२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी गाडीको दुरुपयोग: सुविधाको गाडी पारिवारिक घुमघाम र किनमेलमै ठिक्क



अ+ अ-

काठमाडौं । सरकारी गाडीको दुरुपयोग रोक्न थुप्रै पटक अभियान सञ्चालन गरियो तर समस्या यथावत् नै छ । अझ उच्चपदस्थ सरकारी अधिकारीले पारिवारिक घुमघाम, किनमेल र घराशयी सामग्री ओसार–पसारमा सुविधाको गाडी प्रयोग गरी सरकारी गाडीको चरम दुरुपयोग गरेका छन् ।बिहीबार प्रधानमन्त्री कार्यालयदेखि विभिन्न मन्त्रालयका कर्मचारीले सरकारी गाडी लिएर सहुलियत पसलमा सामान किन्ने गरेको देखिएको छ ।

उनीहरू कार्यालय समयभित्र नै सरकारी गाडी लिएर सहुलियत पसलमा सामान किन्ने गरेको पाइएको हो । दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादबले तामझामका साथ सिंहदरबारस्थित बग्गीखाना नजिकै २३ भदौमा उद्घाटन गरेको सहुलियत पसलमा सर्वसाधारणभन्दा कर्मचारीको भीड बढी देखिएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनकी शर्मिला प्रधानले सहुलियत पसलमा सामान किन्न सर्वसाधारणभन्दा बढी कर्मचारी र गाडी भएका व्यक्ति धेरै आउने गरेको बताइन् । करिब ७० प्रतिशत सरकारी कर्मचारी, २५ प्रतिशत गाडी भएका र ५ प्रतिशत जति मात्र सर्वसाधारण सहुलियत पसलमा सामान किन्न आउने गरेको उनले बताइन् । ‘यहाँ आउने अधिकांशले चिनी र नुन किन्ने गरेको छन्’, उनले भनिन्, ‘सरकारी कर्मचारीले गाडी नै ल्याएर चिनी, नुन, तेल, गेडागुडी र चामललगायत खाद्यान्न सामग्री किनेर लग्ने गरेका छन् ।’

प्रधानका अनुसार, सर्वसाधारणलाई गाडीमा आउने जाने खर्च नै बढी पर्ने हुँदा उनीहरू कमै संख्यामा यहाँ आउने गरेका छन् । धेरै जसो सिंहदरबार वरिपरिका कर्मचारी नै बढी आउने गरेका छन् । साल्ट टे«डिङ कर्पोरेसनले सहुलियत पसलबाट दैनिक करिब ३ लाख रुपैयाँसम्मको कारोबार गर्ने गरेको उनले बताइन् । घटस्थापनापछि दैनिक करिब ५ लाख रुपैयाँसम्मको कारोबार हुने अनुमान उनको छ ।

दुग्ध विकास संस्थानले सहुलियत पसल सञ्चलानमा ल्याएदेखि बिहीबारसम्म ३ लाख ५० हजार रुपैयाँको कारोबार गरेको छ । सहुलियत पसलमा अधिकांशले घिउ खरिद गरेर लग्ने गरेकोे संस्थानले जनाएको छ । संस्थानका अनुसार सहुलियत पसलबाट अहिलेसम्म ३ लाख ७९ हजार ९५० रुपैयाँको घिउ बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दैनिक करिब ५०/६० हजारको कारोबार गर्ने गरेको जनाएको छ ।

कम्पनीका अनुसार गत वर्षभन्दा यो वर्ष व्यापार घटेको हो । गत वर्ष दैनिक करिब ८०/९० हजार रुपैयाँसम्म कारोबार हुने गरेकोमा यो वर्ष ५०/६० हजार रुपैयाँको मात्र कारोबार हुने गरेको कम्पनीले जनाएको छ । घटस्थापना पछि कारोबार बढ्ने कम्पनीको विश्वास छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्र्तगतका साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थान (डीडीसी)ले पसल सञ्चालन गरेर सहुलियतमा सामान उपलब्ध गराएका छन् ।

सहुलियत पसलमा प्रतिकिलोग्राम मोटा चामलमा पाँच, मसिनो चामलमा १०, चिनीमा पाँच, खसी बोकामा १० र नुनमा दुई रुपैयाँ छुट दिएको छ । डीडीसीले भने प्रतिकिलो घिउमा ५० रुपैयाँ र पनिरमा १० रुपैयाँ छुट दिएको बताइएको छ । सुपथ मूल्यका पसलमा अहिले प्रतिकेजी चिनी ७२, नुन १८, जापानिज चामल ६१, अरुवा जिरा मसिनो चामल ५०, सोना मन्सुली चामल ४२, बास्मती चामल ७३, गोरखनाथ चामल ४८ र इन्डक्सन चुलो ४ हजार रुपैयाँमा बिक्री भइरहेको छ ।

यस्तै, घिउको मूल्य प्रतिकेजी ८ सय ५० रुपैयाँ कायम गरिएको छ । यसैगरी, कर्णालीको सिमी प्रतिकेजी १ सय २० र फापर ७० रुपैयाँमा बिक्री भइरहेको छ । कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, भक्तपुर र ललितपुरमा सहुलियत पसल सञ्चालनमा रहेका छन् ।

यसैगरी, डीडीसीले उपत्यकामा लैनचौर, न्युरोड, खुमलटार र एकीकृत घुम्ती सेवामार्फत घिउ र पनिर बिक्री गर्ने भएको छ । यसैगरी, उपत्यकाबाहिर विराटनगर, जनकपुर, ढल्केवर, हैटौंडा, कोहलपुर, नेपालगन्ज, अत्तरिया, धनगढी र बुटवलमा गरी ११ ठाउँमा सुपथ मूल्यका पसल सञ्चालनमा छन् । राजधानी दैनिकबाट