काठमाडौं । काठमाडौं महानगरपालिका ‘सहयोगापेक्षी सडकमानवमुक्त महानगर’ घोषणा हुने भएको छ । महानगरपालिकाले २५औं महानगर दिवसको अवसर पारेर सो घोषणा गर्न लागिएको महानगरले जनाएको छ । काठमाडौं महानगरपालिका, मानवसेवा आश्रम, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काठमाडौंको संयुक्त प्रयासबाट सहयोगापेक्षी सडकमानवमुक्त महानगर घोषणा गर्न लागिएको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।
महानगरपालिकाको ३ मंसिरमा बसेको ३८औं नगर कार्यपालिकाको बैठकबाट यससम्बन्धी निर्णय गरेको जनाएको छ । महानगर र आश्रमको सहकार्यमा विगत दुई वर्षदेखि सडकमा रहेका बेवारिसे, मनोरोगी तथा असहायको उद्धार गरी पालनपोषण, औषधोपचार तथा परिवारमा पुनर्मिलन गराउने कार्य हुँदै आएको छ । महानगरले आश्रित व्यक्ति रहेका बूढानीलकण्ठ र सामखुसीका भवनको भाडा व्यवस्थापन गर्दै आएको छ । त्यसैगरी, आश्रमलाई गाडी खरिदका लागि पनि महानगरपालिकाले १६ लाख सहयोग गरेको छ ।

त्यस्तै, महानगरले भवन निर्माणका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । ‘काठमाडौं महानगरपालिका मानवीय सहयोगका काममा पनि उत्तिकै दत्तचित्त भएर लागिरहेको छ भन्ने सन्देश दिनका लागि पनि हामीले यो प्रयासलाई अघि बढाएका हौं,’ मेयर शाक्यले भने । उनले सडकलाई व्यवस्थित गर्न स्थानीय सरकारको सबैभन्दा बढी दायित्व रहेकाले आधिकारिक रूपमा घोषणा गरेरै माग्ने पेसा अपनाएकाहरूको उचित व्यवस्थापनका लागि सहकार्य गरेको बताए ।
भोक मेट्नकै लागि सडकमा बस्नुपर्ने बाध्यता भएकालाई खुवाउने र औषधोपचारसहित घर हुनेलाई पारिवारिक मेलमिलापको वातावरण तयार पार्न यस्तो घोषणा गर्न लागिएको महानगरले जनाएको छ । महानगरले आर्थिक वर्ष २०७५/७६ को बजेटमा समेत ‘कोही भोकै पर्दैन, कोही भोकै मर्दैन’ भन्ने विषयलाई समावेश गरेको छ । पछिल्लो समय पेसेवर मगन्तेको संख्या धेरै रहेको भन्दै महानगरले उनीहरूको व्यवस्थापन चुनौतीपूर्ण रहेको जनाएको छ ।
उद्धारपछि पनि केही भागेर सडक या मन्दिरमा फर्किने र आयआर्जनको माध्यम त्यसैलाई बनाउने गरेको भन्दै मेयर शाक्यले अभियानपछि उनीहरूको समस्या पहिचान गरी आवश्यक निर्णय लिएर पुनः व्यवस्थापन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । २०७१ सालदेखि चितवनको सडकमा सहयोगापेक्षी सडकमानवमुक्त बनाउने अभियान सुरु गरेको मानवसेवा आश्रमले हालसम्म ५ सयभन्दा बढीको उद्धार गरेको जनाएको छ ।
उनीहरूमध्ये ३ सयलाई पुनर्मिलन गराइएको छ भने अहिले १ सय जना आश्रममा आश्रित रहेका छन् । मानवसेवा आश्रमको सहयोगमा यसअघि भरतपुर महानगरपालिका, गोरखा नगरपालिका, मकवानपुर जिल्ला, पाल्पाको सिद्धबाबा मन्दिर क्षेत्र, बुटवलको सिद्धबाबाधाम क्षेत्र र काठमाडौंको पशुपति मन्दिर क्षेत्रलगायतलाई सहयोगापेक्षी सडकमानवमुक्त क्षेत्र घोषणा गरिएको छ ।
स्थानीय तह र सरोकारवाला संघसंस्थाको अगुवाइमा ती क्षेत्रलाई सहयोगापेक्षी सडकमानवमुक्त बनाइएको हो । १३ भदौ २०६९ मा मकवानपुरबाट मानवसेवा आश्रमले काम थालेको हो । सो संस्थाले हालसम्म सात प्रदेशका १४ जिल्लाका १६ केन्द्रमार्फत सेवा दिँदै आएको छ । ती केन्द्रमा ८ सय जनाले संरक्षकत्व पाइरहेका छन् । राजधानी दैनिकबाट












