२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सागमा स्पर्धा नै नहुने जोखिममा स्वर्ण दाबेदार निमा



अ+ अ-

काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद (साग) सुरु हुन ५ दिन बाँकी छ । तर, स्वर्ण पदकको प्रबल दाबेदार उसु खेलाडी निमा घर्तीमगरले खेल्न पाउने अझै निश्चित भएको छैन । निमा १३औँ सागका लागि छनोट भएर लामो समयदेखि बन्द प्रशिक्षणमा छिन् । उनी नान् छ्वान अलराउन्डर क्याटागोरीकी प्रतिस्पर्धी हुन् । यस स्पर्धामा अहिलेसम्म निमा र एक बंगलादेशी खेलाडीबाहेक अन्यको नाम नै दर्ता भएको छैन ।

‘दुई खेलाडीले मात्रै प्रतिस्पर्धा गरेर सागमा उसुका कुनै इभेन्ट सम्पन्न हुन सक्दैन । उसु संघका पदाधिकारीहरूले अन्य देशबाट पनि खेलाडी बोलाउने प्रयास भइरहेको जनाएका छन् । त्यसो भयो भने निमाले प्रतिस्पर्धा गर्नेछिन्,’ राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले भने । खेलाडी दर्ताको समयसीमा सकिइसकेपछि अन्य खेलाडीको नाम थप गर्न मिल्छ वा मिल्दैन भन्ने प्रश्नमा भने राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरू खुल्न चाहेनन् ।

१३औँ सागका लागि खेलाडी दर्ताको समयसीमा सकिएको ६ दिन भइसकेको छ । यसअघि भारतले २१ नोभेम्बरमा कराते, आर्चरी र तेक्वान्दो खेलाडीलाई सहभागी गराउन आग्रह गर्दै नेपाल ओलम्पिक कमिटीलाई पत्र पठाएको थियो । जवाफमा ओलम्पिक कमिटीले खेलाडी र खेल दर्ताको अन्तिम समय २० नोेभेम्बरमा सकिएकाले आग्रह स्विकार्न नसकिने जनाएको थियो ।

अब के हुन्छ ? निमाको सहभागिता सुनिश्चित हुनका लागि नेपाल र बंगलादेशबाहेक कम्तीमा अर्को एक देशले आफ्ना खेलाडी पठाउनुपर्ने हुन्छ । त्यसका लागि उसु संघले श्रीलंका र पाकिस्तानसँग खेलाडी पठाउन आग्रह गरेको छ । ‘आयोजकबाहेक कम्तीमा दुई राष्ट्रले आफ्ना खेलाडी पठाएमा महिला क्याटागोरीमा आयोजकले आफ्ना दुई खेलाडी सहभागी गराएर इभेन्ट सञ्चालन गर्न सक्छ ।

त्यसैले बंगलादेशले खेलाडी दर्ता गरिसकेको अवस्थामा अब अर्को एउटा देशले पनि खेलाडी पठायो भने हामीले निमासँगै नेपालका अर्का एक खेलाडीलाई सहभागी गराएर यो क्याटागोरी सञ्चालन गर्न सक्छौँ,’ एनओसीका एक पदाधिकारीले भने, ‘तर खेलाडी दर्ताको समयसीमा सकिइसकेको छ र अहिलेसम्म पनि बंगलादेशबाहेक अन्य देशका खेलाडी आउने निश्चित छैन । अन्य कुनै देशले सहभागी हुने इच्छा देखाए भने आयोजक भएको नाताले हामीले थप जोडबल गर्न सक्छौँ कि भन्ने मात्रै हो ।’

नेपाल उसु संघका अध्यक्ष वीरबहादुर तामाङ भने निमाको सहभागिता सुनिश्चित रहेको दाबी गर्छन् । ‘अन्य देशले पठाएको खेलाडीको लिस्ट मैले हेर्न पाएको छैन । तर, ढुक्क हुनुभए हुन्छ, निमाले प्रतिस्पर्धा गर्न पाउनेछिन्,’ उनले भने ।

१२औँ सागमा जितेकी थिइन् स्वर्ण:१२औँ सागमा व्यक्तिगत स्पर्धामा उसुकी निमा घर्तीमगर र जुडोकी फुपुल्हामु खत्रीले नेपाललाई स्वर्ण दिलाएका थिए । त्यतिवेला, नेपालले जितेका तीन स्वर्णमध्ये अर्को पुरुष फुटबलमा थियो । फुपुल्हामु १३औँ सागमा सहभागी छैनन् भने पुरुष फुटबल टोलीमा धेरै खेलाडी परिवर्तन भइसकेका छन् । नयाँ पत्रिका दैनिकबाट