ठ नेता पौडेलसहितका नेताहरू बैठकमा अनुपस्थित रहेको जानकारी दिए । पौडेल पक्षबाट सहमति निर्माणका लागि पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा गठित तीन सदस्यीय कार्यदलका सदस्य हृदयराम थानीले महाधिवेशनको कार्यतालिका नआएसम्म बैठकमा नजाने स्पष्ट पारे ।
सहमतिकै वातावरण निर्माणका लागि पौडेल पक्षका काठमाडौँमा उपलब्ध प्रभावशाली नेताहरूको बैठक महामन्त्री डा. शशाङ्क कोइरालाको निवासमा आइतबार साँझ अबेरसम्म बस्यो । केन्द्रीय कार्यसमितिको बैठकमा जानु अगाडि नै सहमति हुनुपर्ने भनाइ नेताहरूको छ । बैठकले मङ्सिर २७ गते राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगरमा बम विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहाल र अन्य दुई जना नागरिकको मृत्यु भएको घटनाको भत्र्सना गरेको छ । यसैगरी पछिल्लो समयमा सडक दुर्घटना बढ्दै गएकाले दुर्घटना नियन्त्रणका लागि गम्भीर पहलकदमी गर्न सरकारलाई अपिल गरेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार अर्को बैठक सोमबार पुनः बस्ने छ । गोरखापत्र दैनिकबाट












