
काठमाडौं । असार अन्तिम साता लगातार परेको वर्षापछि आएको बाढीले देशभर ४५ पुलमा क्षति पुगेको छ । ती पुल निर्माण गर्न ४७ करोड ३४ लाख रुपैयाँ लाग्ने सडक विभागले जनाएको छ । संघीय संसद्को विकास समितिमा आइतबार विभागले प्रस्तुत गरेको विवरणअनुसार सडक डिभिजन कार्यालय जनकपुरअन्तर्गत सबैभन्दा धेरै क्षति पुगेको छ । डिभिजन कार्यालयअन्तर्गतको भप्सी पुल बाढीले बगाएको छ । सो स्थानमा पुल निर्माण गर्न १७ करोड रुपैयाँ लाग्ने विभागको मूल्यांकन छ ।
त्यस्तै, जनकपुर डिभिजनअन्तर्गत बडहरी, बनकटी, कमला नदी र बालुवा नदी पुलमा क्षति पुगेको छ । ती सबै पुल मर्मत गर्न १२ करोड ५० लाख रुपैयाँ आवश्यक देखिएको छ । जनकपुर डिभिजनअन्तर्गत मात्र २९ करोड ५० लाख रुपैयाँ मर्मत खर्च लाग्ने देखिएको छ । यो खर्च रकम कुल क्षतिको अनुमानित रकमको ६२ प्रतिशत हो ।
क्षति न्यूनीकरणका लागि योजनाबद्ध तयारी गर्न निर्देशन
संसद्को विकास समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मातहतका निकायलाई बाढी–पहिरोलगायतका प्राकृतिक प्रकोप न्यूनीकरण हुने गरी योजनाबद्ध तयारी गर्न निर्देशन दिएको छ । ‘हरेक वर्ष संरचनाहरूमा क्षति पुग्ने गरेको छ, अब योजना तयारी गर्दा नै यस्ता पक्षहरूलाई पनि अध्ययन गरेर न्यूनीकरण हुने गरी तयार गर्न निर्देशन दिएको छ,’ समितिकी सभापति कल्याणीकुमार खड्काले भनिन् । त्यस्तै, दशैँ, तिहार, छठजस्ता पर्वलाई लक्षित गरेर चाँडै क्षति पुगेका पुलमा मर्मत थाल्न र आवागमनलाई सुचारु गर्न समितिले निर्देशन दिएको छ ।
मध्यपहाडी र हुलाकीका ९ पुलमा क्षति
सडक विभागका अनुसार हुलाकी सडकका पुलमा सबैभन्दा धेरै क्षति पुगेको छ । हुलाकी सडकका ७ वटा र मध्यपहाडी सडकका २ पुलमा क्षति पुगेको छ । विभागका महानिर्देशक केशवकुमार शर्माले क्षति पुगेका ९सबै गरी ४५ वटा० पुलको अस्थायी मर्मत गरी यातायात सुरु गरिसकिएको जानकारी दिए । ‘संघीय सरकारअन्तर्गत क्षति पुगेका सबै पुल समयमै मर्मत गर्नेछौँ,’ उनले भनेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।












