२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रम ओलीसंग खट्पट दाहालसंग नजिकिँदै नेता नेपाल



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग खटपटपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल नजिकिन थालेका छन्। उनीहरूले मंगलबार बेलुकी पार्टी राजनीतिका विषयमा केन्द्रित रही दाहाल निवास खुमलटारमा ‘गोप्य’ छलफल गरेका छन्। त्यसमा प्रवक्ता नारायणकाजी श्रेष्ठसमेत निम्त्याइएका थिए। तीन नेताबीच लामै छलफल भएको खुमलटार स्रोतले बतायो।

ओलीले पार्टी एकताका बेलाको सहमति र त्यसयताका समझदारी कार्यान्वयनमा चासो नदेखाएको र आफूलाई कमजोर बनाउने खेलमा लागेको बुझाइमा दाहाल पुगेका छन्। नेपाल भने पार्टीको संगठनात्मक एकताका क्रममा आफू पक्षका नेतालाई जिम्मेवारीविहीन बनाएको, आफ्नो वरीयता खोसिएसम्मका कारण देखाउँदैै ओलीसँग असन्तुष्ट छन्। दाहालले सोमबार र आइतबार प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए।

ती छलफलका विषयमा उनले नेपाल र श्रेष्ठलाई अवगत गराउँदै अब कसरी प्रस्तुत हुने भन्ने सुझाव मागेको स्रोतको भनाइ छ। प्रधानमन्त्री ओली बिहीबार अजरबैजान जाँदै छन्। त्यसअघि सम्भवतः दुई अध्यक्षबीच बुधबार ‘वान अन वान’ छलफल हुनेछ। ओलीसँग स्थायी समिति बैठक (सकभर केन्द्रीय समितिकै बैठक) तत्काल बोलाउने विषयदेखि समझदारी कार्यान्वयन, दुई अध्यक्षकै बीचमा सरकार र पार्टी सञ्चालनको जिम्मेवारी बाँडफाँडलगायतमा अडान राख्न दाहाललाई नेपाल र श्रेष्ठले छलफलमा सुझाएको स्रोतले बतायो।

नेकपाभित्र नेताहरूबीच नयाँ समीकरण बन्न र भत्किने गर्दै आएको छ। पार्टी एकताको १७ महिनामा कहिले दाहाल र ओली त कहिले दाहाल र नेपालबीच सहकार्य हुँदै आएको छ। पछिल्लो पटक दाहाल–नेपाल सहकार्यको सम्भावना बढेर गएको छ। ओली, दाहाल र नेपालमध्ये दुई पक्ष जता मिल्छन् नेकपाको केन्द्रीय समितिमा बहुमत त्यत्तै पुग्ने समीकरण देखिन्छ। दाहाल र नेपाल दुवै जना प्रधानमन्त्रीले आफूहरूलाई पेल्ने रणनीति अख्तियार गर्न खोजेको बुझाइमा छन्।

त्यही कारण ओलीको रणनीतिलाई निस्तेज बनाउने र त्यसको जमेर बहसमा उत्रिने योजनाका साथ दाहाल–नेपालले मोर्चा कस्न खोजेका छन्। नेपालनिकट एक स्थायी समिति सदस्य भन्छन्, ‘उहाँहरू (दाहाल–नेपाल) बीच पार्टीभित्र अब नयाँ समीकरण बन्न सक्छ। त्यसको प्रयासका लागि छलफल प्रारम्भ भएको छ।’ अन्नपुर्णपोष्ट दैनिकबाट