पोखरा । १३औं साग खेलकुद प्रतियोगिता हुन ६ दिन बाँकी रहेको छ। अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै गर्दा पोखरा रंगशालामा अन्तर्राष्ट्रिय स्तरको फुटबल स्टेडियम निर्माणको युद्धस्तरमा चलिरहेको छ। प्यारापिटका लागि आवश्यक फ्रान्सबाट आइतबार आएपछि बुधबारदेखि सुरु भएको जडान कार्य पूर्वतिरको भीआईपीसहितको ६ हजार सिट क्षमताको प्यारापिट तयार भएर सिट राख्ने काम पनि अन्तिम अवस्थामा पुगेको छ।
पश्चिमतर्फको प्यारापिटको काम आइतबारदेखि सुरु हुने निर्माण कम्पनीका प्रोजेक्ट मेनेजर इन्जिनियर दीपक बरालले बताए। पश्चिमतर्फ तीन हजार बढी सिट क्षमताको प्यारापिट बन्ने पनि बरालले जानकारी दिए। अबको ६ दिनभित्र सम्पूर्ण काम सकेर प्रतियोगिता संरचनाका लागि फुटबल मैदानसहित स्टेडियम तयार हुने उनले जानकारी दिए। पोखरा फुटबल मैदानमा मंसिर १७ देखि २४ गतेसम्म साग फुटबल प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगिता हुँदै छ।

यसैगरी पोखरा रंगशालामा हुने महिला क्रिकेटका लागि मैदान तयार भइसके पनि अस्थायी प्यारापिट, शौचालय लगायतका पूर्वाधार तयार भएको छैन। प्रतियोगिताका लागि पोखरा रंगशालामा रहेको क्रिकेट मैदानमा फिल्ड, पिच तयार भइसकेको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए। मैदानभित्रका सम्पूर्ण काम पूरा भए पनि मैदानबाहिरको प्राक्टिस विकेट, प्राक्टिस मैदान तयार हुँदै रहेको पनि अध्यक्ष सिग्देलले बताए।
प्लेयर बक्स, स्टेज, अम्पायर बक्स, म्याच रेफ्री स्कोरर बक्स, डाइनिङ सेट, प्यारापिट, शौचालयलगायतका काम भने बाँकी रहेको छ। खेलमैदान बाहिरको काम सुरु भएको एक हप्तामा सम्पूर्ण तयारी पूरा हुने उनले जानकारी दिए। महिला क्रिकेट प्रतियोगिता मंसिर १६ गते देखि २३ गतेसम्म हुँदै छ। महिला तथा पुरुष ह्यान्डबलका लागि भने खेलस्थल तयार भइसकेको छ। साग खेलकुदअन्तर्गत पोखरामा महिला फुटबल, महिला क्रिकेट, ट्रायथोलन, आर्चरी, बिच भलिबल, ह्यान्डबल, ब्याटमिन्टन र भारत्तोलनलगायत आठ खेल हुनेछ।
प्याराग्लाइडिङ प्रतियोगिता भने प्रतियोगितामा आवश्यक सहभागी देशको संख्या नपुग्दा नहुने भएको छ। पोखरामा हुने साग खेलकुदमा आठ खेल खेल्न सात देशका आठ सय २४ जना खेलाडी सहभागी हुँदैछन्। ब्याडमिन्टन खेलअन्तर्गत पोखरामा महिला र पुरुष दुबै खेल पोखरा रंगशालमा मंसिर १५ देखि २० गतेसम्म हुँदै छ।
ह्यान्डबल १८ गते देखि २३ गतेसम्म महिला र पुरुष दुवै खेल हुनेछन्। ट्रायथलन मंसिर १५ गते १७ गतेसम्म पोखराको फेवाताल किनार वसुन्धरा पार्कमा हुने प्रचारप्रसार संयोजक केशल पाठकले जानकारी दिए। बिच भलिबल पोखराको फेवाताल किनारमा १८ गते देखि २१ गतेसम्म हुनेछ। भारत्तोलन भने पोखराको माटेपानीस्थित केसी क्याटरिङमा हुने कार्यक्रम छ। आर्चरी पोखराको रंगशाला भित्रै हुनेछ। अन्नपुर्णपोष्ट दैनिकबाट












