११ असार २०८३, बिहीबार
,
Latest
सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रधानमन्त्रीका गतिविधिलाई पारदर्शी ढङ्गले सूचना प्रवाह गर्ने’



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकार र प्रधानमन्त्रीका गतिविधिलाई पारदर्शी ढङ्गले सूचना प्रवाह गर्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रधानमन्त्रीका कामलाई पारदर्शी ढङ्गले जनतासँग पुर्याउन आफूले सक्दो प्रयास गर्ने बताउनुभयो ।

उहाँले आजैदेखि सल्लाहकारको कार्य थालनी गर्नु भएको छ । उहाँले सूचना प्रवाह गर्न मिल्ने सूचनालाई लुकाएर नराख्ने भन्दै जुनसुकै बेला पनि सञ्चारकर्मीसँग समन्वय गर्ने बताउनुभयो । “प्रधानमन्त्रीसँग सम्बन्धित कुरा बाहिर ल्याउन कुनै कमि हुन दिइने छैन”, उहाँले भन्नुभयो, “प्रधानमन्त्री र सरकारका कामलाई जनतासमक्ष पुउन सञ्चारकर्मीमार्फत अधिकतम कोशिस गर्नेछु ।” सल्लाहकार थापाले प्रधानमन्त्रीसँग सम्बन्धित कुराको प्रेस विज्ञप्तिमार्फत सञ्चारमाध्यमलाई जानकारी गराउनेसमेत बताउनुभयो । पारदर्शीतालाई जोड दिने भन्दै उहाँले प्रधानमन्त्री र सरकारका जिम्मेदारीका कतिपय संवेदनशील कुरालाई भने सञ्चारकर्मीसँगको छलफलबाट समाधान गर्ने समेत बताउनुभयो । उहाँले अहिले सञ्चारमाध्यममा अतिरन्जित र गलत समाचार आउने समस्या रहेको भन्दै त्यस्ता समाचारलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले राम्रो काम गर्दा स्यावासी र गलत काम गर्दा खबरदारी समेत गर्न उहाँले आग्रह गर्नुभयो । सल्लाहकार थापाले सरकारका राम्रो कामको सम्प्रेषण नभएको भन्दै मन्त्रालयगत रुपमा एकीकृत ढङ्गले सबै मन्त्रालयका गतिविधिलाई सम्प्रेषणसमेत गरिने जानकारी गराउनुभयो ।

भेटघाट कार्यक्रममा सञ्चारकर्मीले प्रधानमन्त्रीका गतिविधिलाई सहजरुपमा उपलब्ध गराउन आग्रह गरेका थिए । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट थापालाई प्रधानमन्त्री ओलीको प्रेस सल्लाहाकारमा नियुक्त हुनुभएको हो ।

उहाँलाई सरकारले राज्यमन्त्रीसरहको सुविधा प्रदान गरेको छ । यसअघि उहाँ तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पनि प्रेस सल्लाहकारको रूपमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुखसमेत रहनुभएको थापा नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य, नवयुग, बुधबार साप्ताहिकको पूर्वसम्पादक समेत हुनुहुन्छ ।