काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले संविधानलाई ‘बाँदरको हातमा नरिवल’ बन्न दिन नहुने बताउनुभएको छ ।
जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताउनुभएको हो ।
दक्ष र सरोकारवाला पक्षबाहेक ‘अनाडी’हरूको संलग्नतामा गरिने संशोधनले मुलुकलाई सही दिशा नदिने तर्क गर्नुभयो । उहाँले संविधानको मूल मर्मलाई आत्मसात गर्दै विधिसम्मत ढङ्गले मात्र परिमार्जनको बाटो रोज्नुपर्ने धारणा व्यक्त गर्नुभयो । नेता खनालले संविधानलाई एक गतिशील र लचिलो दस्तावेजका रूपमा चित्रण गर्दै समयको मागअनुसार यसलाई परिष्कृत र परिमार्जित गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।
यद्यपि, संविधान संशोधनको प्रक्रिया स्थापित मापदण्ड, निश्चित मापदण्ड र संवैधानिक संयन्त्रका आधारमा मात्रै गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । वर्तमान संविधान र गणतन्त्रमाथि खतरा उत्पन्न भएको बताउँदै मुलुक गम्भीर राजनीतिक सङ्कटतर्फ धकेलिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले सम्पूर्ण वामपन्थी शक्तिहरूलाई गोलबन्द भएर राष्ट्रियता जोगाउन र समाजवादको मार्ग प्रशस्त गर्न समेत आह्वान गर्नुभयो ।











