२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानमारले दियो उच्च प्राथमिकता



अ+ अ-

म्यानमार । राष्ट्रपति विद्यादेवी भण्डारीको म्यानमार भ्रमणबाट नेपाल–म्यानमार सम्बन्ध नयाँ उचाइमा पुगेको छ । उतिबेला बर्मा भनिने हालको म्यानमारसँग नेपालको पुरानो जनस्तरको सम्बन्धलाई राष्ट्रपतिको भ्रमणले नवीकरण गरेको छ । यतिमात्र होइन, लोकतान्त्रिक आन्दोलनको एक नेत्रीका रूपमा बर्माको लोकतान्त्रिक आन्दोलनका पिता बोग्योक आङ सन सङ्ग्रहालय भ्रमण गरेर दुई देशबीचको सम्बन्धलाई अझ घनिष्ठ बनाएको अभिव्यक्ति यहाँका कूटनीतिज्ञ, व्यापारी, बुद्धधर्मका अनुयायी तथा सर्वसाधारणले दिएका छन् ।

म्यानमार गणतन्त्र सङ्घका राष्ट्रपति उ विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका राष्ट्रपति भण्डारीको पाँचदिने भ्रमण (असोज २९ देखि कात्तिक ३)ले दुवै देशका सरकार र नागरिकस्तरमा समेत विशेष चर्चा र उच्च महत्व पाएको छ । नेपाली राष्ट्राध्यक्षको चार दशकपछि भएको यो राजकीय भ्रमणले नेपाल–म्यानमार सम्बन्धमा गुणात्मक फड्को मारेको विश्वास गरिएको छ । म्यानमारको नयाँ राजधानी नेपितो नेपालका राष्ट्रपतिको स्वागतमा पूरै सिँगारिएको थियो ।

सडकका चोकचोकमा फहराइएका नेपालका झन्डा र पानीका आकर्षक फाउन्टेन देखेर स्थानीय बुद्धको भूमिबाट म्यानमारमा भ्रमण गरिरहेका नेपालका राष्ट्रपतिको विशेष महत्व राख्दै चासो अभिव्यक्त गरिरहेका थिए । म्यानमारका राष्ट्रपतिको भवनमा गरिएको राष्ट्रपति भण्डारीको भव्य स्वागत र ओजपूर्ण सम्मानगारत निरीक्षणलाई म्यानमारका सञ्चारमाध्यमहरूले महत्वका साथ प्रकाशन र प्रसारण गरिरहे । म्यानमारको करिब मध्य भागमा पर्ने नेपितोमा डेढ दशकअघि रङ्गुन अर्थात् याङ्गुनबाट म्यानमारको राजधानी सारिएको हो ।

पुरानो सहर रङ्गुन भने याङ्गुन नामकरणसँंगै व्यापारिक सहरमा रूपान्तरण गरिएको छ । याङ्गुनमा गगनचुम्बी भवन, ज्यादै आकर्षक टलल टल्किरहेका स्वर्ण गुम्बा र प्यागोडा शैलीका भवन तथा अत्यन्त व्यस्त औद्योगिक उत्पादन, व्यापार तथा कारोबारको केन्द्र बनेको छ । नेपाल र म्यानमारका राष्ट्राध्यक्षबीच भएको वार्ता र सहमतिले दुवै देश आपसी सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने ढोका खोल्न दत्तचित्त रहेको पाइएको छ । उच्च हिमाली शृङ्खला, गौतम बुद्धको जन्मथलो, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा र प्राकृतिक सुन्दरताले विख्यात नेपाल र विशाल नदीहरू, लामो समुद्री किनारा, समतल उर्वर भूमि र घना जङ्गल तथा खनिज पदार्थहरूको विशाल भण्डारको खानी हो म्यानमार ।

युगौँदेखि जनस्तरको सम्बन्धले बाँधिएका नेपाल–म्यानमारबीच विविध विषयमा सहकार्य गरेर अगाडि बढ्ने लिखित सहमति राष्ट्रपति भण्डारीको भ्रमणकालमा भएको छ । सांस्कृतिक आदानप्रदान, पर्यटन, लगानी, जलवायु परिवर्तनलगायतका विषयमा मिलेर काम गर्ने सहमतिपत्रमा हस्ताक्षर भयो । दुवै देशका राष्ट्राध्यक्षहरूको रोहबरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यानमारका विदेशमन्त्री आङसाङ सूचीले नेपाल–म्यानमारबीच भएको सांस्कृतिक सम्झौतापत्रमा हस्ताक्षर गरे ।

त्यसैगरी पर्यटन र पारस्परिक लाभका विषयमा नेपालका परराष्ट्रमन्त्री ज्ञवाली र म्यानमारका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी सङ्घीय मन्त्री क्याउ तिनबीच समझदारीपत्रमा हस्ताक्षर भयो । नयाँ राजधानी नेपितोको उच्चस्तरीय भ्रमणपछि राष्ट्रपति भण्डारी नेपाली मूलका बर्मेलीहरू बसोबास गरिरहेको प्योन ओ लिन जानुभई महत्वपुर्ण भेलालाई सम्बोधन गरे । राजधानी नेपितोबाट एक घण्टाको हवाई यात्रामा पुगिने सुन्दर पहाडी बस्तीमा ठूलो सङ्ख्यामा कैयौँ पुस्तादेखि नेपाली मूलका बर्मेलीहरू बसोबास गर्ने रहेछन् ।

राष्ट्रपतिले प्योन ओ लिनस्थित दुर्गा मन्दिर र पशुपतिनाथ मन्दिरमा गएर नेपाली म्यानमारेलीसँगसँंगै विशेष पूजा गरिरहँदा ९५ वर्षीय एक वृद्ध भने मन्दिर प्राङ्गणमा उत्साह व्यक्त गरिरहेका थिए। बर्मेली सेनाका अवकाशप्राप्त कप्तान दुर्गाराज सुवेदीले “टीभी र पत्रपत्रिकाहरूमा बराबर अनुहार देखिरहेको राष्ट्रपतिलाई आँखैअगाडि हेर्न मात्र होइन, कुराकानी गर्न पाएँ । जीवनभर मैले नेपाल पुग्ने अवसर पाएको थिइनँ तर आज दुर्गा र पशुपतिनाथ मन्दिरलाई साक्षी राखेर नेपालका राष्ट्रपतिलाई भेट्न पाएँ । बहुत खुसी लागिरहेको छ”, उनले भने ।

बर्मामा रहेका नेपालीको माग छ, “नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा नेपाल–म्यानमारबीच सीधा हवाई उडान सुरु होस् । ” विश्व जलवायु परिवर्तनमा विषालु ग्याँस उत्सर्जन नै नगर्ने नेपाल र म्यानमार दुवै देशले जलवायु परिवर्तनको मारमा परेर ठूलो क्षति बेहोरिरहनु परिरहेको सन्दर्भमा राष्ट्रपति भण्डारीले कान्दागी पार्क र बोटानिकल गार्डेनको ठूलो क्षेत्र ब्याट्रीले चल्ने टेम्पोमा बसेर अवलोकन गरे । राष्ट्रपति भण्डारीले याङ्गुनमा बुद्धको केश राखिएको विश्वविख्यात स्वेदागोन चैत्यको भ्रमण अवलोकन, पूजा, लुम्बिनी चित्रकलाको प्रदर्शनी उद्घाटन गरेर नेपाल–म्यानमार सम्बन्धको विस्तारित स्वरूपलाई उजागर पारे ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले म्यानमार विपश्यनाको भूमि रहेको बताउँदै यहाँका जनतालाई लुम्बिनी भ्रमण वर्षमा निमन्त्रणा दिए । चालीस वर्षअघि नेपालले दिएको बुद्धमूर्तिबाट बनेको महाविजया चैत्यमा परराष्ट्रमन्त्री ज्ञवालीले गर्नुभएको अवलोकनले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई वर्तमानसँग जोडेको छ । संयोग पनि कस्तो भने याङ्गुनका दुई विश्वविख्यात चैत्य टनका टन सुन प्रयोग गरी बनेका छन् । स्वेदागोनको गर्भगृहमा स्वयं बुद्धले आफैँले लुछेर दिएको उनका आठवटा केश रहेको छ भनिन्छ ।

महाविजया चैत्यको मूल मूर्ति पनि ४० वर्षअघि नेपालले नै उपहारस्वरूप दिएपछि त्यो विशाल चैत्यको निर्माण त्यहाँको सरकारले गरेको रहेछ । याङ्गुनमा रहेको सितागु इन्टरनेसनल बुद्धिस्ट एकेडेमीमा आयोजित कार्यक्रममा कपिलवस्तु लुम्बिनीमा राख्नका लागि विश्वका विभिन्न देशमा फैलिएर रहेका चर्चित ३० वटा मूर्तिको प्रतिरूप नेपाललाई त्यहाँका संस्थापक भिक्षु सितागुले हस्तान्तरण गरे । शाक्यमुनि बुद्धका श्लोकहरू पाठ गर्दै राष्ट्रपति भण्डारीको उपस्थितिमा ती मूर्ति लुम्बिनी विकास समितिका कोषाध्यक्ष सुरेन्द्र शाक्यलाई हस्तान्तरण गरियो ।

लुम्बिनीमा ती मूर्तिहरू राखिएपछि संंसारका चर्चित पुराना बुद्धमूर्तिहरू कस्ता रहेछन् भनेर हरेक पर्यटकले अवलोकन गर्न पाउने छन् । उपासक–उपासिकाहरूले एकै ठाउँमा यिनको दर्शन गर्ने अवसर पाउने विश्वास गरिएको छ । संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव उ थान्तको सक्रियतामा लुम्बिनीलाई विश्वका शान्तिप्रियहरूको तीर्थस्थल बनाउने अभियान सुरु भयो । उनकै नेतृत्वकारी भूमिकाले आजको लुम्बिनीको खाका तयार भएको हो । थान्तका नाति डा. थान उ मिन्तले विज्ञका रूपमा कार्यक्रममा विशेष सम्बोधन गरेका थिए । गोरखापत्र दैनिकबाट