२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिवि सेवा आयोगको लापरबाही: कम्प्युटर विज्ञानको परीक्षामा कम्युनिकेसन इन्जिनियरिङका प्रश्न आएपछि…



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कम्प्युटर विज्ञानको परीक्षामा गम्भीर लापरबाही गरेको पाइएको छ । आयोगले सोमबार लिएको कम्प्युटर विज्ञानको परीक्षामा कम्युनिकेसन इन्जिनियरिङसँग सम्बन्धित प्रश्न सोधिएको पाइएको हो । आयोगले लिएको परीक्षामा अधिकांश प्रश्न कम्युनिकेसन इन्जिनियरिङ विषयसँग सम्बन्धित सोधिएको थियो ।

कम्प्युटर विज्ञानका मुख्य विषयबाट सोध्नुपर्नेमा आयोगले कम्युनिकेसन इन्जिनियरिङका मुख्य विषयबाट सोधिएपछि विद्यार्थीहरूले परीक्षा बहिष्कार गरेका थिए । केही प्रश्न इन्टरनेटमा पहिले नै प्रकाशित भएका समेत हुबहु राखिएको पाइएको छ । आयोगले सो परीक्षा कम्प्युटर विज्ञानको उपप्राध्यापक पदको पदपूर्तिका लागि लिएको हो । आयोगले २०७५/७६ मा दरखास्त आह्वान गरेको थियो ।

तर, कम्प्युटर विज्ञानसँग सम्बन्धित प्रश्न नसोधिएको देखिएपछि प्रशिक्षार्थीहरू दोस्रो पत्रको परीक्षा बहिष्कार गरेका हुन् । उनीहरूले विज्ञापन रद्द गरी पुनःपरीक्षा गर्न माग गरेका छन् । विरोधस्वरूप विद्यार्थीले कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभागमा तालाबन्दीसमेत गरेका छन् । यस्तै, उनीहरूले सेवा आयोगका अध्यक्ष, कम्प्युटर विज्ञान विषयका अध्यक्ष र विज्ञान संकायको डिन कार्यालयलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

पत्रमा प्रश्नपत्रको छानबिन गरी पुनः परीक्षा गरिनुपर्ने माग उनीहरूको छ । माग पूरा नभए संघर्षका कार्यक्रम सार्वजनिक गरिने चेतावनीसमेत उनीहरूले दिएको छ । आयोगका अध्यक्ष प्राडा. लालु पौडेलले प्रश्नपत्रमा त्रुटि देखिएको सम्बन्धमा निवेदन प्राप्त भएको बताए । उनले भने, ‘निवेदन आएको छ । हामी पनि विज्ञहरूको भर पर्ने हो । त्रुटि भएको छ या छैन भनेर विज्ञबाटै जेकजाँच गराउँछौं ।’ राजधानी दैनिकबाट