२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्कृष्ट स्कुल भेट्नै मुस्किल



अ+ अ-

काठमाडौँ । सामुदायिक विद्यालयबीच गरिएको अध्ययनमा उत्कृष्ट विद्यालय भेट्नै मुस्किल परेको छ । सरकारले नमुनाका रूपमा छनोट गरेका विद्यालयको अवस्था पनि कमजोर पाइएको छ ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सामुदायिक विद्यालयको कार्यसम्पादन मूल्यांकन गरेको थियो । मुलुकभरका २ हजार विद्यालयमाथि गरिएको अध्ययनमा एउटा विद्यालय मात्र उत्तम ९उत्कृष्ट० श्रेणीमा पर्न सफल भएको छ ।

केन्द्रको प्रतिवेदनअनुसार सबैभन्दा धेरै १ हजार ६ सय ४४ विद्यालय सामान्य श्रेणीमा परेका छन् । अति कमजोर श्रेणीका १७ र मध्यमस्तरका ३ सय ५ वटा छन् । केन्द्रले कमजोर, सामान्य, मध्यम र उत्तम गरी ४ श्रेणीमा विद्यालयको कार्यसम्पादन परीक्षण गरेको थियो । लगानी, प्रक्रिया, उपलब्धि र विद्यार्थीलाई आधार मानी २६४ पूर्णांकमा ती विद्यालयको परीक्षण गरिएको हो । तीमध्ये ४० प्रतिशतभन्दा कम अंक प्राप्त गर्ने विद्यालयलाई कमजोर स्तरमा र ४० देखि ७० प्रतिशत अंक ल्याउनेलाई सामान्य स्तरमा वर्गीकरण गरिएको छ । ७० देखि ९० सम्म प्रतिशत प्राप्त गर्नेलाई मध्यम र ९० भन्दा बढी ल्याउनेलाई उत्तम मानिएको छ ।

केन्द्रका निर्देशक हरिप्रसाद अर्यालले अधिकांश सामुदायिक विद्यालयको स्तर कमजोर पाइएको जनाए । लगानीलाई २५, प्रक्रियालाई ३०, उपलब्धिलाई ४० र सेवा प्राप्त गर्ने विद्यार्थीलाई ५ प्रतिशत अंक भार दिएर मूल्यांकन गरिएको थियो । नमुनाका रूपमा छनोटमा परेका ३२ विद्यालयमा गरिएको स्तर मापनमा एक विद्यालय कमजोर, २३ वटा सामान्य र ८ वटा मध्यमस्तरको पाइएको प्रतिवेदन उल्लेख छ ।

सरकारले देशभर १ हजार नमुना विद्यालय बनाउने लक्ष्य लिएको छ । छनोटमा परेकालाई सरकारले विशेष आर्थिक सहयोग गर्छ । शिक्षा मन्त्रालयले पहुँचका आधारमा यस्ता विद्यालय छान्ने गरेकोमा आलोचना हुने गरेको छ ।

सिकाइ उपलब्धि खस्किँदो
केन्द्रको अध्ययनमा सिकाइ उपलब्धि पहिलेभन्दा कमजोर बन्दै गएको औंल्याएको छ । केन्द्रले कक्षा ५ का विद्यार्थीको गणित र नेपाली विषयको सिकाइ स्तर मापन गरेको हो । नासा नामक रिपोर्टअनुसार गणितभन्दा नेपाली विषयमा बालबालिकाको सिकाइ स्तर राम्रो रहेको पाइएको छ ।

२८ जिल्लाका १ हजार ४ सय विद्यालय, शिक्षक, विषय शिक्षक र २८ हजार ३ सय विद्यार्थीसँग सर्वेक्षण गरेर रिपोर्ट तयार पारिएको हो । गणितमा कक्षा ५ मा अध्यनरत ३२ प्रतिशत विद्यार्थीले न्यूनतम सिकाइ हासिल गर्न सकेका छैनन् । ३९ प्रतिशतले कक्षाकोठामा न्यूनतम सिकाइमात्र प्राप्त गरेको अध्ययन संलग्न केन्द्रका अधिकृत श्यामप्रसाद आचार्यले जनाए । २८ प्रतिशत विद्यार्थीले मात्र कक्षा ५ को गणित विषयमा आवश्यक सिकाइ उपलब्धि हासिल गर्न सकेको प्रतिवेदनको निष्कर्ष छ ।

नेपाली विषयमा २० प्रतिशत विद्यार्थीले कक्षाकोठामा पाठ्यक्रमको उद्देश्यअनुसार सिक्न सकेका छैनन् । ३५ प्रतिशत विद्यार्थीले न्यूनतम सिकाइ हासिल गरेको आचार्यले बताए । ४५ प्रतिशत विद्यार्थीले मात्रै कक्षा ५ को नेपाली विषयमा सही सिकाइ उपलब्धि प्राप्त गरेका हुन् । ‘सिकाइ उपलब्धि हासिल गर्न नसकेका विद्यार्थी त्यो कक्षामा पढ्न योग्य छैनन् भन्ने बुझिन्छ,’ केन्द्रका महानिर्देशक टेकनारायण पाण्डेले भने, ‘न्यूनतम सिकाइ उपलब्धि हासिल गरेका विद्यार्थीलाई सिकाउन धेरै मिहिनेत, लगानी र समय खर्च गर्नुपर्छ ।’

प्रदेशगत रूपमा हेर्दा प्रदेश १, कर्णाली र प्रदेश ५ का विद्यार्थी गणितमा कमजोर देखिएका छन् । नेपालीमा कर्णाली, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका बालबालिका कमजोर रहेको प्रतिवेदनले जनाएको छ । गणितमा प्रदेश २ र नेपालीमा गण्डकी प्रदेश सबैभन्दा अगाडि छन् । सामुदायिक र निजीतर्फको सिकाइ मापन विश्लेषण गर्दा गणिततर्फ करिब समान स्तर भेटिएको छ । नेपालीमा भने सामुदायिकभन्दा निजीको स्तर राम्रो देखिन्छ ।

सिकाइ उपलब्धिलाई मूल्यांकन गर्दा सन् २०१५ को भन्दा सन् २०१८ को उपलब्धि घटेको पाइएको हो । सिकाइ उपलब्धि सुधार गर्न शिक्षा नीतिमै परिवर्तन जरुरी रहेको शिक्षाविद् विनय कुसियतले प्रस्ट्याए । ‘सामुदायिक विद्यालयको सशक्त नियमन र अनुगमन हुन सकेको छैन,’ उनले भने, ‘त्यसैकारण सामुदायिक विद्यालय झन् आरोलो लाग्दै गए ।’

उपलब्धि घट्नुको कारण पत्ता लगाएर सुधार गर्न सरकारले ध्यान दिनुपर्ने उनको जोड थियो । ‘शिक्षा मन्त्रालय आफैंले गरेको अध्ययनमा अवस्था डरलाग्दो गरी घटेको छ,’ कुसियतले भने, ‘सिकाइ, शिक्षक, विद्यालय वातावरण, पाठ्यक्रम, शिक्षा नीतिमै खोट भएकाले यस्तो भएको हुन सक्छ ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।