काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)ले सर्वोच्च अदालतको फैसला विपरित संसद अवरुद्ध पारिरहेको बताउनु भएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु अघि दलको ह्वीप नलाग्ने सर्वोच्च अदालतको फैसला विपरित गएर एमालेले संसद अवरुद्ध पार्ने काम गरिरहेको आरोप लगाउनु भएको हो । आईतबार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्च घोषणा सभामा बोल्दै उहाँले केपी ओली अदालतको सो फैसलालाई मान्य पक्षमा नरहेको दावी समेत गर्नु भयो ।
उहाँले सर्वोच्च अदालतको सो फैसलालाई अस्वीकार गर्दै संसद अवरुद्ध पारेर नेकपा एमालेले संविधानलाई नै चुनौति दिने काम गरेको तर्क समेत गर्नु भयो । अध्यक्ष नेपालले अदालतको फैसलालाई स्विकार नगर्नेले संविधानको ढाडस् दिँदै संसद अवरोध गर्नुको कुनै अर्थ नहुने दोहो¥याउनु भयो । उहाँले भन्नु भयो, ‘जुन व्यक्तिले विधि, विधानलाई मान्दैन । संविधानको प्रावधानलाई स्वीकार गर्दैन । कानुनी शासनको मान्यतालाई अंगिकार गर्दैन । अदालतको आदेशलाई स्वीकार गर्दैन । अदालतमा विचाराधिन मुद्धाहरुमाथि बहस गर्न पाईदैन । छलफल गर्न पाईदैन संसदमा । ती विषय संसदमा ल्याउन पाईदैन भन्ने मान्यतालाई कुल्चिन खोज्दछ ।
त्यही ठूल्ठूला स्वरले कराईरहेको, चिच्याईरहेको सुनिन्छ । नेपालीमा एउटा उखान छ–जो चोर उसैको ठूलो स्वर । त्यसो हुनाले तपाईलाई थाहा छ–हाम्रो पार्टीको निर्माण हुनुभन्दा पहिले नै सर्वोच्च अदालतमा हामीले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेका थियौं । त्यतिखेर जव हामीले उहाँको नाम अगाडि सारेका थियौं । सारिसकेपछि अदालतले फैसला गर्यो । त्यो फैसला के ग¥यो भने कि यस प्रक्रियामा संविधानको धारा ७६ को उपधारा ५ अन्तरगत गठन हुने नयाँ सरकार यस प्रक्रियामा कसैले सहभागी भयो भन्दैमा, विरोधको कुरा उठायो भन्दैमा वा फरक मत राख्यो भन्दैमा ह्वीप उलंघन लाग्दैन ।
ह्वीप उलंघन गरेको ठहरिदैन । अदालतले गरेको आदेशमा लेखिएको छ, त्यस्तो अवस्थामा ह्वीप लाग्दैन । अदालतको फैसलालाई सम्मान गर्नुपर्ने । कानुनी राज्यको मान्यतालाई स्वीकार गर्नेले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्नुपर्ने हुन्छ । तर केपी ओलीको यो गुट कसैले फैसलालाई मान्य पक्षमा छैन । जनताको जनादेशलाई पनि स्वीकार गर्दैन । जनताका निर्णयलाई पनि अंगीकार गर्दैन । जनतालाई उसले टेर्दैन । कानुनलाई वास्ता गर्दैन । संविधानलाई उसले चुनौति दिने काम गर्छ । संविधानलाई चुनौति दिएरै संविधान विपरितको कदम चालेको तपाईलाई थाहा छ ।’
अध्यक्ष नेपालले एमालेले अदालतमा विचाराधिन मुद्धालाई उठान गरेर संसद अवरुद्ध पार्न नपाउने पनि बताउनु भयो । आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको दावी गर्दै उहाँले विरोधीहरुमा छटपटाहट आएको बताउनु भयो ।












