काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा सुरक्षाको जिम्मेवारी नेपाली सेनाले सम्हाल्ने भएको छ । पाँच अति विशिष्ट व्यक्तिको सुरक्षाको जिम्मेवारी सेनाको हुने प्रचलनअनुसार सीको भ्रमणमा पनि नेपाली सेनाबाटै पिएसओ खटिनेछन् । सेनाकै नेतृत्वमा सुरक्षा योजना बनिरहेको छ । यद्यपि, राष्ट्रपति सीको पहिलो भित्री घेरामा भने चिनियाँ सेना नै हुनेछ ।
राष्ट्रपति सी सोल्टी होटेलमा बस्नेछन् । उनको सवारी रुटमा सेनाको हेलिकोप्टरले समेत स्कर्टिङ गर्नेछ । सीको सवारीका क्रममा कम्तीमा आधा घन्टा सडक खाली गराइनेछ । सवारी रुटमा पर्ने अग्ला घरहरूमा सुरक्षाकर्मी बस्नेछन् । त्यस्तै उनको रुटमा सिसिटिभीको कभरेज हुनेछ । काठमाडौंका अन्य सडकमा जोडिएका सिसिटिभीसमेत सोही रुटमा सारिएको छ ।

सीको भ्रमणलाई लक्षित गरी उपत्यकामा एक हजार आठ सय प्रहरी थप गरिएको छ । सातै प्रदेशबाट थप मद्दतका लागि प्रहरी झिकाइएको हो । थप मद्दतका लागि झिकाइएका प्रहरी बिहीबारदेखि नै परिचालन गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले बताए । उनीहरूलाई सीको रुटमा खटाइनेछ । विमानस्थलदेखि सोल्टी होटेलसम्मको सडकमा ती सुरक्षाकर्मी खटिनेछन् ।
त्यस्तै, होटेलबाट शीतलनिवासमा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो गस्ती खटिनेछ । सीको भ्रमणका लागि जम्मा पाँच हजार प्रहरी खटाइएको छ । स्वतन्त्र तिब्बतसम्बन्धी प्रदर्शन गर्न सक्ने आशंकामा प्रहरीले तिब्बती शरणार्थीमाथि निगरानी बढाएको छ, केही पक्राउ परिसकेका छन् । बिहीबार साँझसम्म १२ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको काठमाडौं परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए ।
फर्पिङबाट ६, स्वयम्भूबाट चार र बौद्धबाट दुईजनालाई नियन्त्रणमा लिएको हो । ‘फ्री तिब्बत लेखेका झोला बोकेर हिँडेको अवस्थामा बौद्धबाट दुई महिला पक्राउ परेका छन्,’ डिएसपी बोगटीले भने, ‘विगतमा स्वतन्त्र तिब्बत गतिविधिमा लागेकालाई पनि सोधपुछका लागि नियन्त्रणका लिएका हौँ ।’ खासगरी भारतबाट आएका र कागजपत्र नभएका शरणार्थीमाथि निगरानी बढाइएको एक प्रहरी अधिकारीले बताए । चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमणका क्रममा चढ्ने गाडी चीनबाटै ल्याइएको छ ।
मंगलबार विशेष विमानमार्फत तीनवटा बुलेटप्रुफ गाडी काठमाडौं ल्याइएको छ । सी विदेश भ्रमणमा सामान्यतया आफ्नै गाडी चढ्छन् । शुक्रबार भारत जान लागेकामा त्यहाँ पनि चीनबाटै गाडी लगिएको छ । सुरक्षाका कारण उनले आफ्नै गाडी चढ्ने गरेका हुन् । उनीसँगै आउने अन्य चिनियाँ अधिकारीका लागि भने परराष्ट्र र रक्षा मन्त्रालयले गाडीको बन्दोबस्त गरिसकेको छ ।
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा मुख्य तीन सुरक्षा चुनौती रहेको केन्द्रीय सुरक्षा समितिको निष्कर्ष छ । पहिलो चुनौती नेपालमा बस्दै आएका तिब्बती शरणार्थी हुन् । भ्रमणका वेला उनीहरूले प्रदर्शन गर्न सक्ने भएकाले त्यो रोक्ने रणनीति सुरक्षा निकायहरूले बनाइरहेका छन् । जसअनुसार तिब्बती शरणार्थी बस्ने क्षेत्रमा सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरिसकिएको छ । शरणार्थीलाई केही समूहले उचालेको समेत सूचना प्राप्त भएको गृह मन्त्रालय स्रोत बताउँछ । नयाँ पत्रिका दैनिकबाट












