काठमाडौं । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय भ्रमणमा आउँदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको राजकीय भ्रमणमा आउन लागेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति हमिद कात्तिक २६ गतेदेखि २९ गतेसम्म नेपालको औपचारिक भ्रमणमा रहनेछन् । बङ्गलादेशका राष्ट्रपतिको औपचारिक भ्रमणको सबै तयारी पूरा भएको मन्त्रालयले जनाएको छ ।
उनको स्वागतमा त्रिभुवन विमानस्थलदेखि राजधानीका विभिन्न सडकलाई झकिझकाउ बनाई सिँगारिएको छ । दुवै देशका राष्ट्रपतिको तस्बिर सडकका पोलहरूमा लाम लगाएर राखिएको छ । ठाउँठाउँमा विभिन्न खालका स्वागत झल्कने सामग्री पनि राखिएको छ । उनले भ्रमण गर्ने राजधानीका पर्यटकीय तथा ऐतिहासिक स्थलमा समेत दुई देशको सम्बन्ध झल्काउने गरी सिँगारिएको छ । राजकीय सम्मान दिने गरी भ्रमणको विशेष तयारी रहेको परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार सुदन ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको राजकीय सम्मानका साथ स्वागत गरिनेछ । विशिष्ट भेटवार्ता, स्वागत समारोह, रात्रिभोज लगायतलाई सम्मानित ढङ्गबाट अघि बढाउने गरी शिष्टाचार महाशाखाले तयारी गरिरहेको छ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र बङ्गलादेशका राष्ट्रपति हमिदबीच उच्चस्तरीय भेटवार्ता हुनेछ । सो क्रममा राष्ट्रपति भण्डारीले समकक्षीको सम्मानमा रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ ।
मन्त्रालयका अनुसार उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बङ्गलादेशका राष्ट्रपति हमिदसँग शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ । त्यस्तै उच्च राजनीतिक नेतृत्वले समेत उनीसँग भेटवार्ता गर्नेछन् । भ्रमणमा रहँदा उनले राजधानी तथा भक्तपुरस्थित विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक स्थल, प्रागऐतिहासिक तथा सांस्कृतिक क्षेत्रको भ्रमण गर्नेछन् । त्यस्तै राजधानीबाहिरको पर्यटकीय नगरी पोखरालगायत पर्यटकीय क्षेत्रको समेत उनले अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।गोरखापत्र दैनिकबाट












