२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेंगु आतंक:सरकार के गर्दै छ ?, डराए सांसद



अ+ अ-

काठमाडौं । संघीय संसद्मा डेंगु रोगको प्रकोप तथा नियन्त्रणमा भएको प्रयासबारे एक हप्तादेखि लगातार आवाज उठे पनि सरकारले चासो नदेखाएपछि स्वास्थ्यमन्त्रीको राजीनामा माग भएको छ । प्रतिपक्षी तथा सत्तापक्षकै सांसदहरूले डेंगु रोगबारे संसद्को बहसलाई सरकारले बेवास्ता गरेको भन्दै तत्काल जवाफ दिन माग गरेपछि सभामुख कृष्णबहादुर महराले सरकार तथा स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा पनि सत्तापक्ष र विपक्षी सांसदले लगातार डेंगुकै विषयमा सरकारको धारणा माग गरेपछि सभामुख महराले तत्काल जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् । ‘डेंगुबारे माननीय सदस्यहरूले कुरा उठाउनुभएको छ । सरकार र स्वास्थ्यमन्त्रीलाई विशेष ध्यानाकर्षण गराउँछु । सदनलाई यथाशीघ्र जानकारी गराउन निर्देशन गर्दछु,’ सभामुख महराले भने ।

कांग्रेस सांसद सञ्जयकुमार गौतमले उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा माग गरे । डेंगुले मुलुक आतंकित भइरहेको, संसद्मा सत्तापक्षबाटै सरकारको विरोध हुँदा पनि स्वास्थ्यमन्त्री गम्भीर नबनेको भन्दै उनले राजीनामा माग गरेका हुन् । ‘सरकार कुम्भकर्णको निद्रामा सुतिरहेको छ ।

स्वास्थ्यमन्त्री कहाँ हुनुहुन्छ ? यतिवेला चुप लागेर बसेर हुन्छ ? सत्तापक्षकै सांसदले विरोध गरेर हुन्न । दुईतिहाइले निर्मूल नगरे कसले गर्छ ? स्वास्थ्यमन्त्रीको राजीनामाको माग गर्छु,’ सांसद गौतमले भने । कांग्रेस सांसद उमा रेग्मीले डेंगुको प्रकोप देशभरि फैलिएकाले यसविरुद्धको खोप अभियान चलाउन सरकारसँग माग गरिन् ।

सत्तापक्षकै सांसद सरकारविरुद्ध खनिए
डेंगु रोगको महामारी वा प्रकोप के हो भन्ने सरकारले स्पष्ट पार्नुपर्ने भन्दै सत्तारूढ नेकपाकै सांसद सरकारविरुद्ध खनिएका छन् । सांसदहरू कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गणेश पहाडी, जुलीकुमारी महतोलगायतले डेंगुको प्रकोपबारे सरकारको धारणा माग गरेका हुन् ।

‘डेंगु, डेंगु भनेर थाकियो । सरकार सुन्दैन । नेपालमा डेंगु आतंक छ नजानू र नेपालमा भएकाहरू पनि सचेत रहनू भनेर अमेरिकाले भनिसक्यो । योभन्दा लाजमर्दो के हुन्छ ?’ नेकपा सांसद कृष्णगोपाल श्रेष्ठले प्रश्न गरे । बहालवाला मन्त्रीदेखि चिकित्सकसम्मलाई डेंगु लाग्दासमेत सरकार चुप बसेकाले आफ्नो विरोध रहेको उनले बताए । सरकारको आधिकारिक धारणा माग गर्दै सांसद श्रेष्ठले भने, ‘कतिजना सांसद बिरामी भएपछि सरकारको ध्यान जाने हो ?’

नेकपाकै सांसद एवं पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले डेंगु प्रकोप वा महामारी के हो भन्ने सरकारले संसद्मार्फत स्पष्ट पार्नुपर्ने बताए । ‘महामारी हो भने हामी सबै जनचेतना जगाउन जान्छौँ । प्रकोप हो भने इपिडिमियोलोजी शाखा के हेरेर बसेको छ ? सरकार के गर्दै छ ?’ उनले प्रश्न गरे ।

संघीय संसद्मा एक हप्तादेखि सांसदहरूले लगातार डेंगु रोगको प्रकोप तथा नियन्त्रणका प्रयासबारे सरकारको धारणा माग गरिरहेका छन् । तर, संसद्का पछिल्ला बैठकमा उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव देखिएका छैनन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।