विराटनगर । टेलिकमले सडकभित्र रहेका पोल नहटाएपछि टेलिफोनका पोल हटाउन महानगरपालिका आक्रामक रूपमा लागेको छ । टेलिफानेका पोल नहट्दा सडक नाला निर्माण तथा विस्तारमा अवरोध भएपछि महानगरपालिका आफैँ पोल हटाउने अभियानमा लागेको हो ।विराटनगर महानगरपालिकाका मेयर भीम पराजुुलीले मंगलबार सडक तथा सडक भित्ररहेका टेलिफोनका पोलहरूको अवलोकन गर्दै टेलिकमले सडकमा परेका पोलहरू नहटाए बिहीबारदेखि महानगरपालिकाले स्काभेटर लगाएर सबैपोल हटाउने बताए ।
सडकभित्र पर्ने टेलिफोनका फलामका पोल नहटाउँदा समयमा काम सम्पन्न गर्न समस्या भएको भन्दै पोल र पोलमा तानिएका केबल नेटका तारहरू नहटाए स्काभेटरको प्रयोग गरेर पोल हटाउन महानगरपालिका वाध्य हुुने बताए । पटकपटक आग्रह गर्दा पनि टेलिकमले पोल र केबल नेटले पोलमा तानिएका तारहरू हटाउन बेवास्ता गरेको उनको भनाइ थियो । विराटनगर महानगरापलिकामा सडक विस्तार एवं ढल निर्माणको काममा पोलहरूले अवरोध पुुर्याएपछि कतिपय स्थानमा कामले गति लिन सकेको छैन ।

महानगरको परियोजना सञ्चालन भइरहेका दुुई सयभन्दा बढी पोल सडक विस्तारको क्रममा अहिले सडकभित्र परेका छन । जसका कारण सडक निमार्णमा समस्या भएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले ६ महिनादेखि पटकपटक पत्राचार गरे पनि विराटनगरको जलजला रोड, महावीर रोड, बैंकलाइन, शनिमन्दिर तथा देवकोटा चोकमा रहेको टेलिफोनका पोलहरू नहटाएको महानगरपालिका इन्जिनियर घनश्याम काफ्ले बताए ।
नेपाल टेलिकम क्षेत्रीय कार्यालय विराटनगरका प्रमुुख रामप्रसाद उपाध्यायले केहीदिनमै सडकभित्र पर्ने टेलिफोनका सबै पोल हट्ने बताए । विराटनगरमा अन्डरग्राउन्ड गरेर टेलिफोनका तारहरू व्यवस्थापन गर्ने काम भइरहेकाले पोल हटाउन केही ढिलाई भएको उनको भनाइ थियो । सौर्य दैनिकबाट












