काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६० हजार रुपैयाँ घुससहित प्रहरी नायब निरीक्षकलाई पक्राउ गरेको छ । अख्तियारको टोलीले बिहीबार प्रहरी चौकी गन्जभवानीपुरमा कार्यरत प्रहरी नायब निरीक्षक जटाशंकरप्रसाद कलवारलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो । अख्तियारका अनुसार भारतबाट मालसामान ल्याउन सहज गराइदिने भन्दै कलवारले सेवाग्राहीसँग घुस रकम मागेका थिए ।
घुस माग गरेको सम्बन्धमा अख्तियारमा उजुरी परेपछि आयोगको टोलीले कलवारलाई ६० हजार रुपैयाँ लिइरहेको अवस्थामा पक्राउ गरेको हो । बाराको कलैया उपमहानगरपालिका–४ स्थित श्रीराम खाद्य उद्योगअगाडिबाट उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

पाँच हजारमै बिके प्रहरी, भन्सारमा अड्को: यसअघि गत ६ कात्तिकमा अख्तियार टोलीले कञ्चनपुरको इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट पाँच हजार रुपैयाँ घुससहित एक प्रहरी जवानलाई नियन्त्रणमा लिएको थियो । सीमानजिकको भारतीय बजार वनवासाबाट मालसामान ढुवानी गरी ल्याउने क्रममा भन्सार शुल्क तिरेपछि पनि प्रहरी जवान दीपक चौधरीले व्यवसायीबाट घुस मागेका थिए ।
उनीविरुद्ध उजुरी परेपछि अख्तियारको टोलीले भीमदत्त नगरपालिका–११ स्थित नेपाल–भारत सिमानाको ७ नम्बर पिल्लरनजिकैबाट पाँच हजार रुपैयाँ घुससहित चौधरीलाई नियन्त्रणमा लिएको थियो । उनीमाथि अख्तियारले थप अनुसन्धान गरिरहेको छ ।
भन्सार तिरेर मालसामान ल्याइसकेपछि पनि घुस मागेको यस्तै घटनामा अख्तियारले १७ असोजमा कैलालीका घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानबहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतीराम चौधरीलाई पनि रंगेहात पक्राउ गरेको थियो । अख्तियारको कार्यालय कञ्चनपुरको टोलीले चौधरीद्वयलाई सेवाग्राहीसँग २० हजार घुस लिएको अवस्थामा पक्राउ गरेको थियो ।
त्यस्तै, गत ३० असोजमा अख्तियारले अस्थायी प्रहरी पोस्ट, कठुधार महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरीलाई रंगेहात पक्राउ गरेको थियो । नेपाल–भारत सीमा बजारबाट घरमा प्रयोग गरिने सामान खरिद गरी ल्याउन सहज गराइदिने बहानामा उनले सेवाग्राहीबाट १३ हजार रुपैयाँ घुस लिएका थिए ।
दुर्घटनाको मुद्दा मिलाउन पनि घुस:गत २९ असोजमा अख्तियारले महानगरीय प्रहरी प्रभाग थली, काठमाडौंमा कार्यरत प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्तविरुद्ध विशेष अदालतमा मुद्दा दायर ग¥यो । उनले सवारी दुर्घटना मुद्दा सहमतिबमोजिम मिलापत्र भइसकेपछि पनि मिलापत्र गराइदिएको भन्दै त्यसबापतको खर्च भनी पाँच हजार रुपैयाँ घुस मागेका थिए । अख्तियारको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।
बिमा सिफारिस गराइदिएबापत पनि घुस:अख्तियारले ७ कात्तिकमा रुपन्देहीको इलाका प्रहरी कार्यालय मंगलपुरमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर जिसीविरुद्ध मुद्दा दायर ग¥यो । जिसीले बिमा सिफारिस गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएका थिए । यसबापत उनले सेवाग्राहीबाट १५ हजार रुपैयाँ लिइरहेको अवस्थामा अख्तियारको टोलीले उनलाई १३ असोजमा कार्यालय परिसरबाटै रंगेहात पक्राउ गरेको थियो । नयाँ पत्रिका दैनिकबाट












