२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाटैमा छोप्न आउँछन् बिचौलिया



अ+ अ-

भद्रपुर । आइतबार बिहान १० बज्न १० मिनेट बाँकी छँदै नापी कार्यालय झापामा चहलपहल बढ्न थाल्यो। लाग्थ्यो, सेवाग्राही बिहानैदेखि कार्यालयमा आए र कर्मचारी पनि सेवा दिइरहेका छन्।

उनीहरू न सेवाग्राही थिए न त कर्मचारी। उनीहरू त बिचौलिया रहेछन्। घडीमा १० बज्यो। केही सेवाग्राही कार्यालयमा छिर्दै थिए। बिचौलियामध्येका एकले ‘ओहो तपाई कहाँबाट यहाँ ? यहाँ हामी छौं नि, तपाईंलाई के दुःख ?’ भन्दै हात मिलाउन थाले। सेवाग्राही अलमलमा परे।

सेवाग्राही बिर्तामोड नगरपालिका–५ का सन्दीप खातुनले भने, ‘मैले तपाईलाई चिनेकै छैन।’ उनी तर्कंदै थिए। तर ती बिचौलियाले चिया खाने बहानामा कार्यालयपछाडिको क्यान्टिनमा लगेर आफ्नो काम हातमा लिए।

खातुन पाँच वर्ष दुबईमा बसेर आएका रहेछन्। विदेश नजाने भएपछि जग्गा बैंकमा धितो राख्ने प्रक्रियाका लागि नापीमा आएको उनले बताए। उनले भने, ‘मलाई यस्तै पैसा खान बसेका हुन्छन् भन्ने पनि थाहा थियो तर आज आफैं परियो। काम छिटो हुने लोभमा ३ हजार खर्च गरियो।’

१०ः४५ बज्दा कार्यालयका ३५ कर्मचारीमध्ये ४० प्रतिशतको मात्र उपस्थिति थियो। ‘एघार बजेसम्म सबै आउनुहुन्छ। यस्तै हो कसैको घर टाढा छ आउँदाआउँदै ढिला हुन्छ नि’, कर्मचारी सुरेश ठकुरीले भने।

कार्यालय भवन जीर्ण छ। गेट र पर्खाल छैन। पानीको एउटा जार राखिएको थियो, तर पानी थिएन। कार्यालयका भित्ताभरि पान खाएर थुकिएको छ। सेवाग्राहीलाई बस्नका लागि तीन वटा कुर्सीबाहेक केही छैन। कार्यालयका फाँटमा भन्दा चिया पसलमा चहलपहल देखिन्छ।

हैरान पार्छन् बिचौलियाले

बनियानीबाट कल्पना राई काखमा तीन महिनाको नानी बोकेर आएकी थिइन्। पैसा आवश्यक परेकाले २ कठ्ठा जग्गा बैंकमा धितो राखेर व्यापार गर्न खोजेकी रहिछन्। त्यसका लागि उनलाई नक्सा चाहिएको थियो। उनी गाडीबाट झरेर कार्यालयसम्म आइपुग्दा करिब ६/७ जना बिचौलियामध्ये कसैले झोला, कसैले नानी समातिदिएका थिए। कामको जिम्मा कसले लिने भन्ने टुंगो पनि बिचौलियाले लगाए। त्यसबापत राईले दुई हजार तिरिन्।

‘आफैंले काम फत्ते गर्नु भनेको ठूलो उपलब्धि हो’, ज्यामीरगढीका एक युवकले भने। राजस्व तिर्ने ठाउँमा तीन घण्टा लाइनमा बसेका उनले भने, ‘लाइन पनि ठूलो छैन। तर बीचबीचमा ‘एकैछिन है सानो गल्ती सच्याउने हो’ वा ‘खुद्रा पैसा लिन बिर्सेछ’ भन्दै बिचौलिया छिरेर सेवाग्राहीलाई अलमल्याइदिन्छन्।’

मध्याह्न १२ बजे मादक पदार्थ सेवन गरेका २ बिचौलिया कार्यालयमा छिरे। म पनि कामको बहानामा नक्सा फाँटको लाइनमै थिएँ। मैले भनें, ‘आँखा देख्नुहुन्न ? यत्रो लाइन छ।’ दुईमध्येका एक बिचौलियाले भने, ‘हाम्रो सानो काम छुटेछ के बैनी’ भन्दै दुवै भित्र छिरे। ‘ल त सर भरे चोकमा भेट्नुपर्छ है,’ भनेर फाइल टेबलमा राखिदिएर उनीहरु मुसुमुुुसु हाँस्दै निस्किए।

बिचौलिया नसमाए काम बन्दैन

दिउँसो १ बजे। ३५ डिग्रीको उखरमाउलो गर्मी र भीडले गर्दा सेवाग्राही उकुसमुकुसमा थिए। त्यसमाथि बीचबीचमा अनेक बहाना लिएर छिर्नेबिचौलियाले गर्दा सेवाग्राहीमा चिडचिडाहट बढ्दो थियो। एकजना कित्ताकाट गर्न आएका अधबैंसे उमेरका लक्ष्मण राजवंशी बिहान १० बजे नापी कार्यालय आइपुगेको बताउँछन्।

‘म आउँदा पनि यिनीहरू नै अगाडि थिए। अहिले पनि यिनै मान्छेहरू घुमिराखेको देख्छु। हामी आफै काम गर्छौं भन्नेको केही पार लाग्ने रहेनछ,’ उनले भने, ‘अमिन लगेर जग्गा कित्ताकाट गर्न लगाउनुपर्ने थियो। यहाँ कागजपत्र पेस गर्दै लिन आनाकानी मान्ने। पैसा लिन पाइँदैन भन्ने कुरा कर्मचारीले पहिलै बुझ्छन् जस्तो लाग्छ। हामी सीधै लाइनमा बस्नेलाई अनेक बहाना बाजी हुन्छ बिचौलियाको काम छिनभरमा भएको देखिन्छ।’

बिर्ताबजारबाट जग्गा मूल्यांकन गर्न आएकी शर्मिला चेम्जोङ भन्छिन्, ‘पुरानो नक्सामा जग्गा नापेको मिलेनछ। त्यही सच्याउन आएकी।’

उनका अनुसार नयाँ नक्सा बनाउँदा अर्काको दुई कठ्ठा जग्गा आपूmतिर आएको छ। ‘पहिलाको जग्गा पनि अमिन लगेरै नापेको हो। अब फेरि एक लाख रुपैयाँ लाग्छ भन्छन्।’ ३ बज्नै लाग्दा कार्यालय सुनसान हुँदै थियो। त्यत्तिकैमा भीआईपी गाडीमा एकजना मान्छे आए। ती सेवाग्राही काठमाडौंबाट आएका रहेछन्। गाडी रोकिनेबित्तिकै बिचौलियाले घेरिहाले।

अवस्था सुधार्छु : प्रमुख

नापी कार्यालयका प्रमुख डिल्लीराज भण्डारी बिचौलियाको आफ्नो कार्र्यालयमा केही काम नभएको बताउँछन्। आफु आउँदा लथालिंग रहेको कार्यालय व्यवस्थित हुँदै गएको उनको दाबी छ। ‘एक वर्ष अगाडिसम्म यहाँ सीसीटीभी राख्छु भन्दा बिचौलिया मैमायिथ जाइलाग्न खोजे। तर पनि मैले कार्यालयमा सीसीटीभी राखेरै छोडें।’

जीर्ण भवनको अवस्थाले पनि आपूmले सोचेजस्तो कार्यालय बनाउन नसकेको भण्डारीले स्वीकारे। ‘म हरेक दिन बिहान पौने दसमा कार्यालय आउँछु। मेरो अगाडि बिचौलिया देखिँदैनन्। म कार्यकक्षमा बसेपछि उनीहरुको चलखेल सुरु हुन्छ भन्ने सुन्छु। कर्मचारी र बिचौलियाको सम्पर्क भइराख्छ।’ नापी कार्यालयलाई प्रदेशकै उत्कृष्ट बनाउने दाबी उनले गरेको समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।