काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसंघको ७४औं महासभा बैठकमा सहभागी भई बुधबार राति स्वदेश फिर्ता भएका छन् । महासभा बैठकमा भाग लिने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलका नेतृत्व गरेका ज्ञवालीले जलवायु शिखर सम्मेलन, दिगो विकासका लक्ष्य, शिखर सम्मेलन, सबैका लागि स्वास्थ्य र विकासका लागि आर्थिक स्रोतको व्यवस्था विषयक बेग्लाबेग्लै बैठकमा भाग लिएका थिए ।
विश्वका १२३ भन्दा बढी राष्ट्र र सरकार प्रमुखहरू र अन्य देशबाट उपराष्ट्रपति, उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसमेत गरी १९२ देशबाट प्रतिनिधित्व भएको थियो । बैठकका क्रममा मन्त्री ज्ञवालीले विद्यमान अन्तरर्राष्ट्रिय व्यवस्था, जलवायु परिवर्तन, संयुक्त राष्ट्रसंघको सुधारमा द्वन्द्व तथा आतंकवाद जस्ता विषयमा विचार आदानप्रदान गरेका थिए ।

स्वदेश फर्केपछि उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अनौपचारिक मन्त्रिपरिषद्को बैठकमा सबै आठ देशले सार्कलाई गति दिन प्रतिबद्ध रहेको बताए । चीनका राष्ट्रपतिले निकट भविष्यमा नेपालको भ्रमण गर्ने सम्भावना रहेको भए पनि मिति भने निर्धारण भई नसकेको उनले बताए । मन्त्री ज्ञवालीलाई विमानस्थलमा परराष्ट्र सचिव शंकरदास वैरागीलगायतको एक टोलीले स्वागत गरेको थियो । राजधानी दैनिकबाट












