
काठमाडौं । गत साताको अन्तिम कारोबार दिनदेखि निरन्तर ओरालो लागेको नेप्से, मंगलबार बढेको छ । यस दिन नेप्से शून्य दशमलव ४१ प्रतिशत बढेर बन्द भएको छ । नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा ३५ प्रतिशत घटेको छ । नेप्सेको सुस्त गतिका कारण लगानीकर्ता निराश भइसकेका छन् । अधिकांश लगानीकर्ताले ‘पर्ख र हेर’को रणनीति अपनाएपछि यस दिनको कारोबार रकममा कमी आएको एक ब्रोकरले बताए । कम्पनीहरूले लाभांश घोषणा गरिरहेका छन् । यसले बजारलाई सकारात्मक दिशा दिने अपेक्षा लगानीकर्ताले गरेका छन् । पुँजीगत लाभकर विवाद नसुल्झिएका कारण लगानीकर्ता निराश भएका थिए । तर, कम्पनीहरूले गत आवको मुनाफाबाट लाभांश घोषणा गर्न थालेपछि लगानीकर्ताको मनोबल बढेको देखिन्छ । तैपनि, बजारले कुन दिशा लिन्छ भन्ने अन्योलका कारण लगानीकर्ता केही समयका लागि निष्क्रिय भएको एक लगानीकर्ताले बताए ।
बजार सारांश
नेप्से परिसूचक मंगलबार ४ दशमलव ८७ अंक बढेर १ हजार २ सय ८ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव शून्य ३ अंक बढेर २ सय ६३ दशमलव ३९ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ३८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ३४ अंक बढेको छ । यस दिन १ सय ६७ कम्पनीको ५ हजार २ सय ८२ पटकको कारोबारमा २४ करोड ४६ लाख ६८ हजार २ सय ९ रुपैयाँबराबरको ८ लाख ५० हजार ३ सय ८६ कित्ता सेयर खरिद–बिक्री भएको छ ।
प्राविधिक विश्लेषण
आरएसआई स् नेप्सेको १४ दिने आरएसआई यस दिन ३१ दशमलव ११ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ ।
एडी रेसियो स् नेप्सेको एडी रेसियो यस दिन २ दशमलव ७१ रहेको छ । यसले बजार बुलिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ६७ कम्पनीमध्ये १ सय ३ कम्पनीको सेयरमूल्य बढेको छ भने ३८ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २६ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । यस दिनको पिभट विश्लेषण गर्दा बुधबार नेप्से ओरालो लागे १ हजार २ सय ३ दशमलव ३१ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने उकालो लागे १ हजार २ सय १२ दशमलव ४९ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । त्यसैगरी, नेप्सेले १ हजार १ सय ९८ दशमलव ६३ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । पहिलो प्रतिरोध बिन्दु तोडेर उकालो लागे नेप्सेले १ हजार २ सय १६ दशमलव ९९ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । यस दिन नेप्सेको पिभट बिन्दु १ हजार २ सय ७ दशमलव ८१ रहेको छ ।
२ कम्पनीको सेयरमूल्यमा सर्किट
यस दिन कारोबारमा आएका २ कम्पनीहरूको सेयरमूल्यमा सर्किट लागेको छ । यस दिन सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट हो । सबैकोको सेयरमूल्य यस दिन ३३ रुपैयाँ बढेर ३ सय ६५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने आँधीखोलाको २७ रुपैयाँ बढेर ३ सय रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कारोबारमा आएको प्रोग्रेसिभ फाइनान्सको सेयरमूल्य यस दिन ८ दशमलव २५ प्रतिशत र सिन्धु विकास बैंकको ६ दशमलव २५ प्रतिशत बढेको छ । अन्य कम्पनीहरूको सेयरमूल्य वृद्धिदर ६ प्रतिशतभन्दा कम रहेको छ । सिटी एक्सप्रेस फाइनान्स लिमिटेडको सेयरमूल्य यस दिन सर्वाधिक ६ दशमलव ८९ प्रतिशत घटेर १ सय ८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । अरुण काबेली पावर, एक्सेल डेभलपमेन्ट बैंक, युनियन हाइड्रोपावर र सिटिजन्स म्युचुअल फन्ड १ को सेयरमूल्य यस दिन ३ प्रतिशतभन्दा बढी घटेको छ ।
एनआइसी एसियाको सर्वाधिक कारोबार
कारोबार रकम र सेयर संख्याका आधारमा यस दिन एनआइसी एसिया बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन १ सय ६७ पटकको कारोबारमा २ करोड ३६ लाख २८ हजार रुपैयाँबराबरको ५२ हजार ७ सय १ कित्ता सेयर खरिद–बिक्री भएको छ । नेपाल बैंक र प्रभु बैंकको कारोबार रकम यस दिन १ करोड नाघेको छ । कारोबार संख्याका आधारमा यस दिन पनि सान्जेन जलविद्युत् कम्पनी र रसुवागढी हाइड्रोपावर क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् । सान्जेनको यस दिन ५ सय ५८ पटक र रसुवागढीको ५ सय ४७ पटक सेयर कारोबार भएको छ ।
८ समूहको परिसूचक बढ्योे
यस दिन कारोबारमा आएका ११ समूहमध्ये ८ समूहको परिसूचक बढेको छ भने २ समूहको परिसूचक घटेको छ । बाँकी १ समूहको परिसूचक यस दिन स्थिर रहेको छ । वित्त समूहको परिसूचक यस दिन शून्य दशमलव ८९ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ७९ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ६६ प्रतिशत र वाणिज्य बैंक समूहको शून्य दशमलव ४८ प्रतिशत बढेको छ । त्यसैगरी, उत्पादनमूलक समूहको परिसूचक यस दिन शून्य दशमलव ४५ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव २९ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव २७ प्रतिशत र अन्य समूहको शून्य दशमलव २ प्रतिशत बढेको छ । होटेल समूहको परिसूचक यस दिन शून्य दशमलव ४४ प्रतिशत र निर्जीवन बिमा समूहको शून्य दशमलव २७ प्रतिशत घटेको छ । म्युचुअल फन्ड समूहको परिसूचक यस दिन स्थिर रहेको छ ।
सूर्योदयको लाभांश
सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले ४६ दशमलव ८१८७४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । भदौ ७ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट कुल चुक्ता पुँजीको ४४ दशमलव ४७७८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि २ दशमलव ३४०९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १० करोड ७९ लाख १९ हजार रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भएपश्चात् सो लाभांश वितरण गरिनेछ ।
सिर्जनाको बुक क्लोज
सिर्जना फाइनान्स वित्तीय संस्था लिमिटेडले भदौ २० गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले १० बराबर ६ अनुपातमा हकप्रद निष्कासन प्रयोजनका लागि सो दिन बुक क्लोज गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यका २७ लाख ६४ हजार ६ सय ९२ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।












