२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजीको दबाबले अड्कियो शिक्षा नीति



अ+ अ-

काठमाडौँ । निजी स्कुलको लगानीबारे मन्त्रीहरूबीच मत नमिल्दा ‘राष्ट्रिय शिक्षा नीति’ पारित हुनबाट रोकिएको छ । निजी विद्यालय सञ्चालकहरूले आफूअनुकूल प्रावधान राख्न दबाब दिएपछि नीति मन्त्रिपरिषद्मा अडकिएको हो ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ५ महिनाअघि नीतिको मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषद् लगेका थिए । मन्त्रिपरिषदको सामाजिक समितिमा भएको छलफलमा समेत नीतिबारे टुंगो लाग्न सकेन । शिक्षा मन्त्रालयले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवदेनको मर्मअनुसार नीतिको मस्यौदा तयार गरेको थियो ।

मस्यौदामा कम्पनी ऐनअन्तर्गत दर्ता भएर चलेका निजी विद्यालयलाई १० वर्षभित्र गैरनाफामुखी संस्थाका रूपमा रूपान्तरण गर्ने उल्लेख छ । मस्यौदामा कम्पनी, सहकारी र गुठी मोडलमा चलेका स्कुललाई एउटै ढाँचामा ल्याएर गैरनाफामूलक बनाउने उल्लेख छ । उक्त प्रावधान राख्ने कि हटाउने भन्नेबारे मन्त्रिपरिषद्मा सहमति जुट्न नसकेको हो । मन्त्रालयको मस्यौदामा प्रधानमन्त्री केपी ओलीले नै हस्तक्षेप गरेका कारण शिक्षा नीति टुंगो लाग्न नसकेको स्रोतको दाबी छ ।

आयोगको सुझाबप्रति निजी शिक्षण संस्था सञ्चालकहरू पनि रुष्ट छन् । निजी विद्यालयका सवालमा पनि आयोगकै सुझावअनुरूप मस्यौदा तयार पारिएकाले प्रधानमन्त्रीले प्रावधान हेरफेर गर्न दबाब दिएको शिक्षा मन्त्रालयका अधिकारीले बताए । नीति टुंगो नलाग्दा मस्यौदा तयार भइसकेको संघीय शिक्षा ऐन पनि रोकिएको छ । प्रधानमन्त्रीले गत माघमै प्राप्त आयोगको प्रतिवदेन सार्वजनिक गर्न रोकेका छन् ।

मन्त्रीहरू शिक्षा नीतिका विषयमा विभाजित बनेपछि छलफल गरी टुंगो लगाउन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, शिक्षामन्त्री पोखरेल, कानुनमन्त्री भानुभक्त ढकाल, श्रममन्त्री गोकर्ण विष्ट र सञ्चारमन्त्री गोकुल बाँस्कोटा सम्मिलित समिति बनेको छ । समितिले बुधबार नीतिबारे थप छलफल गरेर अन्तिम रूप दिने तय गरेको छ । आयोगका सदस्यहरू भने सत्तारूढ दलभित्रै शिक्षाका सवालमा एउटै बुझाइ नभएकाले ऐन र नीतिमा ढिलाइ भएको तर्क गर्छन् । आयोग सदस्य तथा शिक्षाविद् विद्यानाथ कोइरालाले आयोगको प्रतिवेदनसमेत लुकाएर राखिनुको कारण पनि यही भएको दाबी गरे ।

स्रोतका अनुसार नीतिबाट ‘निजी विद्यालयलाई गैरनाफामुखी गर्ने’ शब्द हटाउन मन्त्रीहरूबीच लगभग सहमति भइसकेको छ । कम्पनी, सहकारी र गुठीमा चलेका स्कुलहरूलाई एउटै ढाँचामा ल्याउने प्रावधान पनि नीतिबाट हटाउन लागिएको छ । १० वर्षभित्र गैरनाफामूलक सामाजिक संस्था बनाउने व्यवस्था हटाएर ‘सेवामूलक सामाजिक संस्थाका रूपमा रूपान्तरण गर्ने’ भन्ने वाक्य मात्रै राख्न लागिएको छ ।

संविधानले शिक्षालाई मौलिक हकका रूपमा राखेको छ । निजी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कसरी निःशुल्क शिक्षा उपलब्ध गराउने भन्नेमा पनि मन्त्रिपरिषद्मा सहमति जुट्न सकेको छैन । निजी विद्यालय सञ्चालकले अनिवार्य तथा निःशुल्क शिक्षा ऐनको प्रावधानअनुसार सामुदायिक विद्यालयको दाँजोमा प्रतिविद्यार्थी खर्च सरकारले बेहोर्नुपर्ने तर्क गर्दै आएका छन् । आफ्नै आयोगले गरेको सिफारिसविपरीत शिक्षा नीति ल्याउन खोजेको भन्दै शिक्षामन्त्री पोखरेलको आलोचना हुन थालेको छ ।

संविधानले माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई दिएको छ । शिक्षकहरू भने आफूलाई केन्द्र सरकार मातहत राख्न चाहन्छन् । यसबारे पनि मन्त्रीहरू एकमत हुन सकेका छैनन् । मन्त्रालयले शिक्षकलाई प्रदेश मातहत खटनपटन गराउने गरी मस्यौदा तयार पारेको थियो ।

मन्त्रालयले शिक्षक महासंघसँग पनि शिक्षकलाई स्थानीय तह मातहत नराख्ने आशयको सहमति गरिसकेको छ । यसमा स्थानीय तहका जनप्रतिनिधिले विरोध गर्दै आएका छन् । मन्त्रीहरूबीच पनि शिक्षकलाई संघ, प्रदेश र स्थानीयमध्ये कुन सरकार मातहत राख्ने भन्नेमा बेमेल देखिएको छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।