८ असार २०८३, सोमबार
,
Latest
रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोजिन निर्यात घट्यो



अ+ अ-

बाँके । रोजिन र टर्पेन्टाईन तेलको बजार भाउ घट्दै गएपछि यहाँ सञ्चालित रोजिन र टर्पेन्टाइन उद्योग सङ्कटमा परेका छन् । बजार भाउ घट्न थालेपछि र लागत खर्च बढ्न थालेपछि यहाँका आधा दर्जन उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । लागत बढ्न थालेपछि उद्योगमा ताला लगाउनुपर्ने अवस्था आएको सञ्चालक बताउँछन् ।

खर्च धान्नै मुस्किल भएपछि जिल्लामा पहिलो पटक २०५० सालमा स्थापना भएको खनाल रोजिन एण्ड टर्पेन्टाइन उद्योग बन्द गर्न लागेको सञ्चालक दिवाकर खनालले बताउनुभयो । “खर्च धान्न मुस्किल छ, तीन वर्षदेखि घाटामा चलिरहेको छ, घाटामा कति दिनसम्म चलाउनु ? अब बन्द गर्नुको विकल्प नै छैन”, सञ्चालक खनालले भन्नुभयो । एक हजार ५०० मेट्रिक टन रोजिन उत्पादन क्षमता रहेको उद्योगमा तीन सय बढि कामदार कार्यरत छन् ।

बचेको पुरानो कच्चा पदार्थको काम सकेपछि उद्योग पूर्णरुपमा बन्द गर्ने बताउँदै सञ्चालक खनालले उद्योग बन्द भएपछि कार्यरत कर्मचारीलाई बिदाइ गरिएको पत्र श्रम कार्यालयमा पठाइने बताउनुभयो । बाँकेमा खनालबाहेक, बङ्गलामुखी, मनकामना, गङ्गा, लक्ष्मी रोजिन उद्योग सञ्चालनमा छन् । लक्ष्मी धेरै पहिले बन्द भएर अरुले नै खरीद गरी सञ्चालनमा ल्याएका थिए । यी उद्योगमा झण्डै रु एक अर्ब लगानी रहेको छ ।

एउटा उद्योगमा न्यूनतम रु पाँच करोडदेखि अधिकतम रु २५ करोडसम्म लगानी भएको छ । हाल सञ्चालनमा रहेका सबै उद्योग करीब बन्द अवस्थामा रहेका खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुरानो कच्चा सामान सक्ने काम भइरहेको छ, अरु उद्योगले पनि नयाँ कच्चा पदार्थ ल्याउन छोडिसके, उद्योग बन्दकै अवस्थामा छ ।” रोजिन एण्ड टर्पेन्टाइन नेपालगञ्ज भञ्सार नाकाबाट निर्यात हुने प्रमुख वस्तुमा पर्छ ।

उद्योग बन्द हुने परिस्थिति बन्नुमा रोजिनप्रति स्वदेशमा अस्पष्ट नीति र रोजिनको प्रमुख बजार भारतमा तथा यसको मूल्य घट्नु हो । विभिन्न औषधि बनाउन प्रयोग हुने भएकाले भारतमा रोजिनको माग धेरै छ । तीन तहका सरकारलाई वितरण गर्ने गरी कच्चा पदार्थको रोयल्टी बुझाउनुपर्दा महँगो हुन गएको उद्योगी बताउँछन् । सरकारले सहुलियत नदिएपछि उद्योगमा ताल्चा लगाउनुपर्ने बाध्यता आएको उद्योगीको भनाइ छ ।

सञ्चालक खनालले भन्नुभयो, “रोयल्टी बढ्यो, कच्चा पदार्थ ल्याउन लैजान छुटपुर्जीका नाममा अनेक झण्झट हुन थाल्यो, बैंकको ब्याज बढ्यो, यहीबेला भारतमा भाउ घटेको छ, यसरी घाटा ब्यहोरेर उद्योग चलाउनै मुस्किल भएको छ ।” तीन वर्षअघि प्रतिकिलो रु ७२ सम्ममा बिक्री भइरहेको रोजिनको मूल्य त्यसयता रु ६० मा झरेको छ । उक्त मूल्यमा बिक्री गर्दा लागत नै नउठ्ने उद्योगीको भनाइ छ ।

रोजिनको कच्चा पदार्थ पहाडमा पाइने सल्लाको खोटो हो । सामुदायिक वनबाट उपलब्ध हुने त्यस्तो खोटो सङ्कलनबाट पहाडमा समेत थुप्रै रोजगारी सिर्जना भएको छ । रोजिन उद्योग बन्द हुँदा त्यहाँ कार्यरत झण्डै दुई हजार मजदूरको रोजगारी सङ्कटमा परेको छ । नेपालगञ्ज भन्सार नाकाबाट निर्यात हुने प्रमुख वस्तु रोजिनले चामल उद्योगकै हविगत ब्यहोरेको छ । नेपालगञ्ज नाका भएर कुनै बेला बङ्गलादेशसम्म चामल निर्यात गरिन्थ्यो ।

त्यसका लागि जिल्लामा दर्जनौँ चामल उद्योग चौबिसैँ घण्टा चल्थे । बदलिएको समयसँगै अहिले वार्षिक अर्बौंको चामल भारतबाट आयात भइरहेको छ । गत आर्थिक वर्षमा मात्र नेपालगञ्ज नाका हुँदै रु साढे छ अर्बको चामल आयात भएको थियो । लामो समय रोजिन उद्योगमा बिताउनुभएका खनालले सरकारको अस्पष्ट नीतिका कारण रोजिनजस्तै अन्य उत्पादनमूलक उद्योग बन्द भएका बताउनुभयो ।

भारततर्फ वार्षिकरुपमा रु ७५ करोडसम्मको रोजिन निर्यात हुँदै आएकामा दुई वर्षयता घटेर रु ५० करोडमा झरेको छ । आव २०७५/०७६ मा नेपालगञ्ज नाकाबाट रु ५० करोड ८५ लाख मूल्यको चार हजार ७६६ मेट्रिक टन रोजिन/खोटो निर्यात भएको थियो । सोही अवधिमा रु १६ करोडको तार्पिन तेल निर्यात भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

पछिल्ला वर्षमा रोजिनको निर्यात पनि घट्दै गएको देखिन्छ । त्यसअघि आव २०७४/०७५ मा रु ५४ करोड ९२ लाख मूल्यको चार हजार ७०० मेट्रिक टनकै हाराहारीमा निर्यात भएको थियो । आव २०७३/०७४ मा रु ७३ करोड र आर्थिक वर्ष २०७२/०७३ मा रु ७४ करोड मूल्य बराबरको रोजिन नेपालगञ्ज नाकाबाट भारततर्फ निर्यात भएको भन्सार कार्यालयको तथ्याङ्क छ ।