२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इँटाभट्टामा हालेर पाँचजनाको विभत्स हत्या गरेको अभियोगमा सांसद आलम पक्राउ



अ+ अ-

काठमाडौं । इँटाभट्टामा हालेर पाँचजनाको निर्मम हत्या गरेको अभियोगमा प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री मोहमद अफ्ताव आलम पक्राउ परेका छन् । राजपुर फरहदवास्थित घरबाट गौरतर्फ आउनेक्रममा गौर–चन्द्रपुर सडकखण्डमा आइतबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको हो । ११ वर्षअघिको घटना भए पनि राजनीतिक दबाबका कारण प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन । पहिलो संविधानसभा निर्वाचनताका बम बनाउने क्रममा पड्केर घाइते भएका पाँचजनालाई इँटाभट्टामा जलाएर मारेको आरोप उनीमाथि छ ।

चुनावमा प्रयोग गर्न भारतबाट भाडामा मान्छे ल्याएर काका शेख इन्द्रिसको गोठमा बम बनाउन लगाएको अवस्थामा विस्फोट भएको थियो । २७ चैत ०६४ मा बम पड्किएर केहीको मृत्यु भएको थियो भने विस्फोटमा घाइते भएका पाँचजनालाई ट्र्याक्टरमा राखेर राजपुरस्थित आफन्तको इँटाभट्टामा हालेको आरोप छ । विपक्षीलाई तर्साएर चुनाव जित्न उनले बम विस्फोटको योजना बनाएका थिए ।

बम विस्फोटमा सरुअठा गाउँका २५ वर्षीय पिन्टु सिंह, राजपुर फरहदवाका ओसी अख्तर र अन्य तीन भारतीय घाइते भएकोमा घटनाको पोल खुल्ने डरले उनीहरूको हत्या गरेको प्रहरी दाबी छ । घटनालगत्तै मृतक पिन्टुका बुबा श्रीनारायण सिंह र ओसी अख्तरकी आमा रुखसाना खातुनले सांसद आलम, उनका भाइ शेख मोहमद महताभ आलम, सोही ठाउँका शेख भदै, शेख मोमिन र हालको गरुडा नगरपालिकाअन्तर्गत जयनगरका शेख बलेरुलाई मुख्य आरोपी बनाएर जिल्ला हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय गौरमा मुद्दा दर्ता गराएका थिए ।

तर, प्रहरी र सरकारी वकिलमाथि दबाबका कारण अहिलेसम्म उनी पक्राउ परेका थिएनन् । त्यतिवेला घटनाका केही प्रत्यक्षदर्शीले समेत बम विस्फोटमा उनीहरू घाइते भएको र पछि इँटाभट्टाको आगोमा हालेर हत्या गरेको कागज गरिदिएका थिए । यसरी हत्या गरिएका ओसीका आमा रुखसाना खातुनको समेत पछि गोली हानेर हत्या भएको थियो । सो प्रकरणमा पनि आलममाथि छानबिन हुने प्रहरीले जनाएको छ ।

आलमलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको छ । दिउँसो कांग्रेस कार्यकर्ताले गौरमा विरोध गरे । कांग्रेस जिल्ला सभापति कृष्ण प्रसाद यादवले गौरमा पत्रकार सम्मेलन नै गरेर आलम पक्राउको विरोध गरेका छन् । कम्युनिष्ट सरकारले कांग्रेसमाथि ज्यादति गरेको उनको भनाई छ । सुरक्षा चुनौती थपिएपछि अन्य जिल्लाबाटसमेत प्रहरी मगाएर जिल्लाभरको सुरक्षा कडा पारिएको प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए ।

अदालतको आदेशको सात वर्षपछि पक्राउ
बम विस्फोट गराउँदै अन्य प्रतिस्पर्धीलाई तर्साएर चुनाव जित्ने रणनीतिअन्तर्गत सो घटना भएको थियो । कांग्रेस नेता आलम ०६४ को संविधानसभा निर्वाचन विजयी पनि भए । राजनीतिक शक्तिको आडमा अपराधबाट भने उनी जोगिँदै आएका थिए । प्रहरीले मुद्दा चलाउन अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाएको थियो । तर, २९ असार ०६५ मा सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गर्‍यो ।

भोलिपल्ट महान्यायाधिवक्ताको कार्यालयले सरकारी वकिल कार्यालयकै निर्णयलाई सदर गर्‍यो । त्यसपछि सर्वोच्च अदालतमा रिट पर्‍यो । १६ जेठ ०६९ मा सर्वोच्चका तत्कालीन न्यायाधीश सुशीला कार्कीको इजलासले मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको आदेश बदर गर्‍यो । त्यतिवेलै उनलाई पक्राउ गर्न बाटो खुलेको थियो । तर, राजनीतिक दबाबमा प्रहरीले छुन सकेन । बरु फरार अभियुक्त रहेकै अवस्थामा ०७४ को निर्वाचनमा पनि टिकट पाएर विजयी भए ।

पछिल्लो समय महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन गरेकोमा सर्वोच्चले पुरानै आदेशलाई सदर गरेपछि बल्ल प्रहरीले उनलाई पक्राउ गरेको छ । आलमका भाइसहित सो मुद्दामा फरार अन्य चारजनालाई पनि पक्राउ गर्ने प्रहरीको तयारी छ । आलमलाई मंगलबार अदालतमा उपस्थित गराई थुनामा राख्न म्याद लिइने रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले बताए । नयाँ पत्रिका दैनिकबाट