
काठमाडौँ । सातवटै प्रदेशमा ‘प्रदेश प्रहरी’ ले एकै खाले पोसाक लगाउने भएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले आइतबार अनुमोदन गरेको नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परिमार्जनसहितको प्रतिवेदनमा सातै प्रदेशका प्रहरीको पोसाक नेपाल प्रहरीको जस्तै हुने व्यवस्था गरिएको छ ।
प्रदेशपिच्छे पोसाक फरक हुँदा सर्वसाधारणलाई प्रहरीको पहिचान गर्न समस्या हुने भएकाले एकैखाले पोसाक हुने व्यवस्था गरिएको हो ।
प्रदेश प्रहरी प्रदेश सरकारप्रति नै उत्तरदायी हुने व्यवस्था विधेयकमा गरिएको छ । समितिकी सभापति शशि श्रेष्ठका अनुसार समितिले विधेयक परिमार्जनसहितको प्रतिवेदन प्रतिनिधिसभाको अब बस्ने बैठकमा पेस गर्ने छ । विधेयक दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि प्रदेश प्रहरी गठनको बाटो खुल्नेछ ।
विधेयकमा केन्द्र सरकारले तोकेको नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक प्रदेश प्रहरी प्रमुख हुने व्यवस्था छ । विधेयकका अनुसार प्रदेश प्रहरी प्रमुखले प्रदेश सरकारमातहत रहेर जिम्मेवारी सम्हाल्ने छन् ।
संघीय सरकारले तोकेको मापदण्डअनुसार प्रदेश सरकारले प्रदेश प्रहरी प्रमुखलाई सेवासुविधा उपलब्ध गराउनेछ । विधेयकमा नेपाल प्रहरीले जिल्लाहरूमा मातहतको युनिट राख्न प्रदेश सरकारसँग अनुमति लिनु नपर्ने व्यवस्थासमेत गरिएको छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।












