२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुगु सदरमुकाम तीन दिनदेखि अन्धकार



अ+ अ-

मुगु । गमगाढ साना जलविद्युत् आयोजनाको मूलमा रहेको इन्टेक खोलाले बगाएपछि सदरमुकाम गमगढीलगायत आसपासका बस्ती तीन दिनदेखि अन्धकार छन् । शनिबार दिउँसो परेको भारी वर्षापछि खोलामा आएको बाढीले आयोजनाको इन्टेक बगाएपछि बिजुली उत्पादन बन्द भएको छ । क्यानलमा पानी प्रवेश हुने मुख्य गेटसमेत भाँचिएको छ । बिजुली नभएपछि शनिबारदेखि सदरमुकाममा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका दैनिक कामकाज प्रभावित भएका छन् ।

छायानाथ रारा नगरपालिका–६ बालै बगरमा रहेको गमगाढ साना जलविद्युत् आयोजना । आयोजनाको मुहानमा रहेको इन्टेक खोलाले बगाएपछि बिजुली उत्पादन तीन दिनदेखि बन्द छ ।
खोलामा पानीको बहाव नघटेकाले इन्टेकको अवस्था अझै राम्रोसँग हेर्नसमेत नपाएको गमगाढ साना जलविद्युत् कार्यालयले जनाएको छ । अवस्था हेरेर बाहिरबाट प्राविधिक बोलाउनुपर्ने हुन सक्ने कार्यालयका प्राविधिक हेमन्त केसीले बताए । सामान्य अवस्थामा बगाएको इन्टेक र क्यानलको गेट बनाउन १० देखि १५ दिनसम्म लाग्न सक्ने उनको भनाइ छ ।

शनिबारको बाढीले छायानाथ रारा नगरपालिका विभिन्न बस्तीमा रहेका १० वटा काठेपुल, सातवटा पानीघट्ट, सयौँ रोपनी धानखेत बगरमा परिणत भएको स्थानीयको भनाइ छ । बाढीका कारण २२ सय घरपरिवार प्रभावित भएका छन् ।

बिजुली नहुँदा जिल्ला अस्पताल मुगुमा बिरामीको उपचारमा समस्या उत्पन्न भएको छ । विद्युत् अभावमा एक्सरे, भिडियो एक्सरे, सुत्केरी सेवा, नियोनेटल कियरका सेवासमेत प्रभावित भएका छन् । जिल्ला अस्पतालका निमित्त प्रमुख डा। डबलबहादुर मल्लले आकस्मिक तथा सामान्य सबैखाले बिरामीलाई सेवा दिन समस्या भएको जानकारी दिए । रातिको समयमा आउने आकस्मिक सेवा बिरामी र प्रसूति गराउन महिलाको उपचारमा थप समस्या भएको उनले बताए ।

नर्मल सुत्केरी हुन नसकेर गम्भीर अप्रेसन गर्नुपर्ने गर्भवती महिलाले निकै दुःख व्यहोर्नुपरेको अस्पतालले जनाएको छ । सामान्य तथा जटिल बिरामीका लागि प्रयोगशालामा गरिने रगत, दिसा, पिसाब, खकार, हेमोग्लोबिन, रगत समूहलगायतका परीक्षण हुन नसक्दा बिरोमीको रोग निदानमा अप्ठ्यारो उत्पन्न भएको छ । जिल्ला अस्पतालमा मात्रै नभई विभिन्न स्वास्थ्य संस्थाका बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलाले कठिनाइ भोग्दै आएको स्वास्थ्यकर्मीको भनाइ छ ।

अन्य सरकारी कार्यालयका कामकाजसमेत प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालयमा केही समयका लागि सोलार सिस्टम र जेनेरेटरबाट नागरिकता, राहादानीलगायतका सामान्य काम भइरहेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी गराए । छोटो समयका लागि काम चले पनि लामो समयसम्म बत्ती नहुँदा सबै सेवा प्रभावित हुन सक्ने उनको भनाइ छ । मालपोत, नापी, राजस्वका काम, बैंकिङ सेवाका कामकाज इन्टरनेट सेवा अवरुद्ध हुँदा प्रभावित बनेका छन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।