
काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रदेश संरचना गठन गुटगत आधारमा भागबन्डाबाटै गर्ने तयारी अघि बढाएको छ ।
कांग्रेसले सातै प्रदेशको प्रादेशिक संरचना गुटगत आधारमा भागबन्डा मिलाएर टुंगो लगाउने, सिमाना हेरफेर नभएका स्थानीय तहको संरचनामा पनि सहमति गर्ने र सिमाना हेरफेर भएका केही स्थानमा मात्रै निर्वाचन गर्ने गरी सहमति तयारी गरेको स्रोतले जनाएको छ ।
गत २२ असारबाट सुरु केन्द्रीय समिति बैठक मुख्यतः सोही विवादका कारण अलमलमा पर्दै आएको थियो । विवादबीच शीर्ष तहमा संरचना विषयलाई निर्देशिका बनाएर टुंगो लगाउने गरी सहमति भएको थियो । तर, हाल नेतृत्व विवाद नरहेका र सीमा हेरफर नभएका स्थानमा पुरानै संरचनालाई आधार मानेर सहमतिबाटै अन्तरिम संरचना बनाउने, विवाद भएका स्थानमा निर्देशिकाले देखाएको मापदण्डबाट विधानअनुसारै संरचना गठन गर्ने गरी सहमति तयारीमा नेता पुगेका हुन् ।
पछिल्लो समय सहमतिको विरोध गर्दै आएका कांग्रेसका संस्थापनइतरका नेता नै भागबन्डाबाट नभई नयाँ ‘मेकानिज्म’का आधारमा संरचना टुंगो लगाइने तयारी भइरहेको बताउँदै आएका छन् । तर, उनीहरू सहमति विषयलाई भागबन्डा मान्न भने तयार छैनन् ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संरचना गठन विषयमा मिलेर ‘कसरी अघि बढ्ने ?’ भन्ने विषयमा छलफल भइरहेको तर जालझेल गर्ने मात्रै कुरा हो भने सहमति नहुने जनाए ।‘संरचना विषयमा कुराकानी भइरहेको छ, सहमति त होला तर कस्तो हुन्छ हेरौं । फेरि पनि जालझेल गर्ने मात्रै हो भने त्यस्तो सहमति हुँदैन,’ वरिष्ठ नेता पौडेलले राजधानीसँग भने ।
नेता अर्जुननरसिंह केसीले सहमति अन्तिम टुंगो नलागेको तर प्रयास भइरहेको भन्दै सहमति भए पनि त्यसलाई भागबन्डाको स्वरूप नदिइने प्रस्ट पारे ।
‘सहमतिको मेकानिज्म तयार हुँदै छ, कसरी टुंगो लगाउने भन्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘तर, सहमतिलाई भागबन्डाको स्वरूप नदिने भन्नेमा हामी छौं ।’ उनका अनुसार केन्द्रीय प्रतिनिधि जिल्ला पठाएर ‘जिल्लागत आधारमा कसरी अघि बढ्ने ?’ भन्ने विषयमा छलफल हुनेछ ।
यसैगरी, सिमाना टुटफुट नभएका स्थानमा पनि सकेसम्म सहमति गर्ने र केही त्यस्ता स्थानमा मात्रै निर्वाचन हुन सक्ने नेता केसीले जानकारी दिए ।
हाल निर्देशिका जिम्मेवारी पाएका नेताले सीमा हेरफेर भएका र नभएका स्थान विषयमा काम गरिरहेको बुझिएको छ । सोही कारण बुधबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठकसमेत आगामी २६ साउनसम्मका लागि सारिएको छ ।
कांग्रेस विधानमा उल्लेख भएअनुसार भने पार्टीका अन्तरिम संरचना बनाउँदा निर्वाचनबाटै बनाइनुपर्छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।












