
काठमाडौं । काठमाडौं महानगपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्ने भएको छ । शिक्षा समितिको बैठकले पाठ्यक्रम निर्माण गर्ने निर्णय गरेको हो । मेयर एवं महानगर शिक्षा समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले पाठ्यक्रम लेखनका लागि दुईओटा समितिसमेत निर्माण गरेको छ ।
कक्षा एकदेखि आठसम्मको नेपाल भाषाको पाठ्यक्रम निर्माणका लागि काठमाडौं महानगरपालिका शिक्षा अधिकारी निर्मला केसीको संयोजकत्वमा एउटा समिति बनेको छ । समितिमा प्रा।डा। चुन्दा बज्राचार्य, हरिभक्त श्रेष्ठ र सदस्य सचिव मोतिराज खनाल छन् । नेपाल भाषा ऐच्छिक विषयका रूपमा रहनेछ ।
अंग्रेजी र नेपाली भाषाका लागि अर्को छुट्टै समिति बनेको छ । त्यसको संयोजक पनि केसी नै रहेकी छिन् । समितिमा चुन्दा बज्राचार्य, प्रोफेसर मदनराज मानन्धर, माधव घिमिरे, नातिकाजी महर्जन र ज्ञानबहादुर अधिकारी छन् । सदस्य सचिवमा महानगरपालिका शिक्षा विभागका अधिकृत तारापति खरेल छन् ।
काठमाडौं महानगरपालिकाभित्र चल्ने सामुदायिक र संस्थागत विद्यालयको कक्षा एकदेखि कक्षा आठसम्मको पाठ्यक्रम निर्माणको जिम्मेवारी दिइएको महानगरपालिकाले जानकारी दिएको छ । ‘कक्षा एकदेखि आठसम्म नेपाली र नेपाल भाषामा तथा नेपाल भाषाको ऐच्छिक विषयका रूपमा पाठ्यक्रम निर्माण गर्ने निर्णय बैठकले गरेको छ,’ शिक्षा अधिकारी निर्मला केसीले भनिन्, ‘यसको कार्यादिन ६० दिनको हुन्छ । त्यसपछि हामी पाठ्यपुस्तक लेखनमा जान्छौँ ।’
शिक्षा विभागका अधिकृत खरेलले पनि शैक्षिक सत्र ०७७ बाट स्थानीय पाठ्यक्रम प्रत्येक विद्यार्थीको हात–हातमा पुग्ने जानकारी दिए । ‘आगामी शैक्षिक सत्रबाट सामुदायिक विद्यालयलाई निःशुल्क र संस्थागत विद्यालयलाई शुल्क तिरेर उपलब्ध गराउने उनले बताए । ‘पाठ्यक्रम बन्नका लागि ६० दिन लाग्छ । शिक्षा समितिले त्यसलाई पास गर्छ र कार्यपालिकाले अनुमोदन गरेपछि पाठ्यपुस्तक लेखनमा जान्छ,’ उनले भने,
‘पाठ्यक्रममा काठमाडौंको पेसा–व्यवसाय, धर्म, कला, संस्कृति, भौगोलिक अवस्थिति, वास्तुकला, मूर्तिकला, पर्यटनजस्ता विषयलाई समावेश गरिन्छ ।’ उनले काठमाडौं महानगरपालिकाभित्रका ६० र उपत्यकाका ४० प्रतिशत विषयवस्तु समेटेर पाठ्यपुस्तक निर्माण गर्ने जानकारी दिए ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।












