९ असार २०८३, मंगलवार
,
Latest
सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंका प्राचीन बस्तीको पुनःनिर्माणमा कोरियाले सहयोग गर्ने



अ+ अ-

काठमाडौं– काठमाडौँ उपत्यकाका प्राचीन बस्तीको पुनःनिर्माण र स्मार्ट सिटीको विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको छ । उपत्यकाका ऐतिहासिक महत्व बोकेका साँखु, बुङमती र खोकनामा परम्परागत बस्तीको पुनःनिर्माण तथा जोडिएका क्षेत्रमा स्मार्ट सिटी बनाउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, काठमाडौँ उपत्यका विकास प्राधिकरण र सियोल हाउजिङ एण्ड कम्युनिटी कर्पोरेशनबीच सियोलमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारीअनुसार पहिलो चरणमा सियोल हाउजिङ एण्ड कम्युनिटी कर्पोरेशनले प्राचीन बस्तीका रुपमा रहेको साँखु, बुङमती र खोकनाको मुख्य बस्ती र जोडिएका क्षेत्रको गुरुयोजना एवं विभिन्न योजनाको विस्तृत परियोजना प्रस्ताव तयार पार्नका लागि प्राविधिक सहयोग उपलब्ध गराउने प्राधिकरणले जनाएको छ । परियोजना प्रस्तावका आधारमा कोरिया सरकार तथा निजी क्षेत्रमार्फत लगानी परिचालन गरिने छ ।

यसैगरी कर्पोरेशनले स्मार्ट सिटी विकासका सन्दर्भमा पुनःनिर्माण प्राधिकरण र उपत्यका विकास प्राधिकरणको संस्थागत क्षमता विकासमा पनि सहयोग पु¥याउनेछ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उक्त समझदारी काठमाडौँ उपत्यकाका प्राचीन बस्तीको संरक्षण तथा नयाँ शहरको विकासका लागि कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।
कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत सी योङ किमले शहरी क्षेत्रको पुनःनिर्माण तथा स्मार्ट सिटीको विकासमा कोरियाले प्राप्त गरेको ज्ञान तथा अनुभव नेपाललाई बाँड्न पाउँदा खुशी लागेको बताए । समझदारीपत्रमा नेपालका तर्फबाट प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेल र कोरियाको तर्फबाट कार्यकारी निर्देशक इन गो काङले हस्ताक्षर गरे ।

कोरियाली हाउजिङ एण्ड कम्युनिटी कर्पोरेशन सियोल महानगरपालिकाअन्तर्गत सियोल क्षेत्रमा नयाँ शहरको विकास तथा आवासको निर्माणका लागि स्थापना गरिएको निकाय हो । यसअघि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विश्व पूर्वाधार सहयोग सम्मेलन (ग्लोबल इन्फ्रास्टक्चर कोअपरेसन कन्फेरेन्स) मा नेपालको पुनःनिर्माणको भावी कार्ययोजना र अन्तरराष्ट्रिय सहयोगको अवस्था सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव वान कि मुनले शहरी क्षेत्रको विकास तथा पूर्वाधार निर्माण गर्दा पर्यावरणीय संरक्षण र दिगो विकासका निम्ति सबै मुलुकका बीच सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।