२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीयतालाई चुनौती: सोसफोर्स र घुसको भरमा नै चल्दै सरकारी कार्यालय



अ+ अ-

काठमाडौं। मुलुक संघीय शासन प्रणालीअनुसार सञ्चालन भइसक्दासमेत अधिकांश सरकारी कार्यालय अझै पनि सोसफोर्स, भनसुन र घुसका आधारमा चल्ने गरेको पाइएको छ । जसका कारण संघीय शासन प्रणालीमाथि चुनौती थपिएको प्रशासनविद्को भनाइ छ । राष्ट्रिय सर्तकता केन्द्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका नियामक निकायले विभिन्न सरकारी कार्यालयमा गरेका नियमित अनुगमन तथा छड्के निरीक्षणका क्रममा यस्तो तथ्य पत्ता लागेको हो । यस्तो तथ्यसँगै यी निकायमा अनुगमन बढाइएको छ ।

नियामक निकायका अनुसार विशेषगरी मालपोत कार्यालय, नापी, यातायात कार्यालय, श्रम विभाग तथा कार्यालय, वैदेशिक रोजगार विभाग र मातहतका कार्यालय, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, राजस्व कार्यालय, खानेपानी तथा सिँचाइका विभिन्न कार्यालय, सडक विभाग र मातहतका कार्यालय, स्थानीय तहलगायतका निकायमा अझै पनि घुस तथा सोर्सफोर्स र भनसुनका आधारमा मात्रै काम हुने गरेको पाइएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्तकता केन्द्रले विभिन्न समयमा गरेका अनुुगमनका क्रममा ती कार्यालयको काम कारबाही र सेवा प्रवाहसमेत निकै कमजोर रहेको पाइएको हो ।
कार्यालयमा हुने यस्ता क्रियाकलापका कारण सेवाप्रवाहमा ढिलासुस्ती भएको भन्दै सतर्कता केन्द्रमा केही उजुरी समेत आउने गरेका छन् । त्यस्तै, गरी सेवा प्रवाह राम्रो हुन नसकेको भन्दै कैयौं सरकारी कार्यालयको विरुद्ध अख्तियारमा समेत उजुरी पर्ने गरेको अख्तियारले जनाएको छ ।

सर्तकता केन्द्रका अनुसार केन्द्रले देशका विभिन्न जिल्लाका सरकारी कार्यालयम गर्ने अनुगमनका क्रममा सेवाग्राहीले अझै पनि घुस तिरेर काम लिनुपर्ने अवस्था रहेको बताउने गरेको पाइएको छ । भनसुन र सोसफोर्सका सम्बन्धमा जानकारी पाउन कठिन रहेको केन्द्रका अधिकारीको अनुभव छ । घुस खानेहरूलाई भने अख्तियारले बेलाबखत रंगेहात पक्राउ गर्दै आएको छ तर कैयौं व्यक्तिहरू भने घुस खाए पनि उम्कँदै आएका छन् ।

सतर्कता केन्द्रका सहायक प्रवक्ता डालनाथ अर्याल भन्छन्, ‘केन्द्रमा परेका उजुरीलाई हामीले छानबिन गर्ने गरेका छौं । हामीले कार्यालय परिसरमा बडापत्र राखिएको नराखिएको देखि कर्मचारीको आचरणसम्मलाई सूक्ष्म रूपमा अध्ययन गरिरहेका छौं ।’ उनले कतिपय कार्यालयमा बिचौलियाको कारण ढिलासुस्ती बढेको पाइएपछि बिचौलियालाई प्रवेश निषेध गर्नुपर्नेलगायतका सुझाव दिइएको बताए ।

सतर्कता केन्द्रले सार्वजनिक निकायबाट हुने अनियमितता, ढिलासुस्ती, भ्रष्टाचार सम्बन्धमा उजुरी संकलन गर्ने र सार्वजनिक निकायबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन, अनुगमन गरी सुझाव तथा निर्देशन दिने क्रमलाई निरन्तरता दिइएको बताएको छ । तर, केन्द्रले दिएको सुझावलाई भने सम्बन्धित कार्यालयले बेवास्ता गर्दै आएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारीको खोजी गर्न स्टिङ अप्रेसन गर्दै आएको छ । तर, अख्तियारले आशातीत रूपमा सफलता हासिल गर्न सकेको छैन । धेरै कार्यालयका कर्मचारी भ्रष्टाचारमा संलग्न रहने पाइएपछि यसलाई नियन्त्रणका लागि आयोगले अभियान नै सञ्चालन गरेर नियन्त्रणको प्रयास गरिरहेको दाबी गरेको छ । राजधानी दैनिकबाट