काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा शैलेन्द्र झा नियुक्त हुनुभएको छ ।
शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका झा शिक्षा प्रणाली सुधार, नीति निर्माण, युवा सशक्तीकरण र प्रविधिमैत्री शिक्षाको क्षेत्रमा सक्रिय हुनुहुन्छ ।
उहाँको नियुक्तिलाई मन्त्रालयको नीतिगत तथा संस्थागत सुधारमा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।
यसअघि झा काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगमा शिक्षा, प्रविधि तथा सामाजिक नवप्रवर्तन हेर्ने बोर्ड सदस्यको रूपमा कार्यरत हुनुहुन्थ्यो ।
उहाँले महानगरको शिक्षा विभाग, सामाजिक विकास विभाग तथा अनुसन्धान र नवप्रवर्तनसम्बन्धी नीति निर्माण, योजना तर्जुमा, स्रोत व्यवस्थापन तथा अनुगमनको नेतृत्व गर्नुभएको थियो ।
झाले ‘टिचर्स फर नेपाल’मा सञ्चालन निर्देशक, भर्ती तथा छनोट निर्देशक र भर्ती व्यवस्थापकका रूपमा करिब आठ वर्ष काम गर्दै संस्थागत रणनीति, मानव स्रोत व्यवस्थापन, शिक्षक छनोट प्रणाली, नेतृत्व विकास, सञ्चार तथा साझेदारी विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
झा बिआइटीएस लिडर इन्टरनेशनल प्रालिका संस्थापक अध्यक्ष पनि हुनुहुन्छ । रासस












