२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची खानेपानी आयोजना: ६ महिनामा पानी काठमाडौं झारे ठेकेदारलाई १०% बोनस



अ+ अ-

काठमाडौ । सरकारले मेलम्चीको पानी साढे ६ महिनामा काठमाडौंमा झारे ठेकेदार कम्पनीलाई १० प्रतिशत बोनस दिने गरी सम्झौता गर्दै छ । चाँडो पानी ल्याउन मेलम्ची खानेपानी विकास समितिले आयोजनाको हेडवक्र्स निर्माण र सुरुङ फिनिसिङको ठेक्का पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोसँग बोनस सम्झौता गर्न लागेको हो ।

सरकारी घोषणालाई पूरा गर्न समितिले ठेकेदार कम्पनीलाई बोनस दिने गरी सम्झौता गर्न लागेको आयोजना प्रमुख सूर्यराज कँडेलले बताए । चालू आर्थिक वर्षभित्र मेलम्चीको पानी काठमाडौंमा ल्याउने घोषणा सरकारको नीति तथा कार्यक्रममै छ । ‘चाँडोभन्दा चाँडो पानी काठमाडौं ल्याउन हामीले बोनससहितको सम्झौता गर्न लागेका हौँ,’ कँडेलले भने, ‘पानी ल्याउन सिनो हाइड्रोलाई १० महिना समय दिइएको छ । तर, साढे ६ महिनामा पानी ल्याए १०५ बोनस पाउँछ ।’

सिनो हाइड्रोले सुरुङ फिनिसिङको ठेक्का ७५ करोडमा लिएको हो । साढे ६ महिनामा पानी ल्याए यो ठेक्काबाट उसले १० प्रतिशत अर्थात् साढे सात करोड बोनस प्राप्त गर्नेछ । त्यस्तै, ९० करोडमा ठेक्का लिएको हेडवक्र्सको कामबाट नौ करोड बोनसबापत पाउने मेलम्ची खानेपानीले जनाएको छ ।

एक साताभित्रै सम्झौता
सिनो हाइड्रोसँग आयोजनाको ठेक्का सम्झौता एक साताभित्रै हुने समितिले जनाएको छ । ‘हामीले पानी ल्याउने र पूरै काम सक्ने गरी कामलाई दुई फेजमा बाँडेका छौँ,’ कँडेलले भने, ‘पानी ल्याउने कुरामा हेडवक्र्सले कुनै असर गर्दैन । पानी ल्याउने र हेडवक्र्सको काम पनि गरिरहने हो । सुरुङका केही काम पनि पछि गर्न मिल्छ ।’

समितिका अनुसार सुरुङ फिनिसिङको काम चार सय मिटर र ढलान गर्न आठ सय मिटर बाँकी रहेको समितिले जनाएको छ । हेडवक्र्सको काममा पानी डाइभर्ट गर्न मिल्ने स्ट्रक्चर बनेको र बाँकी पानी ल्याएपछि पनि गर्न मिल्नेछ । पाँच गेटमध्ये एउटा हालिसकिएको र एउटाको आधा काम भइसकेको छ ।

अब तीन गेट हाल्न बाँकी रहेको छ । विनाअवरोध काम भए साढे ६ महिनामा पानी ल्याउन असम्भव नभएको कँडेलले बताए । भुक्तानी माग गर्दै आन्दोलन गरिरहेका मजदुर र आपूर्तिकर्तासँग सम्झौता भइसकेकाले काममा अवरोध हुने सम्भावना पनि कम रहेको समितिले जनाएको छ ।

२४ करोडका आठ ठेक्का
सामान आपूर्तिका लागि करिब २४ करोडका ८ टेन्डर भइसकेका छन् । ‘आयोजना छोडेर हिँडेको इटालियन कम्पनी सिएमसीले अर्डर गरेका सामान आइसकेका छन्, हामी तिनै सामान प्रयोग गर्छौँ,’ कँडेलले भने, ‘भुक्तानी गर्न मात्रै बाँकी छ ।’ आयोजनाले दसैँअघि नै फिल्डमा काम सुरु भइसक्ने जनाएको छ ।

यांग्री र लार्कीको ठेक्का यसै वर्ष
यांग्री र लार्कीको पानी ल्याउन पनि यसै वर्ष टेन्डर हुने भएको छ । यो मेलम्ची आयोजनाकै दोस्रो चरणको काम हो । आयोजनाको लगानीकर्ता एसियाली विकास बैंकले मेलम्चीको पानी काठमाडौं नल्याई दोस्रो आयोजनामा लगानी नगर्ने सर्त राखेपछि यो वर्ष मेलम्चीको पानी ल्याउने र दोस्रो आयोजना अघि बढाउने समितिको तयारी छ ।

‘आवश्यक डिजाइनको काम भइसकेको छ । यही वर्ष टेन्डर हुने सम्भावना छ,’ कँडेलले भने, ‘दोस्रो आयोजनामा ११ किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ ।’ समितिका अनुसार दोस्रो आयोजनाको लागत करिब २५ अर्ब छ । समाचार नयाँ पत्रिका दैनिकबाट