२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति



अ+ अ-

गोरखा। गोरखामा व्यावसायिक रूपमा लगाइएको चैतेधानमा मरुवा रोगको सङक्रमण देखिएको छ । मरुवा सङ्क्रमणले धानाका बाला लाग्न नसकेपछि उत्पदान नहुने चिन्तामा किसान छन् ।

गण्डकी प्रदेशको कृषि मन्त्रालयले पाइलट प्रोजेक्टका रुपमा सञ्चालन गरेको चैते धानमा मरुवाका कारण बाला लाग्न नसकेको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयका कृषिप्रसार अधिकृत विवेक पौडेलले मरुवाका कारण जिल्लाका गोरखा र पालुङटार नगरपालिका तथा सहिदलखन र भीमसेनथापा गाउँपालिकाका फाँटहरूमा करिब एक हजार १३० मेट्रिकटन धानखेतीमा क्षति भएको जानकारी दिनुभयो । लिची र काँक्राखेती गरेका किसानले वनि यस वर्ष क्षति बेहोर्न बाध्य छन् ।

कृषि विकास कार्यालयका अनुसार पाँच हजार रोपनीमा लगाइएको चैतेधान पूर्ण रूपमा नष्ट भएको छ । धान, लिची र काँक्राखेतीमा करोडौँको क्षति भएपछि यस वर्ष खाद्य सुरक्षामा सङ्कट आउनसक्ने कृषिप्रसार अधिकृत पौडेलले बताउनुभयो ।

“किसानको करिब रु तीन करोड ७५ लाख बराबरको धान नष्ट भएको छ”, पौडेलले भन्नुभयो, “अरु पालिकामा पनि अवस्था यस्तै छ । तर विशेषगरी गोरखा र पालुङ्टार नगरपालिकामा धेरै क्षति भएको छ ।” उहाँका अनुसार यो समस्या बर्खेधानमा पनि देखिन सक्ने सम्भावना अधिक छ ।

“बर्खेधानका बीउ र ब्याडमै मरुवा रोग देखिसक्यो त्यसैले अब धानमा पनि देखिने धेरै सम्भावना हुन्छ”, कृषिप्रसार अधिकृत पौडेलले भन्नुभयो, “यसले गर्दा गोरखामा खाद्य सुरक्षामा सङ्कट देखिन सक्ने सम्भावना छ ।”

यसैबीच, असिनापानी र हावाहुरीले फूल झारेपछि यस वर्ष पालुङटार नगरपालिकाका १९२ किसानले लगाएका सबै लिचीका बोटले फल दिन सकेनन् । तीमध्ये ३० प्रतिशत किसानका बोट नष्ट भएका नगरपालिकाका कृषि शाखा प्रमुख सङ्कल्प न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार पालुङटारका लिचीखेती गर्ने किसानले करिब रु सात करोडभन्दा बढीको क्षति व्यहोर्नुपरेको छ ।

पालुङटार–६, ७ र ८ मा व्यावसायिक रूपमा लिची उत्पादन हुने गरेको छ । यस्तै, वडा नं ४ र ५ मा पनि लिचीखेती विस्तार गरिएको नगरपालिकाले जनाएको छ । गत वर्ष पालुङटारका किसानले १५० हेक्टर क्षेत्रफलमा एक हजार ७१६ मेट्रिकटन लिची उत्पादन गरेका थिए । यस वर्ष ९० प्रतिशत उत्पादन घटेको कृषि शाखा प्रमुख न्यौपानेले बताउनुभयो । उहाँका अनुसार पालिकाका छ सय किसान प्रत्यक्ष, अप्रत्यक्ष रूपमा लिचीखेतीमा आबद्ध छन् भने नौ सय रोपनी क्षेत्रफलमा लिचीखेती गरिएको छ ।

यस वर्षको हावाहुरी र असिनापानीले गण्डकी गाउँपालिकामा व्यवसायिक रूपमा लगाइको काँक्रो तथा बेमौसमी तरकारीबाली पनि नष्ट भएका छन् । कृषि शाखा प्रमुख सपना थारुका अनुसार यस वर्ष यहाँ लगाइएका करिब पाँच लाख २१ हजार २६४ किलो लहरे प्रजातिका तरकारी हावाहुरी र असिनापानीले नष्ट पारेको छ । सोही कारणले रु ९४ लाख ५९ हजार बराबरको काँक्रा, लौका, फर्सी, करेलालगायत तरकारी नष्ट भएको उहाँले जानकारी दिनुभयो ।

क्षतिग्रस्त अन्नबाली, तरकारी बाली तथा फलफूल बालीको राहतबारे अहिलेसम्म कुनै निर्णय भएको छैन । कृषि विकास कार्यालयमा राहतका लागि रु २० लाख मात्र रहेकाले तत्काल के गर्ने भन्ने निर्णय नभएको सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिनुभयो । करोडौँको कृषि उपज क्षति भएकामा यो राहत रकम अपुग हुने उहाँको भनाइ छ । अत्यन्त न्यून रकम भएकाले राहत वितरण गर्न पनि नसकिएको भट्टराईले बताउनुभयो ।रासस