२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको भ्रष्टाचारजन्य गतिविधिविरुद्ध कांग्रेसले भन्डाफोर गर्ने



अ+ अ-

काठमाडौं । राजनीतिक मुद्दा उठाउन नसकेको भन्दै कांग्रेस नेताहरूले नेतृत्वको आलोचना गरेका छन् । केन्द्रीय समिति बैठकमा बोल्दै नेताहरूले सरकारको कमजोर कार्यसम्पादन हुँदा पनि कांग्रेसले आफूलाई बदल्न नसकेको भनाइ राखे । आपसी गुटबन्दीले पार्टी प्राथमिकता अलमलमा परेको भन्दै उनीहरूले गुटगत राजनीतिबाट निस्केर तल्लो तहका कार्यकर्तालाई छुने गरी कार्यक्रम गर्न माग गरेका छन् । बैठकमा केन्द्रीय सदस्यहरू महेश आचार्य, प्रदीप गिरि, रमेश रिजाल, डा. मीनेन्द्र रिजाल, चन्द्र भण्डारी, गगन थापा, श्याम घिमिरे, डा. डिला संग्रौलासहितका नेता बोलेका थिए ।

बैठकमा कसले के भने ?

प्रजातन्त्रमाथि हमला हुँदा पनि बोलेनौँ :महेश आचार्य
सरकारले प्रतिपक्षी दलका नेतालाई बोलाएर प्रजातन्त्रमाथि हमला भएको भन्दै परिवर्तनकामी शक्ति एक ठाउँमा उभिनुपर्छ भन्ने छलफल गर्यो । लोकतन्त्रवादी शक्ति एक ठाउँमा उभिनुपर्छ भनेर प्रधानमन्त्रीले नै अपिल गर्नुभयो । तर, प्रधानमन्त्रीले यति ठूलो ठाउँ दिँदा हामीले यही विषयलाई किन एजेन्डा बनाउनमा चुक्यौँ ? दुईतिहाइ मतसहित दुई वर्षदेखि सरकारमा हुने लोकतन्त्रविरोधीले लोकतन्त्रलाई खतरामा पार्न सक्ने गरी को–कहाँ चुक्यो ? यसमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने विषयमा हामी किन आक्रामक भएर प्रस्तुत हुन सकेनौँ ? यसमा सभापतिले नै बोल्नुपर्छ । संक्रमणकालीन न्यायको विषयमा विदेशीको धेरै ठूलो चासो छ । सभापतिजी तपाईंले बोल्दा मात्रै पनि यसमा आकर्षण हुन्छ । अरूले बोलेर आकर्षण हुँदैन ।

देउवा र पौडेल मिलेर खानुस्, झगडा नगर्नुस् :प्रदीप गिरि
सभापति देउवाजी र नेता रामचन्द्र पौडेलजी तपाईंहरू झगडा नगर्नुस् । मलेसियामा महाथिर ९२ वर्षको उमेरमा प्रधानमन्त्री भए । तपाईंहरू पनि धेरै समय बाँच्नुहुन्छ । मिलेरै पार्टी सभापति र प्रधानमन्त्री भइरहनुहुन्छ । किनकि, तपाईंहरूले अरूलाई छोड्ने पनि होइन । अब जोतिषीलाई बोलाएर हेराएर हुन्छ कि के गरेर हुन्छ, आलोपालो खानुस्, तर झगडा नगर्नुस् ।

गुटले कांग्रेस उँभो लाग्दैन : रमेश रिजाल
कम्युनिस्टहरू हामीलाई पेलेर अगाडि बढ्दै छन् । हामी उल्टै आपसी दन्तबझान र गुटगत राजनीतिमा रुमलिँदा पार्टी उँभो लाग्दैन । न्यायालय, सेना, कर्मचारी, मिडिया सबैमाथि कम्युनिस्टहरूको कब्जा छ । यस्तोमा हामी नै विभाजित भइरह्यौँ भने यो सरकारले कम्बोडिया र पश्चिम बंगालमा जस्तो निर्वाचन गराउँछ ।

आफ्नै कमजोरीबाट सिकौँ : डा.मीनेन्द्र रिजाल
पार्टीभित्रको गुटबन्दी चरम अगाडि बढ्न थाल्यो । ध्रुवीकरणको राजनीति, चरम गुटबन्दीले हामी अगाडिका चुनौती सामना गर्न सक्दैनौँ । कम्युनिस्टको गल्तीका कारण हामीलाई अवसर छ भन्ने सोचेर हुँदैन । कम्युनिस्टको कमजोरीबाट हामीलाई अवसर छ भनेर चुपचाप बस्नुहुन्न । भुइँमा टेकेरै मात्रै कांग्रेसले अगाडिको बाटोलाई प्रभावकारी बनाउनुपर्छ, अघि बढ्नुपर्छ ।
युवाको ठाउँ कहाँ छ ? : गगन थापा
निर्वाचनमा हामीसँग मतदाता रिसाएर भोट नदिएका हुन् । निर्वाचनपछि सरकारसँग रिसाएकाहरू हामीसँग जोडिन सकेनन् । हामीसँग दूरी रहिरह्यो । हामी सरकारलाई काम गरेन भनेर देखाइरहेका छौँ । हामीले जितेका स्थानीय तहमा गर्न खोजेको हो ? हामी वैकल्पिक शक्ति हौँ भनेर हामीले गर्न खोजेको र चाहेको के हो रु भनेर जितेका स्थानीय तहमा किन अभ्यास गर्न सकेनौँ ? केही स्थानीय तहको कर बढी भयो भनेर विरोध गर्ने हामीहरू आफैँले जितेका ठाउँमा किन उदाहरणीय बन्न सकेनौँ ? म केन्द्रीय समितिमा कान्छो सदस्यमध्येमा छु । तर, आधाभन्दा बढी जनसंख्याको लागि म बुढो भइसकेँ ।

६० सालमा जन्मेकालाई आन्दोलनको मतलब छैन । १८ वर्षको उमेरकालाई अनुहार र मुद्दाले जोडेको छैन । आममान्छेसँग पार्टी अलग भयो । सरकारको आलोचना गरेर मात्रै हामीसँग भरोसा हुँदैन । नयाँ युवालाई आकर्षित गर्न नयाँ कार्यक्रम, नीतिगत अवधारणा अगाडि सार्नैपर्छ ।

संविधान संशोधन अभिशाप : श्यामकुमार घिमिरे
संविधान संशोधनको मुद्दालाई एजेन्डा बनाउने गल्ती नगरौँ । हामीले जोडदार उठाए पनि हामीले प्राथमिकता उठाएका भन्दा अरू विषयलाई बल पुग्छ । किनकि, हामीसँग एकतिहाइ मत पनि छैन । अहिले संसदीय प्रणालीका विरुद्धमा कुरा उठ्न थालेको छ । कतिलाई संघीयता नै मन परेको छैन । मधेस र हिन्दूको लागि हामी संशोधनमा जान खोज्ने हो भने संविधानको विरुद्धमा बल पुग्छ । अब आर्थिक मुद्दासँग नजोडिँदासम्म जनमतलाई प्रभावित गर्न सकिँदैन । गरिबका छोराछोरी खाडीमा, धनीका छोराछोरी युरोप र अमेरिका हुँदा काम गर्न सक्ने युवाशक्ति विदेशमा हुनु हाम्रो बिडम्बना हो । यस्तोमा युवा र आर्थिक मुद्दालाई आकर्षित गर्ने गरी केन्द्रित गरौँ ।

प्रतिपक्षी भूमिका प्रभावकारी बनाऔँ : डा. डिला संग्रौला
कांग्रेसले अब सरकारको भ्रष्टाचारजन्य गतिविधिविरुद्ध सातवटै प्रदेशमा भन्डाफोरमा जानुपर्छ । किनकि, हामीमाथि प्रतिपक्षीको भूमिका सशक्त नबनाएको आरोप छ । संघमा मात्रै होइन, प्रदेश र स्थानीय तह र पार्टी संगठनभित्रै पनि प्रतिपक्षीय भूमिकालाई प्रभावकारी बनाउनुपर्छ । छाया सरकार केन्द्रीय सरकारमा मात्र भएर हुँदैन । प्रदेश र स्थानीय तहसम्मै अभ्यास गरौँ ।

केन्द्रमा पनि छाया सरकारलाई प्रभावकारी बनाऔँ । स्थानीय तहको संयन्त्र प्रभावकारी बनाउनुको विकल्प छैन । यस्तै भद्रगोलले अर्को निर्वाचन कसरी जित्ने ? संगठन चलायमान बनाएर नेताहरूलाई व्यवस्थापन गर्नैपर्छ । अन्यथा नेताप्रति आकर्षण, पार्टीप्रति विकर्षणको अवस्था आउँछ । साथै, पार्टीलाई एकताबद्ध गरेर जनताको सम्पर्कमा जान ढिलाइ गर्नुहुन्न ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।