८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनको सरकारले देशको संविधानको रक्षा गरेको छः मन्त्री कार्की



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान गठबन्धनको सरकारले देशको संविधानको रक्षा गरेको बताउनुभएको छ । 

सोमवार नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालले अघिल्लो वर्ष प्रतिनिधि सभा विघटन भएको पुष ५ गतेको दिनलाई कालो दिनको रुपमा स्मरण गर्दै आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कार्कीले वर्तमान गठबन्धनको सरकारले संविधानको रक्षा गरेको बताउनुभएको हो । राज्य संयन्त्रलाई कब्जा गरेर अधिनायकवाद ल्याउने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयत्नलाई विफल पार्दै मुलुको संविधान र राजनीतिक प्रणालीको रक्षा गरेको उहाँले बताउनुभयो । 

वर्तमान सरकार विधिको शासन, दिगो सुशासन, लोकतान्त्रिक अधिकार र अर्थिक विकासको बाटोमा अघि बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘पाँच दलको गठबन्धनले देशमा अहिले मुलुकको राजनीतिलाई एउटा ट्रयाकमा ल्याएको छ । जसरी राज्य संयन्त्रलाई कब्जा गरेर देशलाई अधिनायकवादको बाटो तर्फ उन्मुख गराउने ओलीको जुन प्रयत्न थियो, त्यो प्रयत्न विफल भएको छ । अहिले मुलुकमा संविधानको रक्षा भएको छ । हामिले निर्माण गरेको पद्धतीको रक्षा भएको छ । मुलुक शेरबहादुर देउवाको नेतृत्वमा अहिले विधिको शासन, दिगो सुशासन, लोकतान्त्रिक अधिकार र आर्थिक विकासको बाटोमा मुलुकलाई अहिले अग्रसर गराएको छ । र अबका दिनमा हामीले, हाम्रो पुस्ताले राजनीतिक पद्धतीका निमित्त संघर्ष गर्नु नपरोस् ।’

मन्त्री कार्कीले आन्तरिक एकतालाई सुदृढ गर्दै देशलाई समुद्धिको दिशातर्फ अगाडी बढाउनुपर्ने बताउनुभयो । संविधानलाई समयानुकुल परिवर्तन गर्दै  देशको राष्ट्रियता र सार्वभौमिकतालाई सुदृढ बनाउँदै नेपालीलाई सम्पन्न बनाउने दिशामा अघि बढ्न विलम्व गर्नु नहुने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘देशलाई अब समृद्धिको दिशातर्फ अगाडी बढाउनु पर्दछ । र त्यो दिशामा हामी सबैको इमान्दार र सार्थक प्रयत्न हुनुपर्छ भन्ने कुरा म यहाँहरुलाई यहाँहरु मार्फत मुलुकलाई निवेदन गर्न चाहान्छु । 

अब कुनैपनि नेपालीले पद्धतीका निमित्त लड्नु पर्दैन । हामीलाई संविधानले अधिकार दिएको छ । संविधान एउटा जिवन्त दस्तावेज हो । यसमा परिवर्तनको सधैँ गुञ्जायस रहन्छ । र हामीले समयानुकुल संविधानमा परिवर्तन गर्दै मुलुकको आन्तरिक एकतालाई सुदृढ गर्दै राष्ट्रियता, सार्वभौमिकतालाई सबल र सुदृढ बनाउदै नेपालीलाई सम्पन्न बनाउने दिशामा अब विलम्ब नगरिकन हामी अगाडी बढ्नुपर्ने अहिलेको आवश्यकता छ । यो आवश्यकतालाई महशुस गरेर अब त्यस दिशातर्फ देशलाई अग्रसर गराउनुको हामीसँग विकल्प छैन ।’

उहाँले देशलाई समृद्ध बनाउनको निम्ति सबैको इमान्दार र सार्थक प्रयत्न हुनुपर्नेमा जोड दिनुभयो ।