९ असार २०८३, मंगलवार
,
Latest
महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलम्पिक चुनाव शनिबार : एउटै पार्टीको लडाइँ



अ+ अ-

काठमाडौँ — नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदै छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र एसियाली ओलम्पिक कमिटी (ओसीए) को प्रतिनिधि निर्वाचनका लागि आइसकेका छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई पनि औपचारिक जानकारी भइसकेको छ । अध्यक्ष जीवनराम श्रेष्ठले चुनावका लागि सबै तयारी पूरा भएको जनाए ।
अन्तर्राष्ट्रिय प्रतिनिधिका रूपमा ओसीएका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक विनोद तिवारी नेपाल आएका छन् । बिहीबार राखेप सदस्यसचिव रमेशकुमार सिलवालले ओलम्पिक चुनावबारे खेलकुदको सर्वोच्च निकायलाई जानकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । तर ओलम्पिकको अन्तर्राष्ट्रिय मान्यताअनुसार राखेपको स्वीकृति आवश्यक नभएको अध्यक्ष श्रेष्ठको दाबी छ ।
‘आईओसी र ओसीएका प्रतिनिधिको रोहबरमा चुनाव गराउने हो । सम्बन्धित देशको खेलकुद निकायलाई जानकारी गराउने प्रचलनअनुसार हामीले राखेपबाट पर्यवेक्षक पठाउन भनेका छौं,’ निर्वाचनमा पुनः अध्यक्षका प्रत्याशीसमेत रहेका श्रेष्ठले भने, ‘विधानअनुसार हामीले निर्वाचनपछि राखेपमा चुनावी प्रतिवेदन पेश गर्नेछौं ।’
सदस्यसचिव सिलवालले पनि राखेपलाई बिहीबार जानकारी आएको बताए । तर उनी पुष्पलाल स्मृति ब्याडमिन्टनको समापनका लागि शनिबार सुनसरी जाँदै छन् ।
भदौ २० गते हुनुपर्ने निर्वाचन सर्वोच्च अदालतमा रिट परेपछि शनिबारका लागि सारिएको हो । जीवनराम नेतृत्वको कमिटी अवैधानिक भएको दाबीसहित परेको रिटमा सर्वोच्चले भदौ २२ मा अन्तरिम आदेश दिन अस्वीकार गरी मुद्दा खारेज गरेपछि ओलम्पिक चुनावको बाटो खुलेको हो । चार वर्षअघि पनि विवादका कारण ओलम्पिक चुनाव निर्धारित मितिभन्दा एक महिना पर धकेलिएको थियो ।
ओलम्पिक चुनावमा यसपल्टको रस्साकस्सी रोचक देखिएको छ । चार वर्षअघिकै समीकरणका रूपमा अध्यक्षका लागि जीवनराम श्रेष्ठ र पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा छ । यसपल्ट महासचिवसहित प्यानल बनाएर चुनावी प्रतिस्पर्धा हुँदै छ । त्यो पनि एउटै पार्टीका छन् । दुवै सत्तारुढ दल नेकपा निकट हुन् ।
नेपाली ओलम्पिक इतिहासमै प्यानलसहितको चुनावी प्रतिस्पर्धा पहिलोपल्ट हुन लागेको हो । जीवनराम प्यानलबाट ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ महासचिवका प्रत्याशी छन् । उमेशलाल प्यानलबाट नेपाल कराँते महासंघका पूर्व अध्यक्ष पुरेन्द्रविक्रम लाखेले महासचिवमा उम्मेदवारी दिएका छन् । निलेन्द्र वर्तमान कमिटीका सदस्य र पुरेन्द्र उपाध्यक्ष हुन् ।
एसोसिएट सदस्यको मान्यता पाएका २७ खेल संघका प्रतिनिधिले ओलम्पिक चुनावमा मतदान गर्न पाउँछन् । अर्को रोचक पक्ष के रह्यो भने यसपालिको चुनावमा २७ मतदातामध्ये २६ जना उम्मेदवार बने । दुई कार्यकाल अध्यक्ष भइसकेका जिम्न्यास्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधानबाहेक सबै उम्मेदवार बनेका हुन् । तीमध्ये एथलेटिक्स संघबाट प्रतिनिधि बनेका राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना उपमहासचिव र भारोत्तोलन संघका अध्यक्ष रतन टण्डन कोषाध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका छन् ।
अध्यक्षमा २, ५ उपाध्यक्षका लागि ८, महासचिवका लागि २, ३ सचिवका लागि ४ जना र ७ सदस्यका लागि ८ जनाको उम्मेदवारी परेको छ । मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी संवैधानिक मर्मविपरीत उपाध्यक्षको प्रत्याशी छन् । त्यस्तै सचिव पदमा नेपाल उसु फेडेरेसनका अध्यक्ष तथा निवर्तमान सदस्यसचिव केशवकुमार विष्ट र नेपाल कबड्डी संघकी अध्यक्ष रहेकी संघीय सांसद तुलसा थापा सचिवको दौडमा छन् । उनी नेकपा उपाध्यक्ष वामदेव गौतमकी पत्नी पनि हुन् । खेल संघका पदाधिकारीका लागि आकर्षक मानिएको ओलम्पिकमा आफ्नो पदीय हैसियत बिर्सेरै होमिने गरेका छन् ।
अध्यक्षका दुवै उम्मेदवारले आ–आफ्नो तयारीलाई अन्तिम रुप दिन प्रयास गरिरहेका छन् । वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठले मतदातालाई प्रभावित पार्न राजनीतिक दबाब आएको संकेत गरेका छन् । उमेशलाल नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल र महिला नेतृ सहाना प्रधानका छोरा हुन् । राजनीतिमा सक्रिय नरहेका उनी प्रभावशाली उद्योगपति हुन् । दुईपल्ट राखेप सदस्यसचिव नियुक्त भइसकेका जीवनराम काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित नेकपाका सांसद हुन्।
तर फरक गुटको प्रतिनिधित्व गर्ने भएकाले पार्टीभित्रकै कोपभाजनमा ओलम्पिक चुनाव परेको छ । खेलकुदमन्त्री जगतबहादुर सुनार र राखेप सदस्यसचिव सिलवाल उमेशलालको पक्षमा मतदातालाई प्रभावित पार्न खुलेर लागेको आरोप लागेको छ । तर दुवैले यसको खण्डन गरेका छन् । पार्टीभित्र माधवकुमार नेपाल पक्षले जीवनरामलाई सहयोग गरेको छ भने प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको सदाशयता उमेशलालप्रति नै छ ।
निर्वाचन गराउन राखेपलाई जानकारी नदिएको भन्दै बिहीबार सदस्यसचिव सिलवालको अभिव्यक्ति अध्यक्ष जीवनरामलक्षित देखिन्थ्यो । चुनावको दुई दिनअघि उनले सार्वजनिक रुपमै ओलम्पिक कमिटीप्रति असन्तुष्टि व्यक्त गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ । वर्तमान उपाध्यक्ष तथा महासचिवका उम्मेदवार पुरेन्द्रविक्रम लाखेले आफ्नै कमिटीको निर्वाचनबारे राखेपलाई समयमै जानकारी नगराइएकोमा नेतृत्वको आलोचना गरे ।
‘मेरो उम्मेदवारी यही कारणले हो । निर्णायक अधिकारबिना मैले ओलम्पिक कमिटीमा १२ वर्ष बिताएँ,’ उमेशलाल प्यानलका लाखेले भने, ‘सामूहिक नेतृत्वको प्रणाली स्थापना गरीसबैलाई बराबर अधिकार र दायित्व प्रदान गर्ने तथा ओलम्पिकलाई पारदर्शिता र व्यावसायिकतासहितको परिवर्तन गर्नुआवश्यक छ ।’
अध्यक्षका प्रत्याशी जीवनरामले अध्यक्षमा निर्वाचित हुनुअघि दुई कार्यकाल महासचिवका रूपमा बिताएका थिए । नेपालको ओलम्पिक मुभमेन्टलाई सफल बनाउनका लागि आफूले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएको बताउँदै आएका छन् । अर्का प्रत्याशी उमेशलालले पनि पारदर्शिताको मुद्दा उठाएका छन् ।
ओलम्पिक कमिटी पारदर्शी नभएको र अध्यक्षको एकल निर्णयका आधारमा चल्ने गरेको भन्दै परिवर्तनको नारासहित उनी दोस्रोपल्ट अध्यक्ष उम्मेदवार बनेका हुन् ।

(कान्तिपुर दैनिकमा समाचार छ)