२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बायोग्यास बहुउपयोगी बन्दै



अ+ अ-

काठमाडौँ । नगरको फोहोर गाईबस्तुको मललगायतका वस्तुबाट ग्यास उत्पादन गरी सिलिन्डर र पाइपबाटै बजार टोलमा बायोग्यास र कृषकलाई प्राङ्गारिक मल पुराउने लक्ष्यसाथ देशभर निर्माण थालिएका एक दर्जन ठूला बायोग्यास प्लान्ट निर्माणको अन्तिम चरणमा पुगेका छन् । कतिपयले त उत्पादनसमेत थालिसकेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र विश्व बैङ्कको आर्थिक सहायतामा देशभर साढे चार सयभन्दा धेरै आयोजना बनिरहेको केन्द्रले छ ।

परियोजनाअन्तर्गत अहिलेसम्म ठूला र नगर फोहोरका १६५ र संस्थागत तथा सामुदायिक तीन सय आयोजना निर्माण गरिएको केन्द्रले जनाएको छ । यीमध्ये व्यावसायिक प्रयोजनका एक हजार पाँच सय घनमिटर क्षमताभन्दा ठूला १२ आयोजना आकर्षक आयोजना छन् । चार प्लान्टबाट ग्यास, मल तथा विद्युत्समेत उत्पादन सुरु भएको छ ।

केन्द्रको ४० प्रतिशत अनुदान सहायतामा बनेका चार हजार घनमिटर क्षमताको गण्डकी ऊर्जा प्रालि (पोखरा), तीन हजार सात सय घनमिटर क्षमताको एनभी पावर इनर्जी, यस्तै १५ सय घनमिटरको दोस्रो प्लान्ट र तीन हजार पाँच सय घनमिटर क्षमताको खिलुङ कालिका एग्रो फार्म (स्याङ्जा)ले उत्पादनसमेत थालेको बायोग्यास विस्तार कार्यक्रमका कार्यक्रम अधिकृत अनुपम भुसालले जानकारी दिए । खिलुङ कालिकाले कुखुराको सुलीबाट विद्युत् उत्पादन नै थालेको छ । कुखुरा उत्पादन गरिरहेको उक्त फार्मबाट ३५० किलोवाट विद्युत् उत्पादन भएको छ ।

यो विद्युत् आन्तरिक खपतकै लागि प्रयोग गरिएको छ । सञ्चालक शोभाकान्त ढकालका अनुसार बायोग्यास प्लान्टका कारण कुखुराको सुली व्यवस्थापन सहज भएको छ भने बिजुली पनि प्राप्त भएको छ । दैनिक औसत १० टनसम्म प्राङ्गारिक मल पनि उत्पादन हुने गरेको उनले जानकारी दिए । “कुखुरा फार्म सञ्चालन, आफैँलाई चाहिने बिजुली उत्पादन र प्राङ्गारिक मलको व्यवसायका हिसाबले यो परियोजना लाभदायी हुने देखेको छु,” उनले भने, मलको खपत बढाउन सक्ने हो भने यसले लाभ दिने देखिन्छ ।

विभिन्न नगर क्षेत्रमा बन्दै गरेका यस्ता परियोजनाको अब उद्योगस्तरमै बायोग्यासलाई लैजान सम्भव देखिएको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी निर्देशक मधुसुधन अधिकारी बताउछन् । उनका अनुसार ठूला बायोग्यास परियोजना वातावरणीय स्वच्छता, एलपीग्यास विस्थापन र रोजगारी सिर्जनाका अतिरिक्त कृषिको आधुनिकीकरण र सबलीकरणका लागि उपयुक्त देखिएको छ । पशु फार्म सञ्चालन गर्नेले मल प्रशोधन, दूध तथा आहार प्रशोधनका लागि पर्याप्त ऊर्जा र घाँस तथा दाना उत्पादनका लागि यही मल प्रयोग गर्दा सम्पूर्ण रूपले यो उपयोगी पनि साबित हुने उनको अनुभव छ ।

आधुनिक पशुपालन र कृषिमा बायोग्यास प्रणाली आबद्ध गर्दा व्यवसाय नै दिगो हुने देखियो, उनले भने, घरघरमा पाइपबाट वा सिलन्डिरमै ग्यास बिक्री गर्ने तथा ठूलो परिमाणमा प्रशोधित प्राङ्गारिक मल उत्पादन हुने भएकाले ठूला बायोग्यासको सफलताले हामीलाई हौसला मिलेको छ । ठूला बायोग्यास प्लान्ट सहरी फोहोर व्यवस्थापनका लागि पनि आर्कषक छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग यसका लागि एकदर्जन जति नगरपालिकाले सम्झौता गरिसकेका छन् । अधिकारीका अनुसार कन्काई र घोराही नगरपालिकाले निर्माणसमेत थालिसकेका छन् ।

सहरी क्षेत्रमा घरबाट निस्कने तथा तरकारी बजारबाट निस्कने कुहिने खालका फोहोरलाई कच्च पदार्थका रूपमा प्रयोग गर्दा नगरको वातावरणीय स्वच्छता कायम हुने अपेक्षा नगरपालिकाको छ । यस्ता परियोजना निर्माणका लागि विश्व बैङ्कले २० प्रतिशत र केन्द्रले २० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ । २०७१ मङ्सिरदेखि सञ्चालित उक्त परियोजनाको अवधि भने आगामी मङ्सिरमा सकिँदैछ । अनुदान रकम सबै रकम खर्च नभइसकेको र कतिपय परियोजना निर्माणाधीन भएकाले पाँच वर्षे उक्त परियोजनाको अवधि डेढ वर्ष थप गर्न केन्द्रले प्रस्ताव पनि गरिसकेको छ ।

परियोजना सुरु भएपछि भूकम्प र नाकाबन्दीका कारण पनि केही समय परियोजनाको काम अवरुद्ध हुन पुगेको थियो । कार्यक्रम अधिकृत भुसालका अनुसार व्यावसायिक र नगर फोहोरका ३५० बायोग्यास बनाउने लक्ष्य राखिएकामा १६५ वटा बनिसकेका छन् । परियोजनाले व्यावसायिक, संस्थागत, सामुदायिक र नगर फोहोर गरेर चार प्रकृतिका ठूला बायोग्यास निर्माण कार्यक्रम सञ्चालन गर्दै आएको छ । गोरखापत्र दैनिकबाट