
काठमाडौं । मध्यपुरथिमि नगरपालिकाको तेस्रो नगरसभा विवादका बीच आइतबार सुरु भएको छ । एक सातासम्ममा सम्पन्न गर्ने गरी नगरसभाको कार्यक्रम बनेको र उद्घाटनपछि नगरसभा पाँच दिनका लागि स्थगित भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए । उद्घाटन कार्यक्रममा उपप्रमुख अञ्जनादेवी मधिकर्मीसहित वडा नं. २ र ३ का वडाध्यक्ष उपस्थित भएनन् । उपप्रमुख मधिकर्मीले आफूसहित २१ जना जनप्रतिनिधिले उद्घाटन सत्र बहिष्कार गरेको बताइन् ।
संघीय सरकारले कानुनी प्रावधानअनुसार १० असारसम्म नीति तथा कार्यक्रम र बजेट ल्याउन स्थानीय तहलाई निर्देशन दिएको थियो । तर, मध्यपुरथिमिमा भने नगरप्रमुख र उपप्रमुख नै पार्टीगत रूपमा विवादमा उत्रिएपछि नियमित नगरसभा समयमा हुन सकेको थिएन ।
नियमित नगरसभाको मुखैमा बोलाइएको विशेष नगरसभाका कारण जनप्रतिनिधिको विवाद थप पेचिलो बनेको थियो । नगरप्रमुख श्रेष्ठ अनुपस्थित भएको भन्दै उपप्रमुख मधिकर्मीको अध्यक्षतामा बसेको विशेष नगरसभाले गरेका निर्णय नगरप्रमुखले कार्यान्वयन गर्न मानेका छैनन् ।
आफूले स्थगित गरेको नगरसभा अवैधानिक भएको प्रमुख श्रेष्ठको दाबी छ । विशेष नगरसभाको विषयमा कांग्रेस र नेकपाबीच विवाद हुँदा नियमित नगरसभासमेत प्रभावित बनेको थियो । नगरप्रमुख श्रेष्ठले फागुनपछि गत बुधबार कार्यपालिका बैठक बोलाएर विशेष नगरसभाका एजेन्डा सम्बोधन गर्ने निर्णय गराए । तर, हुबहु कार्यान्वयन नहुने भएको भन्दै उपप्रमुख मधिकर्मीसहित जनप्रतिनिधिले नोट अफ डिसेन्ट लेखे ।
जनप्रतिनिधि पार्टीगत स्वार्थभन्दा माथि उठ्नुपर्छ
उद्घाटन सत्रमा नेकपाका भक्तपुर अध्यक्ष वचन देउजा र कांग्रेसका नगरसभापति सुरेन्द्र श्रेष्ठले जनप्रतिनिधिले पार्टीगत स्वार्थभन्दा नगरको विकासमा जोड दिन सुझाए । दुई पार्टीबीच सहकार्य गरेरै नगरको विकासलाई अघि लैजानुपर्ने उनीहरूको जोड थियो । तर, कार्यक्रममा कांग्रेसकै अर्का नेता कबेलाई निम्त्याइए पनि उपस्थित थिएनन् । कबेनिकट जनप्रतिनिधिसमेत कार्यक्रममा सहभागी थिएनन् । नगरपालिकाको विवादको विषयमा कांग्रेसका नगर सभापति श्रेष्ठ र कांग्रेसका पूर्वनगर सभापति तथा मेयरका उम्मेदवार अष्टकुमार कबेका बीचमा विवाद रहेको एक वडाध्यक्षले बताए ।
एक अर्ब ३० करोडको बजेट
नगरप्रमुख श्रेष्ठले सभाको उद्घाटन भएकाले अब नीति, कार्यक्रम र बजेट बनाइने बताए । ‘अब नीति, कार्यक्रम र बजेट बनाइन्छ, त्यसपछि पाँच दिनपछि पुनः नगरसभा बस्छ,’ उनले भने । उनले कार्यपालिका बैठकमा उपप्रमुखले नोट अफ डिसेन्ट लेखेकाले उद्घाटन समारोहमा नआएको हुन सक्ने बताए । उनले नगरपालिकाले चालू वर्षका लागि १ अर्ब ३० करोड हाराहारीको बजेट बनाउने तयारी रहेको जानकारी दिए ।
उद्घाटन समारोह बहिष्कार गरेका उपप्रमुखसहित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नगरसभाको बन्द सत्रमा भने सहभागी हुने बताएका छन् । वडाध्यक्ष प्रेमबहादुर कुटुले भने, ‘उद्घाटन समारोह औपचारिकता मात्रै हो, यो नगरसभा हैन, अब हुने सभामा हामी सहभागी हुन्छौँ ।’
प्रमुखको शैलीका कारण समस्या : उपप्रमुख
विशेष नगरसभाबाट बहुमतले पास गरेका एजेन्डा कार्यान्वयन नहुने भएपछि आफूहरू उद्घाटन सत्र बहिष्कार गर्न बाध्य भएको उपप्रमुख मधिकर्मीले बताइन् । उनले भनिन्, ‘नगरप्रमुखले विवादलाई सुल्झाउने भन्दा बल्झाउने पहल चाल्नुभयो, त्यसमा कांग्रेसका केही नेताले आफ्नो स्वार्थअनुकूल साथ दिए, जसले गर्दा समस्या झन् बल्झिएको छ ।’
उपप्रमुख मधिकर्मीको भनाइले कांग्रेसका जनप्रतिनिधि नै दुई भागमा विभाजित भएको पुष्टि गर्छ । मधिकर्मीले भनिन्, ‘मेयरसाब म भनेर अगाडि बढ्नुभयो । उहाँ मात्रै चुनाव जितेर आउनुभएको हैन, हामीलाई पनि नगरवासीले बहुमत दिएका छन्, मेयर मात्रै सबैथोक होइन, सहमति गरेर अघि बढ्ने उहाँको शैली देखिएन ।’ नगरप्रमुखको बदमासीले नगरपालिकाको सम्पूर्ण विकासका कामसमेत प्रभावित भएको उनको आरोप छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।












