२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तमोर नदी जलयात्राका लागि आकर्षक गन्तव्य, पर्यटकहरुको घुँईचो



अ+ अ-

ताप्लेजुङ । ताप्लेजुङस्थित तमोर नदी जलयात्राका लागि आकर्षक गन्तव्य बनेका छ । अहिले र्याफ्टिङको सिजन सुरु भएसँगै तमोरमा जलयात्राका लागि पर्यटकको आगमन बढ्दै गएको छ । नेपालमा रहेका र्याफ्टिङ कम्पनीको सम्पर्कमा विदेशी पर्यटक आएर तमोरमा जलयात्रा गर्ने गरेका छन् । कात्तिकयता तमोर नदीमा जलयात्रा गर्न विभिन्न देशका पर्यटक आउन थालेका छन् । इलाका प्रहरी कार्यालय चाँगे दोभानका अनुसार गत कात्तिक ५ गते पाँच जना विदेशीसहित पहिलो टोली आएर तमोरमा र्याफ्टिङ गरेका थिए ।

त्यसपछि क्रमशः कात्तिक ११ गते चार जना, कात्तिक १६ गते आठ जना विदेशीसहित पर्यटकको टोलीले जलयात्रा गरेका इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विनोद निरौलाले जानकारी दिए । प्रहरी निरीक्षक निरौलाका अनुसार चौथो पटक कात्तिक २७ गते ३० जना विदेशीसहितको टोलीले तमोरमा जलयात्रा गरेको छ । काठमाडौँको र्याफ्टिङ स्टार कम्पनीमार्फत छ जना जापानका पर्यटकसहितको टोलीले र्याफ्टिङ गरेका छन् । सोही दिन अल्टिमेट रिभर कम्पनीमार्फत स्पेन, फ्रान्स र इटालीका समेत २४ जना विदेशीसहितको टोलीले जलयात्रा गरे ।

जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–५, चाँगे र मेरिङ्देन गाउँपालिका–३, खाम्लुङको सङ्गमस्थल दोभानबाट जलयात्रा सुरु गरी पर्यटक धनकुटाको मूलघाट हुँदै सुनसरी धरानको चतारा निस्कने गरेका छन् । तमोर मैवा दोभानबाट सुरु हुने जलयात्राका लागि ताप्लेजुङ क्षेत्र अर्थात फूलबारी पुछारसम्म बढी छाल भएकाले केही असजिलो भए पनि बाँकी चतारासम्मको जलयात्रा सहज रहेको र्याफ्टिङ स्टार कम्पनीका गाइड सुरेशकुमार चौधरीले बताए ।

उनका अनुसार जलयात्राका लागि सुरुको एक दिन केही अप्ठ्यारो भए पनि स्वच्छ र सफा पानी साथै रमणीय दृश्यका कारण पछिल्लो समय विदेशी पर्यटक र्याफ्टिङ गर्न तमोरलाई रुचाउन थालेका छन् । विदेशी पर्यटकको रुचिसँगै प्रतिव्यक्ति एक हजार दुई सय डलर (नेपाली करिब एक लाख ९८ हजार रुपियाँ) असुल गरी काठमाडौँबाट ताप्लेजुङसम्म ल्याएर पर्यटकलाई तमोर नदीमा जलयात्रा गराउने गरेको चौधरीले बताए । उनका अनुसार दोभानबाट सुरु भएको जलयात्रा काबेली दोभान, माझीटार, मूलघाट हुँदै पाँच दिनमा चतारा पुगेर टुङ्गिने छ ।

विदेशी पर्यटक तमोरमा जलयात्रा गर्न ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभाको सङ्गमस्थल तिनजुरे–मिल्के–जलजले (टीएमजे) हुँदै आउने गरेका छन् । गुराँसको राजधानीका नामले परिचित पर्यटकीय क्षेत्र टीएमजे हुँदै पदयात्राका क्रममा उच्च हिमशृङ्खला, हिमाली घाँसे मैदान लगायतका मनोरम पर्यटकीय स्थलको दृश्यावलोकनसमेत गर्न पाइने हुँदा तमोर नदी आकर्षक जलयात्राको गन्तव्य बन्दै गएको र्याफ्टिङ व्यवसायीहरू बताउँछन् । तमोर नदीमा अझै बढीभन्दा बढी विदेशी पर्यटक बढाउन आवश्यक प्रचारप्रसार नपुगिरहेको र्याफ्टिङ स्टारका गाइड चौधरीले बताए ।

उनका अनुसार विदेशी पर्यटकको उपस्थिति बढाउन र्याफ्टिङ व्यवसायी तथा कम्पनीहरूको पहलले मात्र पर्याप्त हुनेछैन । तमोर नदीलाई जलयात्राको गन्तव्यका रूपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्न सङ्घ र प्रदेश सरकार तथा स्थानीय तहसमेत लाग्नुपर्ने व्यवसायीको सुझाव छ । व्यवसायीका अनुसार तमोर नदीलाई देशकै आकर्षक जलयात्राको गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ ।

ताप्लेजुङ १ ‘ख’ का प्रदेशसभा सदस्य टङ्क आङ्बुहाङले तमोर नदीलाई जलयात्राको गन्तव्य बनाउन र हालको तमोर जलयात्रा प्रारम्भ हुने स्थल दोभानलाई समेत पर्यटकीय गन्तव्य बनाउन योजनाको सोचमा रहेको बताए । उनले हालको पर्यटकीय क्षेत्र टीएमजे र गुफा पोखरी क्षेत्र हुँदै चाँगेको गोर्जासम्म पर्यटकीय पदमार्ग बनाउने र गोर्जालाई ‘प्याराग्लाइडिङ स्पट’का रूपमा विकास गर्ने योजना रहेको जानकारी दिए।

गोर्जाबाट हुने प्याराग्लाइङि दोभानमा अवरण गराउने र त्यसपछि पर्यटकहरूले तमोरमा र्याफ्टिङ गर्नेगरी योजना बनाउन लागेको उनको भनाइ छ । उनले यही परिकल्पना अनुसार स्थानीय सरकारको हैसियतमा रहेको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष विश्वनाथ सिटौलालाई योजना बनाउन सल्लाह दिएको बताए ।

गुराँसको राजधानी टीएमजे हुँदै पर्यटकीय पदमार्ग, प्याराग्लाइडिङ स्पट र तमोर जलयात्राको गन्तव्यका रूपमा विकास गर्न सके यसक्षेत्र पर्यटकको पहिलो रोजाइको केन्द्र बन्नसक्ने प्रदेशसभा सदस्य आङ्बुहाङको बुझाइ छ । आयोजनाले तमोर जलयात्राको सम्भावनालाई झनै बलियो बनाएको उनी बताउछन् । गोरखापत्र दैनिकबाट