२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोनस सहित नेपाल टेलिकमको बुधबारदेखि २६ वटा ठूला र साना सहरमा फोरजी सेवा सुरु



अ+ अ-

काठमाडौँ । नेपाल टेलिकमले बुधबारदेखि देशका विभिन्न २६ वटा ठूला र साना सहरमा फोरजी सेवा सुरु गर्नेभएको छ । देशैभर फोरजी सेवा विस्तार गर्ने परियोजनाअन्तर्गत कम्पनीले पहिलो चरणमा बुधबारदेखि सेवा विस्तार गर्न लागेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । ‘परीक्षणका धेरै काम सफल भइसकेका छन्’ उनले भने, ‘अन्य कुनै प्राविधिक समस्या नआएमा बुधबारदेखि परीक्षण पूरा भएका ठाउँमा व्यावसायिक रूपमै फोरजी सेवा सुरु गर्छौं ।’

टेलिकमले महानगरसहित सबै प्रदेशलाई समेट्ने गरी फोरजी सेवा विस्तार गर्दै छ । मुख्य सहरअन्तर्गत दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौँडा, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढीलगायत सहरमा फोरजी सेवा सञ्चालनमा ल्याउने छ । त्यस्तै साना सहरअन्तर्गत रुकुम, बागलुङ, महोत्तरी, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, कैलाली, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत जिल्लाका सदरमुकाममा फोरजी सेवा सुरु हुने अधिकारीले जानकारी दिए ।

पहिलो चरणअन्तर्गत यी सहरमा फोरजी सेवा सुरु हुने भए पनि त्यसपछि लगातार नयाँ ठाउँमा परीक्षण र सेवा सञ्चालनको काम नियमित हुने उनले बताए । ‘हरेक घण्टामा एउटा नयाँ बीटीएस स्थापना भइरहेको हुन्छ’ उनले भने ‘बीटीएस स्थापना भएसँगै नयाँ ठाउँमा फोरजी परीक्षण र सेवा सञ्चालनको काम पनि नियमित हुन्छ ।’ टेलिकमले फोरजी सेवा सुरु गर्न लागेका ठाउँमा आफ्ना प्राविधिक खटाइसकेको छ । बुधबारसम्म पनि ड्राइभ टेस्टलगायतका काम भने जारी हुने छन् ।

फोरजीको परीक्षण सञ्चालन गर्दा अधिकतम २४५ एमबीसम्मको गतिमा इन्टरनेट चलेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए । सेवा सुरु हुन लागेका सबै ठाउँमा फोरजीका लागि आवश्यक यू सीमकार्डको पनि व्यवस्था भइसकेको कम्पनीले जनाएको छ । पुराना सिमकार्ड प्रयोगकर्ताले यस्तो सिमकार्ड निःशुल्क साटफेर गर्न सक्ने छन् । ग्राहकले ८४४४३ डायल गरेर फोरजी सेवा सुचारु गर्नसक्ने कम्पनीले जनाएको छ ।

टेलिकमले गत माघ २० गते देशैभर फोरजी विस्तार गर्ने परियोजनाका लागि अन्तिम सम्झौता गरेको थियो । उक्त सम्झौतामा एक वर्षभित्रमा लक्ष्यअनुसार फोरजी विस्तार गर्ने उल्लेख थियो । फोरजी विस्तारका लागि टेलिकमले करिब १९ अर्ब रुपियाँ लगानी गर्दै छ । टेलिकमले यो परियोजनाबाट ६५ लाख फोरजी ग्राहक थप गर्न सक्छ । हाल कम्पनीले काठमाडौँ उपत्यका र पोखरामा १८ सय मेगाहर्ज ब्यान्डमा प्रविधि तटस्थतामार्फत फोरजी सेवा उपलब्ध गराइरहेको छ । नेपालमै पहिलो पटक २०७३ साल पुस १७ गते फोरजी सेवा सुरु गरेको कम्पनीका यी दुईवटा सहरमा गरी अहिलेसम्म आठ लाख फोरजी ग्राहक छन् ।

कम्पनीले हाल आठ सय मेगाहर्ज ब्यान्डमा १० मेगाहर्ज फ्रिक्वेन्सीमार्फत नयाँ स्थानमा फोरजी विस्तार गरिरहेको हो । दुईवटै ब्यान्डमा रहेको २० मेगाहर्ज फ्रिक्वेन्सीलाई एकीकृत गरी फोरजी सेवा उपलब्ध गराइने प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिनुभयो । अर्थात् दुवै ब्यान्डमा फोरजी सेवा प्रयोग गर्न सक्ने सुविधा रहेका मोबाइल प्रयोगकर्ताले यसबाट लाभ लिन सक्ने छन् । फोरजी सेवा विस्तारबाट ग्राहकले भीओएलटीई सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

चाडपर्वमा टेलिकमको बोनस दशैँलाई लक्षित गरेर टेलिकमले रिचार्जमा ग्राहकलाई बोनस उपलब्ध गराउने भएको छ । कम्पनीले यही असोज १८ गतेदेखि २४ गतेसम्म रिचार्ज कार्ड अथवा एमपोसमार्फत रिचार्ज गर्दा यस्तो सुविधा उपलब्ध गराएको हो । रिचार्ज कार्डबाट दुई सय रुपियाँसम्म रिचार्ज गर्दा १० प्रतिशत र पाँच सयदेखि एक हजार रुपियाँसम्म रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध गराउने भएको छ ।

यस्तो बोनस क्रमशः तीन दिन र पाँच दिनभित्र प्रयोग गरिसक्नुपर्ने कम्पनीले जनाएको छ । त्यस्तै नयाँ फोरजी ग्राहकलाई दुई दिनको अवधिसम्म प्रयोग गर्न मिल्ने दुई सय एमबी डेटा बोनसका रूपमा उपलब्ध गराउने भएको छ । पोस्टपेड ग्राहकलाई निःशुल्क मिस्ड कल अलर्ट र प्रिपेड ग्राहकलाई छठसम्म सोही किसिमको सुविधा कम्पनीले उपलब्ध गराउने भएको छ । गोरखापत्र दैनिकबाट