काठमाडौं। महानगरपालिकाले दशैंमा भित्रिएका खसीबोकालगायत चौपायाको चेकजाँच शुरू गरेको छैन। गतवर्ष घटस्थापनाको दिनबाट स्वास्थ्य परीक्षण शुरू गरेको कामपाले यो वर्ष त्यति आवश्यक नभएको भन्दै स्वास्थ्य परीक्षण नगरेको हो। दशैंमा मात्र अनुगमन गर्ने परम्पराले गाँजेको महानगरपालिकाले अहिलेसम्म प्रतिफल आउन सक्ने गरी अनुगमन गर्नसकेको छैन।
महानगरका कृषि विभाग प्रमुख हरि भण्डारीले दशैंमा राजधानी भित्रिएका खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने विषयमा कुनै निर्णय भइनसकेको जानकारी दिँदै भने, ‘गतवर्ष घटस्थापनाको दिनबाट खसीबोका बिक्रीस्थलमा स्वास्थ्य परीक्षण डेक्स राखेर अनुगमन गरेको महानगरले यो वर्ष सुरसारसमेत गर्नसकेको छैन। तर फूलपातीको अघिल्लो दिनबाट स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको छ।’

महानगर पहिलो चरणमा खसीबोका बिक्रीस्थल अनुगमन गर्ने तथा स्वास्थ्य परीक्षण डेक्स राखेर चौपायाको परीक्षण गरी सिङमा हरियो र रातो रंग लगाउने तयारीमा छ। महानगरले रातो रंग लगाएको खसीबोका खान योग्य नभएको र हरियो रंग लगाएको चौपाया खान योग्य भएको प्रमाणित गरी बिक्रीवितरण गर्न खुला गर्ने गरेको थियो। शनिबार कृषि विभाग प्रमुख भण्डारीको नेतृत्वमा वाणिज्य, पशु चिकित्सक, उपभोक्ता हित संरक्षण मञ्चलगायतको टोलीले राजधानीको कलंकीस्थित खसीबोका बिक्री केन्द्रको अनुगमन गरेको थियो।
‘हिजो अनुगमन गर्यौं, फूलपातीको एक दिन अघिदेखि राजधानीको चौपाया बिक्री कक्षमा स्वास्थ्य परीक्षण गर्नेछौं।’ –उनले भने । दशैंमा मात्र मासुजन्य चौपायाको अनुगमन गर्ने कामपाले वर्षभरि कस्तो मासु नागरिकले खाइरहेका छन् भन्ने विषयमा गम्भीर बन्न नसकेको पशुचिकित्सक डा. अंजिरमान सिं डंगोलको आरोप छ। मासु खाँदा दर्जनौं रोगको शिकार बन्न सक्ने खतरा रहेको औंल्याउँदै उनले भने– ‘अब महानगरले नियमित अनुगमन र चौपायाको स्वास्थ्य परीक्षण गरी बिक्री गर्ने व्यवस्था गर्नुपर्छ।’
उनले रोग लागेको चौपायाको मासु खाँदा ब्रेनसिस्ट, इकोलाई, क्षयरोगजस्तो गम्भीर रोग लाग्न सक्ने बताउँदै यस्तो विषयमा सरकार गम्भीर हुनुपर्ने उल्लेख गरे । करिब ४० लाख जनसंख्या बस्ने महानगरमा हालसम्म एक जना पनि मासु निरीक्षक छैन। यद्यपि यो वर्ष बागबजारस्थित टुकुचा र कलंकी, कोटेश्वर, बालाजुलगायत स्थानमा स्वास्थ्य परीक्षणको तयारी गरिएको महानगरले जनाएको छ।
भोलि सोमबार अनुगमन समितिका प्रमुख एवं कामपा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजनमा विभिन्न मासु पसल, बधशाला र चौपाया बिक्री केन्द्रको अनुगमन गरिने भएको छ।अनुगमनमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण मञ्च, खाद्य अनुसन्धान तथा गुणस्तर नियन्त्रण विभाग, शहरी उपभोक्ता मञ्च, कन्जुमर आइ, जिल्ला प्रशासन कार्यालय र महानगर प्रहरीको टोली सहभागी हुनेछ।
दूषित मासु खाँदा झाडापखाला, इकोलाई, क्षयरोग, बु्रसेला, एन्थ्रास, जुका, आउँ रगतमासी, चर्मरोग, फुड प्वाइजन (वान्ता आउने, पातलो दिसा लाग्ने र खान मन नलाग्ने), छाला चिलाउने, फुस्रो हुने, घाउ खटिरा आउने र पाक्ने, ब्रेनसिस्ट, दमलगायतका रोग लाग्न सक्ने चिकित्सकले सल्लाह दिए पनि यसको बेवास्ता गर्दै महानगरपालिकाले खसीबोकालगायतका चौपायाको चेकजाँचमा कुनै तदारुकता देखाएको छैन।
अनुगमन समितिका संयोजक एवं कामपाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अब दशैंमा मात्र नभई सधैं अनुगमन गर्ने कार्ययोजना बनाइने बताए। उनले अबदेखि वर्षैभरि अनुगमन गर्ने गरी सबै सरोकारवालासँग छलफल गरेको तथा दशैं–तिहारमा मात्र नभई सधैं अनुगमन टोली खटिने बताए। नेपाल समाचारपत्र दैनिकबाट












