काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद (डीपी) अर्याल प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन्। उम्मेदवारी दर्ताका लागि निर्धारण गरिएको समयमा अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन्।
संघीय संसद् सचिवालयका अनुसार सभामुख पदका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको समयावधिमा अर्यालबाहेक अन्य कुनै पनि उम्मेदवारले मनोनयन दर्ता गरेनन्। सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले सो अवधिमा एकल उम्मेदवारी दर्ता भएको पुष्टि गरेका छन्।
उम्मेदवारी दर्ताका क्रममा अर्याललाई रास्वपा सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले प्रस्ताव गरेका थिए। त्यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल समर्थकका रूपमा रहेका थिए।
२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको बहुमत रहेकाले अर्यालको सभामुख चयन औपचारिकता मात्र रहेको मानिएको छ। उनी आइतबार बस्ने प्रतिनिधिसभा बैठकबाट सभामुखमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरिनेछ।












