२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको राजस्व लक्ष्य पूरा नहुने संकेत, २ खर्ब ८१ अर्ब राजस्व संकलन



अ+ अ-

काठमाडौं । सरकारको राजस्व लक्ष्य पूरा नहुने संकेत देखिएको छ । चालू आर्थिकको चार महिना बित्दा पनि राजस्व संकलन २५ प्रतिशत छ । सरकारले चालू आवमा कुल ११ खर्ब १२ अर्ब ३ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार हालसम्म २ खर्ब ८० अर्ब ८४ करोड ९० लाख रुपैयाँ मात्र संकलन भएको छ । करतर्फ १० खर्ब ९ अर्ब १६ करोड १८ लाखको लक्ष्यमा २६ दशमलव १२ प्रतिशत मात्र उठेको छ ।आइतबारसम्ममा जम्मा २ खर्ब ६३ अर्ब ५७ करोड ३६ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यसंगरी, गैरकरतर्फ पनि कुल बजेट लक्ष्यको १६ दशमलव ७९ प्रतिशत मात्र उठेको छ ।

चालू आवको बजेटले १ खर्ब २ करोड ८७ लाख १४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । जसमध्ये हालसम्ममा १७ अर्ब २७ लाख ५५ हजार रुपैयाँ मात्र राजस्व गैरकरतर्फ उठेको छ ।डिजेल, पेट्रोल, सिमेन्ट क्लिंकरलगायतका वस्तुको पैठारीमा आएको कमीको प्रभाव भन्सार बिन्दुमा पर्दा राजस्व संकलनमा कमी आएको अर्थ मन्त्रालयको दाबी छ । यसकारण गर्दा भन्सार महसुलमा पनि गत वर्षको तुलनामा कमी आएको छ । चालू आवमा सरकारले भन्सार महसुलबाट २ खर्ब १३ अर्ब २० करोड संकलन गर्ने लक्ष्य राखेकामा हालसम्ममा ५१ अर्ब ७७ करोड रुपैयाँ मात्र उठेको छ । यो गत आर्थिक वर्षको पहिलो चौमासिकको तुलनामा ३ अर्बले कमी हो ।

गत वर्षको कात्तिकसम्म ५४ अर्ब २० करोड भन्सार महसुल संकलन भएको थियो । अहिले पनि सोही अवधिसम्ममा ५१ अर्ब ७७ करोड रुपैयाँ मात्र भन्सार महसुल उठेको छ । यद्यपि, राजस्व संकलनको अवस्था भने उत्साहप्रद रहेको अर्थ मन्त्रालयको दाबी छ । यसअवधिमा आयकर तथा आन्तरिक मूल्य अभिवृद्धि करको संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा क्रमशः २५.५ प्रतिशत र २९.४ प्रतिशतले वृद्धि भएको छ । मूल्य अभिवृद्धि कर भने गत वर्षको कात्तिकसम्मको तुलनामा ४ अर्ब रुपैयाँ बढी उठेको छ ।

गत वर्षको साउनदेखि कात्तिकसम्ममा ८० अर्ब ४४ करोड रुपैयाँ उठेकामा यस वर्ष ८४ अर्ब ५९ करोड रुपैयाँ उठेको छ । जसमा आन्तरिकबाट ३५ अर्ब ६३ करोड उठेको छ भने पैठारीबाट ४८ अर्ब ९६ करोड उठेको अर्थ मन्त्रालयले उल्लेख गरेको छ । पैठारीतर्फको मूल्य अभिवृद्धि कर भने गत वर्षको तुलनामा ३ अर्बले कमी भएको छ । अन्तःशुल्कमा भने गत वर्ष र यसपालि समान रूपमा कर उठेको छ । गत वर्ष ४३ अर्ब ८४ करोड उठेको थियो भने यसपालि ४३ अर्ब ७ करोड रुपैयाँ उठेको छ । आयकर भने १० अर्ब बढी उठेको छ ।

स्थायी कर नम्बर लिनेको संख्या बढेसँगै आयकर बढेको हो । आयकरबाट सरकारले चालू आवमा २ खर्ब ८० अर्ब ३५ करोड रुपैयाँ उठाउने लक्ष्य राखेको छ । गत वर्ष आयकरबाट साउनदेखि कात्तिकसम्ममा ३५ अर्ब ९० करोड रुपैयाँ उठेकामा यस वर्ष ४५ अर्ब ६ करोड रुपैयाँ उठेको छ । असारदेखि कात्तिकसम्ममा ३४ दशमलव ८ प्रतिशत स्थायी लेखा नम्बर लिने बढेकाले आयकरबाट राजस्व बढेको हो । अहिले स्थायी कर नम्बर (प्यान) लिनेको संख्या २९ लाख २७ हजार ८ सय २६ छ । साउनदेखि कात्तिकसम्ममा ७ लाख ५५ हजार ६ सय २६ जना थप भएका थिए ।

शिक्षा सेवा शुल्क र अन्य कर भने गत वर्षको तुलनामा घटेको छ । गत वर्षको कात्तिकसम्म ९ अर्ब ३० करोड उठेकामा यस वर्ष ७ अर्ब ७५ करोड मात्र उठेको छ । अर्थ मन्त्रालयका अनुसार यस अवधिमा कुल राजस्वमध्ये सवैभन्दा बढी मूल्य अभिवृद्धि करको हिस्सा छ । यसैगरी भन्सार महसुलको हिस्सा २० प्रतिशत, आयकरको १७ प्रतिशत, अन्तःशुल्कको १७ प्रतिशत, गैरकरको १० प्रतिशत र अन्य करको ३ प्रतिशत हिस्सा छ । राजधानी दैनिकबाट