२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठगी रोक्न म्यानपावरविरुद्ध चर्को धरौटी : साढे ११ सयमध्ये २१ वटाले मात्र बुझाए



अ+ अ-

काठमाडौं । म्यानपावरले कामदार झुक्याएर ठगी गर्ने प्रवृत्ति रोक्न सरकारले चर्को धरौटीको व्यवस्था गरे पनि धरौटी बुझाउने कम्पनी नगन्य मात्र भएका छन् । मुलुकभर क्रियाशील रहेका १ हजार १ सय ४५ म्यानपावर कम्पनीमध्ये सरकारले बाध्य गरेको धरौटी बुझाउनेमा बिहीबारसम्म २१ वटा मात्र भए । बाँकी १ हजार ७४ ले अहिलेसम्म धरौटी बुझाउन सकेका छैनन् । ५० कम्पनीले बैंक ग्यारेन्टी मात्र देखाएका छन् । केही नगद धरौटी बुझाउने प्रक्रियामा रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । धरौटी बुझाउने म्याद यही भदौ १७ गतेसम्म छ ।

संस्थागत रूपमा वैदेशिक रोजगारीमा जाने कामदार ठगिने क्रम बढ्न थालेपछि सरकारले ऐन परिवर्तन गर्दै म्यानपावर कम्पनीको धरौटी रकम बढाएको थियो । सरकारले श्रेणीअनुसार बैंक ग्यारेन्टी र नगद धरौटी बुझाउनुपर्ने व्यवस्था गरेको छ । संशोधित ऐनअनुसार एक वर्षमा ३ हजारभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीले ५० लाख नगद धरौटी र १ करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी राख्नुपर्नेछ । ३ देखि ५ हजारसम्म कामदार पठाउनेले १ करोड रुपैयाँ नगद धरौटी र २ करोड बैंक ग्यारेन्टी राख्नुपर्नेछ । ५ हजारभन्दा बढी कामदार पठाउनेले २ करोड रुपैयाँ नगद धरौटी र ३ करोड रुपैयाँ बैंक ग्यारेन्टी अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

यसअघि म्यानपावर कम्पनीले ७ लाख रुपैयाँ मात्र नगद धरौटी र २३ लाख रुपैयाँ बैंक धरौटी राख्नुपर्ने व्यवस्था थियो । ठगिएका कामदारलाई क्षतिपूर्ति दिने रकमसमेत अपुग हुने अवस्था आएपछि ऐनमै संशोधन गरी धरौटी रकम बढाएको हो । सरकारले व्यवस्था गरेको चर्को धरौटी बुझाउन नसकेपछि केही म्यानपावर कम्पनी खारेजसमेत भएका छन् । वैदेशिक रोजगार विभागका अनुसार १ हजार ५ सय २७ म्यानपावर कम्पनीले लाइसेन्स लिएका छन् । यसमध्ये २ सय १० कम्पनी खारेज भएका छन् । ९० कम्पनीको कारोबार रोक्का गरिएको छ । त्यस्तै, ८२ कम्पनी निष्क्रिय छन् ।

तोकिएको समयमा धरौटी जम्मा नगरे कम्पनी खारेज गरिने
तोकेको समयसम्ममा बैंक ग्यारेन्टी तथा नगद धरौटी नराख्ने म्यानपावर कम्पनी खारेज गरिने वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले बताए । ‘तोकेको समयमा बैंक ग्यारेन्टी र नगद धरौटी नबुझाउने कम्पनीलाई खारेज गर्नेछौं,’ उनले भने ।

अधिकांश कम्पनीले डेढ करोड बैंक ग्यारेन्टी राख्नुपर्ने
सरकारको तथ्यांकअनुसार गत आव ०७५र७६ मा १ हजार ८१ वटा म्यानपावर कम्पनीले कामदार पठाएकामा १ हजार ७८ वटा म्यानपवारले ३ हजारभन्दा बढी विदेश पठाएका थिए । ५ हजारभन्दा बढी कामदार पठाउने म्यानपवार एउटा मात्रै छ । ३ देखि ५ हजारका बीचको संख्यामा कामदार विदेश पठाउने म्यानपवार पनि दुईवटा मात्रै छन् ।

यसअनुसार अधिकांश म्यानवार कम्पनीले ५० लाख नगद र १ करोड ५० लाख रुपैयाँ बैंक ग्योरेन्टी राख्नुपर्ने देखिन्छ । रिभर ओभरसिजले मात्रै २ करोड रुपैयाँ नगद र ३ करोड रुपैयाँ बैंक ग्यारेन्टी राख्नुपर्ने देखिन्छ । यो कम्पनीले गत आवमा ५ हजार २ सय ६८ जना कामदार विदेश पठाएको थियो । त्यसैगरी, एओएस म्यानपावर र प्याराडाइज इन्टरनेसनलले १ करोड रुपैयाँ नगद र २ करोड बैंक धरौटी राख्नुपर्नेछ । गत आवमा एसओएस म्यावरमार्फत ४ हजार २ सय ८१ जना र प्याराडाइज इन्टरनेसनलमार्फत ३ हजार २ सय २७ कामदार विदेश गएका थिए ।

धरौटीमा ब्याज दिन माग
सरकारको निर्देशनअनुसार नगद धरौटी र बैंक ग्यारेन्टी बढाउन कम्पनी तयार भए पनि धरौटीमा ब्याज दिन म्यानपावर कम्पनीले माग गरेका छन् । विभागले धरौटीबापतको ब्याज रकम कामदार कल्याणकारी कोषमा जम्मा गरिने जनाएको छ । तर, व्यवसायीले आफैंले पाउनुपर्ने अडान लिँदै आएका छन् । ब्याज रकम आफूले नपाउने भए कामदारको लागत मूल्य बढ्ने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले बताए । ‘हामीले लगानी र धरौटी हिसाब गरी कामदारसँग ज्याला लिने हो । ब्याजका कारण भोलिका दिनमा कामदारको लागत मूल्य बढेमा त्यसको जिम्मेवार सरकारले लिनुपर्नेछ,’ उनले भने ।

कसलाई कति धरौटी

३ हजारजनासम्म कामदार पठाउनेले ५० लाख नगद धरौटी र डेढ करोड बैंक ग्यारेन्टी
३–५ हजारसम्म पठाउनेले १ करोड नगद धरौटी, २ करोड बैंक ग्यारेन्टी
५ हजारभन्दा माथि पठाउनेले २ करोड नगद धरौटी, ३ करोड बैंक ग्यारेन्टी
३ हजारभन्दा कम पठाउने संख्या– ११४२
३–५ हजारसम्म पठाउने संख्या– २
५ हजारभन्दा माथि पठाउने संख्या– १

नयाँ पत्रिका दैनिकबाट