२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको काम तीव्र बनाएको दाबी तर उपलब्धि भने सुस्त



अ+ अ-

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आफ्नो काम तीव्र बनाएको दाबी गरिरहँदा उपलब्धि भने सुस्त देखिएको छ । विभागमा उजुरी परेअनुसार अनुसन्धान गरी मुद्दा दायर गर्ने क्रममा तीव्रता आउन सकेको छैन । विभागले आक्रामक रूपमा काम गर्न नसक्दा र ठूला केसमा मुद्दा दायर गर्ने क्रम बढाउन नसक्दा नेपाल फाइनान्सियल एक्सन टाक्सफोर्स (एफएटीएफ)को रेटिङमा ग्रेलिस्टमा पर्ने खतरा बढेको छ ।

विभागका अधिकारी पनि राजनीतिक नेतृत्व कामप्रति प्रतिबद्ध हुन नसकेमा र जिम्मेवार निकायले जिम्मेवारीअनुसारको काम नगरे नेपाल ग्रेलिस्टमा पर्न सक्ने सम्भावना औंल्याउँछन् ।यदि नेपाललाई फाइनान्सियल एक्सन टाक्सफोर्स (एफएटीएफ)ले रेटिङ गर्दा ग्रेलिस्टमा राखे नेपालप्रति विश्वले गलत दृष्टिले हेर्ने जानकार बताउँछन् । जसले गर्दा विदेशी लगानी नआउने, नेपालको लेटर अफ क्रेडिट (एलसी) विदेशमा नचल्लने, नेपाली विदेश जाने क्रममा अत्यधिक छानबिनमा पर्न सक्ने जस्ता समस्या आउने गर्छ ।

अहिले सो लिस्टमा परेका देशमा पाकिस्तान, इरान, उत्तर कोरियाजस्ता मुलुक छन् । सम्पति शुद्धीकरणसँग सम्बद्ध नियामक निकाय, सूचक संस्थाले कानुनबमोजिम जिम्मामा पाएको काम नगर्दा विभागको काममा पनि चुस्तता आउन सकेको छैन । । सूचक संस्थाले राष्ट्र बैंकको वित्तीय जानकारी एकाइमा शंकास्पद वित्तीय कारोबारको जानकारी दिनुपर्ने र एकाइले छानबिन गरी सोसम्बन्धी उजुरी विस्तृत अनुसन्धानका लागि विभागमा लैजाने कानुनी प्रावधान छ ।

तर, अहिले विभागमा सूचक संस्थाले पर्याप्त उजुरी नपठाउँदा र नियामक निकायले सूचक संस्थालाई कडाइ नगर्दा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसम्म उजुरी नै पर्याप्त आउन नसकेको विभागले जनाएको छ । विभागमा सिधै र एकाइमार्फत दुई किसिमले उजुरी पर्ने गरेको छ । धेरैजसो उजुरी एकाइमार्फत आउँदा छानबिन भएरै आउने हुँदा व्यक्तिले अनावश्यक दुःख नपाउने विभागका निर्देशक सुशील आचार्यले जानकारी दिए । निर्देशक आचार्यका अनुसार सन् २०२० को अक्टोबरदेखि २०२१ फेब्रुअरीसम्म नेपालको सम्पत्ति शुद्धीकरणसम्बन्धी रेटिङ हुने हुनाले पनि कामलाई प्रभावकारी बनाउनुपर्ने बाध्यता छ ।

विभागले आर्थिक वर्ष २०७४÷७५ मा चारवटा मुद्दा अदालतमा दर्ता गरेकोमा २०७५÷७६ मा भने नौवटा मुद्दा दर्ता गरेको छ । विभागका निर्देशक आचार्यले नियामक निकाय र सूचक संस्थाले कानुनले दिएको अधिकार प्रभावकारी रूपमा नगरे पनि विभागले साधनस्रोतले भ्याएसम्म कामलाई तीव्रता दिएको दाबी गरे । । विभागले छिटै ठूलो बिगो भएका उच्च पदस्थ व्यक्ति र संस्थाको मुद्दा विशेष अदालतमा लैजाने तयारी गरेको बताइएको छ ।

सुशासन अभियानकर्ता केदार खड्काले विभागलाई स्वतन्त्र निकायका रूपमा नलगेसम्म प्रभावकारी काम गर्न नसक्ने बताए । स्थापनाकालपछि धेरै समयसम्म अर्थ मन्त्रालयको विभागका रूपमा रहेको विभाग हाल प्रधानमन्त्री कार्यालयको मातहतमा रहेको हुनाले प्रधानमन्त्रीले नचाहेसम्म विभागले सशक्त रूपमा काम गर्न नसक्ने खड्काको दाबी छ ।
विभाग गठन भएदेखि हालसम्म १५/२० वटा मात्र ठूलो रकमको मुद्दा दर्ता भएकाले विभागको काममा सन्तोष मान्ने अवस्था छैन ।

विभागले केही वर्षअघि सञ्जय शाह (टक्ला), गणेश लामा र प्रहरीका एक पूर्ववरिष्ठ अधिकारीलगायतविरुद्ध अदालतमा मुद्दा लैजान सफल भएको थियो । पछिल्ला दिनमा भने ठूला रकमका मुद्दा गएका छैनन् । सम्पत्ति शुद्धीकरण विभाग ऐनले देशका राष्ट्रपति, प्रधानमन्त्री तथा संवैधानिक निकायका प्रमुखलाई समेत आवश्यकता परे आफ्नो दायरामा ल्याएर छानबिन गरी कारबाही गर्न सक्ने बलियो कानुनी व्यवस्था छ । तर, विभागले साधन स्रोत र दक्ष जनशक्ति नहुँदा प्रभावकारी काम गर्न नसकेको बताउँदै आएको छ ।

मुद्दा छानबिन गर्न धेरै समय लाग्ने तथा त्यसका लागि पर्याप्त र दक्ष कर्मचारीको अभाव रहेका कारण काम सुस्त जस्तो देखिए पनि विद्यमान साधन स्रोतको प्रयोग गरी कामलाई द्रुत गतिमा अघि बढाइएको विभागका निर्देशक आचार्यको भनाइ छ । सम्पत्ती शुद्धीकरण विभागलाई प्रभावकारी बन्न नदिनमा मुख्य गरेर राजनीतिक दलका नेताहरूको दबाब र हस्तक्षेप प्रमुख कारण भएको जानकार बताउँछन् । रेटिङको समय नजिकिँदै गर्दा पनि राजनीतिक उच्च ओहदाका व्यक्तिले प्रतिबद्धता व्यक्त गरेका छैनन् । राजधानी दैनिकबाट