२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने



अ+ अ-

काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आगामी जेष्ठ २९ गते २४ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशन आयोजना गर्ने भएको छ।

संस्था अनुसार देशभर ७०० भन्दा बढी कम्पनी सदस्य रहेको इप्पानको साधारणसभा तथा अधिवेशन यसअघि भएका निर्णयअनुसार वैधानिक प्रक्रियामा अघि बढाइएको हो। साधारणसभा तथा अधिवेशनलाई भव्य र सर्वसम्मत रूपमा सम्पन्न गर्न तयारी भइरहेको पनि संस्थाले जनाएको छ।

इप्पानका अनुसार २०८० साल जेष्ठ ३२ गते सम्पन्न २१ औं साधारणसभाले भानुभक्त पोखरेलको संयोजकत्वमा ५ सदस्यीय विधान संशोधन तथा पुनर्लेखन समिति गठन गरेको थियो। उक्त समितिले २०८२ साल जेष्ठ २९ गते संस्थालाई महासंघको रूपमा रूपान्तरण गर्ने प्रस्तावसहित मस्यौदा प्रतिवेदन पेश गरेको थियो।

त्यसपछि २०८२ साल असार ३१ गते सम्पन्न २३ औं साधारणसभाले उक्त प्रतिवेदनमाथि छलफल गर्दै कार्यान्वयनका लागि संस्थाका अध्यक्षलाई अख्तियारी दिएको थियो। तर, महासंघ बनाउने प्रक्रिया अघि नबढ्ने अवस्थामा पुगेपछि २०८३ साल बैशाख ४ गते सम्पन्न २०० औं कार्यसमिति बैठकले इप्पानको वर्तमान विधान २०७८ अनुसार नै २४ औं साधारणसभा तथा आठौं अधिवेशन गर्ने निर्णय गरेको संस्थाले स्पष्ट पारेको छ।

यसैबीच, २०८३ साल जेष्ठ २५ गते सम्पन्न २०३ औं कार्यसमिति बैठकले विधान संशोधन प्रस्ताव पनि अघि सारेको छ। प्रस्तावअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाउने, तथा एक कार्यकाल कार्यसमितिमा रहेका योग्य सदस्यले मात्र अध्यक्ष पदमा उम्मेदवारी दिन पाउने व्यवस्था राख्ने प्रस्ताव गरिएको छ। अन्य सबै पदमा भने खुला प्रतिस्पर्धा रहने व्यवस्था प्रस्तावमा समावेश गरिएको छ।

इप्पानले सम्पूर्ण निर्वाचन प्रक्रियामा सर्वसम्मत सहभागितामार्फत अधिवेशन सफल बनाउन पनि आग्रह गरेको छ।

त्यसैगरी, संस्थाका उपमहासचिव प्रकाशचन्द्र दुलालले विधान गायब भएको र विधानविपरीत साधारणसभा गर्न लागिएको भन्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिएकोप्रति इप्पानले आपत्ति जनाएको छ। उक्त आरोपलाई “अर्नगल र कपोलकल्पित” भन्दै संस्थाले कडा खण्डन गरेको छ।

इप्पानले आगामी साधारणसभा तथा अधिवेशनमा भ्रममा नपरी सक्रिय सहभागिता जनाउन सबै ऊर्जा व्यवसायी सदस्यहरूलाई आग्रह गरेको छ।