२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मधेसको असन्तुष्टि सम्बोधन होस्’



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संविधानमा मधेसको असन्तुष्टि सम्बोधन गर्न मुख्य दलको ध्यानाकर्षण गराएका छन्। कांग्रेस र तत्कालीन एमालेका नेताले मधेसका असन्तुष्टि सम्बोधन गर्ने भनेर वाचा गरेको उनले स्मरण गराए। संविधान पूर्ण रूपमा लागू होस् भन्ने आफ्नो चाहना रहेको डा. यादवको भनाइ छ। ‘त्यति खेर मधेसमा असन्तुष्टि थियो। संविधानको खुसियालीमा मधेसमा पनि बत्ती बलोस् भन्ने म चाहन्थें’, समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहको किताब ‘संविधान निर्माणः घटना र अनूभूति’ लोकार्पणपछि उनले भने, ‘असन्तुष्टिबीच मधेसका दलले निर्वाचनमा भाग लिए। म यसमा खुसी छु।’ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका समस्या पनि समाधान गर्न डा. यादवले दलको ध्यानाकर्षण गराएका छन्।

डा. यादव संविधान जारी गर्दाताका राष्ट्रपति थिए। पहिलो संविधानसभा भंग होस् भनेर अदृश्य शक्तिले दबाब दिएको स्मरण पनि गरे। ‘सुरुदेखि अदृश्य शक्तिहरू संविधानसभा भंग होस् भन्ने चाहन्थे’, उनले भने, ‘पार्टी पनि संविधान निर्माणभन्दा सत्तामा बढी केन्द्रित थिए।’ संविधानको मर्म र भावनाअनुसार दल क्रियाशील नहुँदा विभिन्न समस्या देखा पर्न थालेको उनले बताए। ‘नेतृत्वले जनताका कुरा सुन्ने र समाधान खोज्नेतर्फ ध्यान दिएको देखिँदैन’, उनले भने, ‘सात दशकदेखिको उपलब्धि रक्षा गर्न उनीहरूले ध्यान दिनु पर्छ।’

तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्बाङले संविधानसभा भंग गर्न र संविधान बन्न नदिन विभिन्न शक्ति केन्द्रले दबाब दिएको खुलासा गरे। ‘त्यति खेर संविधान नबनोस् भन्नेहरूको अनुहार झलझली सम्झन्छु’, उनले भने, ‘जनताका उपलब्धि समाप्त होस् भनेर अहिले पनि केही शक्ति लागेका छन्। तर अब उनीहरूको सपना पूरा हुँदैन।’ जनताको बलमा संविधान बनेकाले जनता बलियो भएका बेला कसैको केही नचल्ने उनले बताए। संविधानमा कुनै पनि त्रुटि नरहेको नेम्वाङको भनाइ थियो।

राष्ट्रियसभाका सदस्य राधेश्याम अधिकारीले सत्तामा बस्नेको गतिविधिका कारण उपलब्धि गुम्ने अवस्था रहेको दावी गरे। ‘संविधान बहिष्कार गर्नेलाई गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता र धर्मनिरपेक्षता चाहिएको हो वा होइन ? ’, उनले प्रश्न गरे। नेकपा सांसद प्रेम आलेले जातीयता र साम्प्रदायिक संकीर्णताभन्दा माथि उठेर संविधान जारी हुनु मुलुकका लागि सुखद भएको बताए। बार एसोसिएनसका पूर्वअध्यक्ष शम्भु थापाले सत्तामा बस्नेकै कारण गणतन्त्रमा धमिरा लाग्ने खतरा देखिएकाले सचेत हुन आग्रह गरे। संविधान निर्माणका तीतामीठा घटना र दस्तावेज संकलन गरी पुस्तकलाई संग्रहणीय सामग्री बनाएको लेखक सिंहले बताएको समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।