२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिनैपिच्छे बिग्रन्छ बिजुली



अ+ अ-

मुगु । गमगाढ साना जलविद्युत् आयोजना महिनैपिच्छे बिग्रन थालेपछि जनजीवन प्रभावित हुन थालेको छ । नहरबाट पानी चुहिने, उपकरण बिग्रने, पहिरो जानेलगायत समस्याले विद्युत् सेवा पटक पटक अवरुद्ध हुन थालेपछि स्थानीय पीडित भएका छन् ।

जेठ पहिलो साता पावरहाउसमा जडान गरिएको मेसिन बिग्रिएपछि स्थानीयले सातासम्म बिजुली बाल्न पाएनन् । मर्मत गरी विद्युत सुचारु भएको एक महिना नपुग्दै असार दोस्रो साता पहिरोले नहर भत्कियो ।

पहिरोले २ सातासम्म विद्युत् आपूर्ति बन्द भएको आयोजनाको मुहान शनिबार बाढीले बगाएको छ । मुहान र ट्यांकी बगाउँदा सदरमुकाम अन्धकार छ । विद्युत् अनिश्चित बनेपछि स्थानीय बासिन्दा टुकीको भरमा रात कटाउन बाध्य छन् ।

‘बत्तीले साह्रै दुःख दिन थाल्यो,’ स्थानीय दिनेश श्रेष्ठले भने, ‘महिना–महिनामा बिग्रँदा पनि स्थानीय सरकार मौन छ ।’ महिनाभरि बिजुली नबाले पनि महसुल तिर्नैपर्ने बाध्यता रहेको उनले गुनासो गरे । उनका अनुसार बत्ती नबाले पनि २० युनिटसम्मको प्रतियुनिट ३ र २१ देखि ४० युनिटसम्मको ४ रुपैयाँका दरले महसुल तिर्नुपर्ने बाध्यता छ ।

अनियमित विद्युतका कारण गमगढीमा सञ्चालित ३ रेडियोको प्रशारण अवरुद्ध हुँदै आएको छ । विद्युतको भरपर्दो व्यवस्था नहुँदा व्यवसायी समस्यामा परेको उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढाले बताए । उनले केन्द्रीय प्रशारण लाइन जोड्न र वैकल्पिक जलविद्युतको व्यवस्था गर्न माग गरिए पनि सरकारले बेवास्ता गरिरहेको उनको आरोप छ ।

‘पटकपटक बिजुली जाँदा अधिकांशको व्यवसाय चौपट हुन थालेको छ,’ उनले भने, ‘घरेलु तथा साना उद्योगीलाई विद्युत् समस्याकै कारण परिवार पाल्न समस्या भइरहेको छ ।’ गमगढी बजार क्षेत्रका मासु पसल, डेरी, पाउरोटी र चाउमिनलगायत उद्योग विद्युत् अवरुद्ध हुँदा बन्द भएका छन् । त्यस्तै कम्प्युटर इन्स्टिच्युट, इलेक्ट्रानिक व्यवसायी र फोटो स्टुडियो सञ्चालक बढी समस्यामा परेको उनको भनाइ छ ।

बाढीका कारण अवरुद्ध विद्युत् सुचारु गर्न कम्तिमा २ साता लाग्ने आयोजना प्रमुख पुष्कर सुनारले बताए । उनका अनुसार मुहानमा डोजर लगाइ मर्मत गर्ने आयोजनाको तयारी छ । २०६८ मा निर्माण गरिएको आयोजनामार्फत सदरमुकाम गमगढी र आसपासका गाउँमा विद्युत् सुविधा पुर्‍याइएको छ ।

करिव ४ सय किलोवाट क्षमताको आयोजनामार्फत २ हजार ३ सय घरधुरीमा विद्युत् सुविधा पुर्‍याइएको आयोजना प्रमुख सुनारले जानकारी दिए । पावरहाउसमा जडान गरिएका २ मेसिनमध्ये एउटाले मात्र विद्युत् प्रवाह गर्दै आएको उपभोक्ता समितिले जनाएको छ । अर्को मेसिन २ वर्षअघि नै बिग्रिएकाले समस्या भएको सुनारको भनाइ छ ।

बिजुली नहुँदा सरकारी कार्यालय, गैरसरकारी संघ–संस्था, बैंकलगायत वित्तीय संस्थाको काम प्रभावित हुने गरेको छ । गमगढीमा विद्युत् अवरुद्ध भएको मौका छोपी केही व्यवसायीले जेनेरेटर सञ्चालन गरी महँगोमा सेवा दिन थालेका छन् । एकप्रति फोटोकपीको २०, मोबाइल चार्जको ५० र ल्यापटप चार्ज गरेबापत सय रुपैयाँसम्म असुल्ने गरिएको स्थानीयको गुनासो छ । विद्युत् नहुँदा जिल्ला अस्पतालको उपचार पनि प्रभावित भइरहेको छ । अस्पतालका अनुसार भिडियो एक्सरे, एक्सरे, प्रयोगशाला परीक्षणलगायत सेवा प्रभावित भएका हुन् ।

पटकपटक विद्युत् अवरुद्ध हुन थालेपछि आयोजनाको विकल्पको खोजी गर्न थालिएको छायानाथरारा नगर प्रमुख हरिजंग शाहीले बताए । उनका अनुसार शोभा, गम र बाम खोलाबाट १ मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजना अघि सारिएको छ । ‘त्यसको सम्भाव्यता अध्ययनका लागि छिट्टै प्राविधिक टोली खटाइनेछ,’ उनले भने, ‘गमगाढको विकल्पमा विद्युत् योजना निर्माण गर्न प्रदेश र संघीय सरकारको सहयोग मागिनेछ ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।