८ असार २०८३, सोमबार
,
Latest
दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन स्विट्जरल्यान्डमा इरान–अमेरिका वार्ता सुरु, हर्मुज खुला राख्न प्रारम्भिक सहमति पूर्वमन्त्री एवं कांग्रेस नेता खरेलको पार्थिव शरीर सानेपामा ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव गोलाप्रथा संविधानअनुकूल छैन, विषयगत विज्ञताका आधारमा मुद्दा तोकिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली झापामा सर्पदंशबाट वृद्धाको मृत्यु विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई प्रचण्डको चेतावनी– धाक धम्की दिँदै हिँड्नेको हैसियत चुनावमा देखिने छ (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिकारीहरु अझैपनि षड्यन्त्रकै प्रक्रियामा रहेका बताउनुभएको छ ।  शुक्रबार नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल(सम्पर्क केन्द्र) बीच पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रतिक्रान्तिकारी र प्रतिगमनकारीहरु राजनीतिक परिवर्तनहरुलाई उल्ट्याउने षड्यन्त्रमा लागको भन्दै अझै पनि ढुक्क हुने स्थिति नरहेको बताउनुभएको हो । 

राजनीतिक परिवर्तनहरुलाई जोगाउन क्रान्तिका पक्षधर शक्तिहरु एकजुट भएर अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो । कम्युनिष्ट पार्टीहरुबिचमा एकता भएमात्रै प्रतिक्रान्तिलाई रोक्न सकिने उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘अहिले पनि हामी ढुक्क हुने स्थिति छैन । प्रतिक्रान्तिकारी, प्रतिगमनकारी र षड्यन्त्रकारीहरु अहिलेपनि प्रतिक्रिया र षड्यन्त्रकै प्रक्रियामा छन् । त्यसकारण हामी राष्ट्रका, जनताका पक्षधर, क्रान्तिका पक्षधर, सबै शक्तिहरु एकजुट भएर त्यसको प्रतिवाद गर्ने कुरामा कहिँ, कतै हामीले रिल्याक्स गर्नुहुने स्थिति छैन । हामीले पुरै मेहनतका साथ अगाडी जानु छ ।

त्यसको निम्ति कम्युनिष्टहरु बिचको एकता सबभन्दा ठुलो कुरा हो । इमान्दार कम्युनिष्ट क्रान्तिकारीहरु बिचको बलियो एकताले नै प्रतिक्रान्ति विरोधी, क्रान्तिकारी आन्दोलनको नेतृत्वको भुमिका खेल्न सक्दछ । त्यसको नेतृत्व अन्र्तगत सबै देशभक्त, वामपन्थी, प्रगतिशील, सबै जनवादी शक्तिहरुलाई हामीले गोलवन्द गर्न सक्नुपर्दछ र मात्रै प्रतिक्रान्तिको आँधि या हुरीलाई रोक्न सकिन्छ । र क्रान्तिको एउटा नयाँ लहर सृष्टि गर्न सकिन्छ ।’

उहाँले अवसरवादीहरु पार्टी प्रवेशको नाउँमा गाउँमा केही मान्छेहरुको सिला खोज्दै हिडेको टिप्पणी गर्नुभयो । उहाँले आफ्नो पार्टीमा मानिसहरुको प्रवेश हुनुलाई सुनारको सय चोट लोहारको एकै चोट भन्ने उखानको उदाहरण दिदैँ लोहारको एक चोटको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो – ‘हुनत अवसरवादीहरु अहिले गाउँ गाउँमा केही मान्छेको सिला खोज्दै हिड्ने ग¥या छन् । तपाईहरुले देख्नुभयो होला । पार्टी प्रवेशका नाउँमा भन्दै गाउँ गाउँ तिर सिला खोज्दै । तर सुनारको सय चोट लोहारको एकै चोट भन्याजस्तो आज हामीले लोहारको चोट हान्यौँ । यो एकिकरण प्रक्रियाबाट कम्युनिष्ट आन्दोलनलाई एकिकरण गर्ने, कम्युनिष्ट आन्दोलनलाई विघटन र विर्सजन गर्न चाहाने अवसरवादी, विदेशी प्रतिक्रियावादीको अगाडी आत्मसर्मपण गर्ने तत्वहरुलाई एउटा चुनौती हामी यो हलबाट दिन चाहान्छौँ । तिमीहरुको षड्यन्त्र चल्ने छैन । नेपालका जनता, नेपालका क्रान्तिकारी कम्युनिष्टहरु सचेत छन् र सबैखाले चुनौतीको सामना गर्न तयार छन् । यो सन्देश यहाँबाट आज देशभरी र विश्वभरी प्रवाहित भएको छ ।’

अध्यक्ष दाहालले नेकपा (एमाले)ले धाक दिदैँ हिडेको भन्दै आगामी निर्वाचनमा उनीहरुको हालत जनताले देखाउने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो – आगो सँग खेल्ने दुस्साहस नगर्नु उचित हुन्छ भनेको थिएँ । के भयो आगोसँग खेल्दा ? वालुवाटारबाट बालकोट भयो । ६ वटै प्रदेशबाट मुख्यमन्त्री चट भयो । अहिले बडो धाक, धम्की लगाएर त हिडेका छन् । उनीहरु त्यो धाक, धम्की मात्रै हो । आउने निर्वाचनमा देखिने छ । कसको हालत के भयो र कसको हालत के हुने ? त्यो नेपाली जनताले देखाउने छन् ।’

अध्यक्ष दाहालले गठबन्धनका राजनीतिक दल र दलका नेताहरुसँग आफुहरुको कुनैपनि प्रकारको वैरभाव नरहेको बताउनुभयो । माओवादीले गठबन्धनलाई बलियो बनाउन लगातार प्रयास गरिरहेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘कुनै गठबन्धनका नेता र पार्टी सँग हाम्रो कसैसँग कुनै वैरभाव छैन । बरु त्यो गठबन्धनलाई बलियो बनाएर लानुपर्छ भन्ने हाम्रो विश्वास छ । र हाम्रो तर्फबाट त्यसको निम्ति लगातार प्रयास भएको छ । रहिरहने छ । हाम्रो आजको यो एकिकरण कार्यक्रमले गठबन्धनमा रहेका कुनैपनि पार्टी, नेता या संस्थालाई कुनै नकारात्मक असर पर्ने छैन भनेर म विश्वास व्यक्त गर्न चाहान्छु ।’

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बिच पार्टी एकिकरण भएको घोषणा गरिएको हो । नेकपा मसाल (सम्पर्क केन्द्र)को तर्फबाट नेतृत्व लोकेन्द्र लम्सालले गर्नुभएको छ ।