२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ लाख बालबालिकालाई भिटामिन ‘ए’ अपुग हुने



अ+ अ-

काठमाडौं । यस वर्ष देशव्यापी रूपमा भिटामिन ए अभाव हुने भएको छ । भिटामिन खरिदमा टेन्डरसमेत पर्न छाडेपछि आठ लाख बालबालिका भिटामिन ‘ए’ खानबाट वञ्चित हुने स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । सरकारले आगामी कात्तिक र वैशाखमा ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाका लागि भिटामिन ए खुवाउँदै छ ।

पोषण शाखा प्रमुख केदार पराजुलीले कात्तिकमा जसोतसो व्यवस्थापन गरे पनि वैशाखमा अभाव हुन सक्ने बताए । उनका अनुसार भिटामिन ए खरिदमा टेन्डरसमेत पर्न छाडेको छ । यस वर्ष देशभर भिटामिन ए खाने बालबालिकाको संख्या २६ लाख रहेको छ । हाल सरकारसँग ३३ लाख क्याप्सुल भिटामिन ए मौज्दात छ । तर, विभिन्न जिल्लामा बट्टा नै पठाउनुपर्ने भएकाले अभाव हुने पराजुलीका भनाइ छ ।

देश संघीय संरचनामा गएसँगै स्वास्थ्य मन्त्रालयले सातवटै प्रदेशमा औषधि मौज्दात राखेको छ । यसले पनि व्यवस्थापनमा समस्या देखिएको हो । पराजुलीका अनुसार सुदूरपश्चिम प्रदेशमा भिटामिन ए केही बढी मौज्दात छ । सो प्रदेशले सापटी दिए केही मात्रामा ल्याउने उनले बताए । एक बट्टामा पाँच सय क्याप्सुल हुन्छ । यस अगाडि नखोली बट्टै वितरण गरिन्थ्यो । ‘यस वर्ष अभाव हुने भएपछि खोलेर क्याप्सुल वितरण गर्ने तयारी गरेका छौँ,’ पराजुलीले भने ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।